यायोक्खा सम्मेलनको तयारी पूरा

काठमाडौं, २० फागुन । किरात राई यायोक्खा ९औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । संस्थाको कार्यालय कोटेश्वर सुम्निमा हलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी यायोक्खाले यस्तो जानकारी दिएको हो । ‘संघीय गणतन्त्र नेपालमा पूख्र्यौली भूमिको पहिचान, किरात स्वायत्त राज्य निर्माण गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फागुन २३, २४ र २५ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन हुनेछ ।

महाधिवेशनबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा २४ जिल्ला, २८ भाषिक संस्थाहरु, ८ भातृ संगठन, ३ सम्बन्धन संस्था, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, हङकङ, जापान, क्यानडा, दक्षिण कोरिया, बेल्जियम, युरोप च्याप्टर, कतार, मलेसिया, युएई, कुबेतलगायत २० वटा देशहरूबाट प्रतिनिधि पर्यवेक्षक सहभागी हुने विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा १ हजार ५ सयभन्दा बढी प्रतिनिधि प्रर्यवेक्षकको सहभागिता हुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यायोक्खाले किरात स्वायत्त राज्य स्थापित गर्न संघर्ष गर्दै आएको उल्लेख छ । पूर्व नेपालको जिल्लाहरू ताप्लेजुङ, पाँचथुर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु तथा सिन्धुली, दोलखा र रामेछाप गरी १७ जिल्लाको किराती थातथलोलाई मिलाएर सम्मेलनमार्फत बृहत किरात स्वायत्त राज्य नामांकन गर्न माग गर्ने उल्लेख छ । यायोक्खा पहिचान र सामथ्र्यको आधारमा पहिचानसहितको संघीय राज्यको स्थापना तथा केन्द्रिकृत एकल जातीय सत्ताको अन्त्यको लागि लागिरहेको जनाइएको छ ।

सम्मेलनमार्फत किरात स्वायत्त राज्य स्थापित गर्न निर्णायक आन्दोलनको लागि समुदायलाई तयार गर्ने बताइएको छ । उद्घाटन सभामा सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राई प्रमुख आतिथि हुने विज्ञप्तिमा उल्लेख छ । उद्घाटन कार्यक्रम प्रज्ञा भवन कमलादी र बन्द सत्र भक्तपुर बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा हुने बताइएको छ । किरात स्वायत्त राज्य स्थापित गर्न दबाब दिने उद्देश्यले हजारौँको सहभागितामा ¥याली गरिने सम्मेलन आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया