सार्क कानुन सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, २० फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १३ औँ कानुन सम्मेलन तथा सार्क मुलुकका प्रधानन्यायाधीशको १० औँ सम्मेलन काठमाडौंमा हुने भएको छ । २३ फागुनबाट सुरुहुने दुइदिने सम्मेलन आइतबार सकिने छ ।

सार्क राष्ट्रका कानुन व्यवसायी, न्यायाधीश र कानुनका प्राध्यापकको सहभागिता हुने उक्त सम्मेलनको मूल विषय ‘कानुन, न्याय, सुशासन र विकासका माध्यमबाट सार्कमा सम्बन्ध विस्तार’ रहेको प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जानकारी दिए ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा सार्कका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनबाट सार्कको गरिमा वृद्धिका साथै एकार्काका अनुभवबाट लाभान्वित हुने विश्वास व्यक्त गरे । सम्मेलनमा माल्दिभ्सबाहेक सार्कका सबै राष्ट्रको सहभागिता रहने र नेपालबाट १५१ जनाले भाग लिने सार्क ल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

प्रतिक्रिया