ग्रेटर नेपालका एक दर्जन युवा पक्राउ

काठमडौं, २१ फागुन । लैनचौरस्थिति भारतीय दूतावास अगाडि नेपाल र बेलायतबीचको सुगौली सन्धि जलाउने प्रयास गर्दा एक दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका ती युवालाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा राखिएको छ ।

सुगौली सन्धि भएको दुई सय वर्ष पुगेकै दिन मोर्चाले लैनचौरस्थित भारतीय दूतावास अगाडि सन्धिको प्रतिलिपी जलाउने कार्यक्रम राखेको थियो । ग्रेटर नेपालको ब्यानरसहित दूतावासतर्फ जाने क्रममा प्रहरीले उनीहरूलाई बाटैमा रोकेको थियो । मोर्चाका युवाले त्यहिँ नै सन्धि जलाउन खोजेपछि प्रहरीले सबैलाई पक्राउ गरी भ्यानमा हाल्यो । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए ।

सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वमा टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि नेपालले गुमाएको थियो । नेपालले गुमाएको भूमि फिर्ता हुनुपर्ने मागका साथ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आन्दोलन गर्दै आएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए । उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै निन्दा गरेका छन् ।

प्रतिक्रिया