रोकियो भूकम्पपीडितको रकम

काठमाडौं, १९ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणार्थ दिने भनेको पहिलो किस्ताको अनुदान रकम नदिने भएको छ । प्राधिकरणले बिहीबार दोलखाको सिंगटीबाट रकम दिने तयारी गरेको थियो ।

प्राधिकरणका प्रवक्ता सहसहिच सुरेश अधिकारीका अनुसार प्राविधिक कुरा मिल्न नसकेकाले पूर्वनिर्धारित बिहीबारको कार्यक्रम स्थगित गरिएको हो । अर्थ मन्त्रालयले रकम विनियोजन गरेपछि पनि स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति र सम्बन्धित बैंकसँग सम्झौता गर्नुपर्ने प्रक्रिया नपुगेकाले भूकम्पपीडितलाई रकम दिन नसकिएको अधिकारीको भनाइ छ । आइतबारमात्रै अर्थ मन्त्रालयले घर निर्माणका लागि ६५ अर्ब रूपैयाँ प्राधिकरणलाई विनियोजन गरेको थियो । प्राधिकरणले फागुन २० गते औपचारिक कार्यक्रम गरी भूकम्पपीतिलालाई घर बनाउन पहिलो किस्ताको रकम दिने भनेको थियो ।

बिहीबार प्राधिकरणका एकजना सदस्य गएर सिंगटीमा छलफल मात्र गर्ने जनाइएको छ । अब कहिलेबाट भूकम्पपीडितलाई रकम दिइन्छ भन्ने टुंगो नलागेको अधिकारीले जनाए । ‘यो पहिलो गाँसमै ढुंगाजस्तो भएको छ,’ अधिकारीले भने, ‘हामीले यसबाट शिक्षा लिएर बाँकी कार्यक्रम तय गर्नेछौँ ।’

प्राधिकरणले पहिलो किस्तामा ४० हजार, दोस्रोमा ८० र तेस्रोमा ७० हजार रूपैयाँ घर निर्माणका लागि दिने तयारी थालेको थियो ।

प्रतिक्रिया