सम्पादकीय

गुटबन्दी स्थायी नहोस्

सौर्य अनलाइन २०७२ फागुन २१ गते १३:५८ मा प्रकाशित

नेपालका राजनीतिक दलमा बढ्दो गुटबन्दीले दलका कार्यकर्ता र शुभेच्छुक मात्र होइन सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ । नेपाली कांग्रेसको १३औँ महाधिवेशनका क्रममा उम्मेदवारी घोषणा गर्दा पनि गुटबन्दीले नै प्रश्रय पाएको देखियो । सभापति र महामन्त्रीको उम्मेदवारी समूहगतरूपमा घोषणा गरियो । सदस्यहरूमा समेत पक्कै पनि चुनावको बेलामा समूहगत सूची तयार हुनेछ । अर्थात, पार्टीको केन्द्रीय समितिमा नेपाली कांग्रेसभन्दा यो वा त्यो समूहका प्रतिनिधि बढी चुनिनेछन् । गुटको प्रतिनिधित्व गर्दै चुनिएका पदाधिकारी र सदस्यबाट पार्टीको सञ्चालन पनि त्यहीअनुसार हुनेछ । सभापति पदका उम्मेदवारले पाएको मतका आधारमा पार्टीको भागबन्डा गरिनेछ । अघिल्लो कार्य समितिमा भएको व्यवहारले सिकाएको पाठ यही हो ।

गुटगत विभाजनमा नलाग्ने वा सिंगो पार्टीको हितमा लाग्नेका लागि चुनाव जित्न निकै कठिन हुनेछ । यस्तो अपसंस्कृतिले प्रश्रय पाउँदै जाने हो भने राजनीतिक दलहरू बिस्तारै संगठित गिरोह मात्र बन्नेछन् । दलका नेता कार्यकर्ता जनताको सेवा गर्ने मूल उद्देश्य बिर्सेर पार्टी कब्जा गर्ने होडमा लाग्नेछन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले अस्वस्थ रूप लिनेछ । दलका कार्यकर्ता मात्र होइन शुभेच्छुक र मतदातालाई समेत विभाजन गरिनेछ । जनताको हित र पार्टी सुदृढीकरणमा लगाउनुपर्ने समय, शक्ति र श्रम आन्तरिक गुटबन्दीको व्यवस्थापन तथा प्रवद्र्धनमा खर्च हुनेछ । पार्टीभित्रका गुटहरू व्यक्तिगत स्वार्थ र सुविधाका आधारमा संस्थागत हुनेछन् । पार्टीभित्रकै गुटबन्दीको अभ्यासले विगतमा कांग्रेस, एमाले, एमाओवादीलगायतका दल विभाजित भएको र त्यसबाट देशमा राजनीतिक अस्थिरता बढेको कटु अनुभव नेपाली समाजले गरिसकेको छ ।

कांग्रेस देशको पुरानो, ठूलो र लोकतान्त्रिक साख भएको दल भएकाले यसले असल राजनीतिक संस्कारको विकासमा पनि अगुवाइ गर्नुपथ्र्यो । यसपटक समूहगतरूपमा उम्मेदवारी नदिइएको भए अरू दलहरूमा पनि गुटबन्दीको संस्कार कमजोर हुनसक्थ्यो । राजनीतिमा व्याप्त गिरोहवाजीको अपसंस्कार अन्त्य गर्न अगुवाइ गर्ने अवसर कांग्रेसका नेताले यसपल्ट पनि गुमाए । समूहगतरूपमा उम्मेदवारी दिइसकिएकाले अब त्यसलाई सच्याउन त मिल्दैन तर प्रचारप्रसारलगायत निर्वाचनका क्रियाकलाप सञ्चालन गर्दा पारस्परिक कटुता बढ्न नदिन उम्मेदवार एवं तिनका समर्थक सजग र संयमित भने हुन सक्छन् । चुनावपछि पनि पार्टीका सबै नेता मिलेरै काम गर्नुपर्ने हुनाले समेत प्रतिस्पर्धालाई सकेसम्म स्वस्थ र शिष्ट बनाउन सबैले ध्यान दिनुपर्छ । कांग्रेसजस्तो गौरवशाली इतिहास भएको पार्टीमा अहिलेको उत्ताउलो गुटबन्दी पटक्कै सुहाएको छैन । महाधिवेशन प्रतिनिधिले विवेक पु¥याएर गुटबन्दीलाई निरुत्साहित गर्ने अपेक्षा भने अझै बाँकी छ । आप्mनो क्षमता, गुण र प्रतिबद्धता प्रस्तुत गरेर जनमत आफ्नो पक्षमा बनाउनुको साटो निर्वाचनमा प्रतिस्पर्धीको दुर्गुणको वर्णन, कमजोरीको बखान र विफलताको विवरण प्रस्तुत गरेर कटुता बढाउने प्रयास गर्ने कुसंस्कार पार्टीको आन्तरिक चुनावमा पनि देखिनु दुर्भाग्य हो । चुनाव सकिएको भोलिपल्टैदेखि सँगै मिलेर काम गर्नुपर्नेबीच कटुता बढाएर कसैलाई पनि फाइदा हुँदैन । यसैले चुनाव जित्नैका लागि चर्का नारा लगाउने, उत्ताउलोपन देखाउने, लोभलालचलगायत अनुचित उपाय अपनाउने र दोषारोपण गर्नेलाई कार्यकर्ताले दुत्कार्नु पर्छ । कार्यकर्ताहरू सजग र सचेत भए मात्र स्थायी गुटबन्दीको अन्त्य हुन्छ । यो स्थायी प्रकारका गुटबन्दीको अन्त्य नभए पार्टी अनि देशको हितमा कुनै न कुनै किसिमले अवरोध आइ नै रहनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय