मैले भोगेको नाकाबन्दी र राष्ट्रवादका कुरा

सात महिने छोरो बेबी क्यारिङ ब्यागमा बोकेर घर कम्पाउन्डमा आगोमा खाना पकाउँदै थिएँ, पल्लोघर छिमेकका दाइ आइपुगे र भने, हैन यस्तो के विजोग गरेको, ग्यास नै नभएर हो कि, जोगाएको हो ? मैले भने ग्यास भएको भए यति विजोग किन गर्थें होला र, नभएरै हो नि । उनले केही सहानुभूतिका शब्द खर्च गरे र थपे, देशको जल्दोबल्दो पत्रकारकोे घरमा पनि यस्तो हुन्छ र, यो त अति भो, म फोन गर्छु पत्रकार महोदयलाई । मोबाइलमा नम्बर डायल गर्दै उनी बाटो लागे सायद मेरा श्रीमान्लाई फोन गर्दै थिए, फोनमा उनको सम्पर्क भयो, भएन या के कुरा भयो त्यसबारे न उनले मलाई अपडेट गराए न त श्रीमान्ले नै केही बताए ।

हत्तपत्त घरमा नदेखिने छिमेकका भलाद्मीले त धेरै पछि देखेका हुन् मेरो हविगत । दसैँ अगाडिदेखि मेरो चुल्होमा ग्यास बलेको छैन । यसको मतलव लगभग दुई महिना हुन लाग्यो हामीले ग्यासमा खाना पकाउन नपाएको । कहिलेकाहीेँ ग्यास वितरण भएको खबर सुनिए पनि दिनरात बिताएर लाइन बस्न सक्ने अवस्थामा म छैन । अनि, कतै कतैबाट ग्यास उपलब्ध गराइदिने आश्वासन पनि आश्वासनमै सीमित भएको छ । अब त अहिलेकै असामान्य दैनिकी सामान्य जस्तो लाग्न थालिसक्यो । तर, पछिल्ला केही दिन अलि बढी नै सकसपूर्ण वनेको छ ।

कतिपयलाई पत्यार नलाग्न सक्छ, चारदिनदेखि घरमा बिजुली बलेको छैन । ट्रान्सफर्मर पड्किएर यो समस्या आएको । त्यो पनि एकपटक होइन, दुईदुई पटकसम्म एकै ठाउँमा ट्रान्सफर्मर पड्कियो, एकपटक त चोरी भयो रे ! चार दिनपछि बल्लतल्ल केही बेर झुल्किएको बत्ती ठूलो आवाजका साथ फेरि बिदा भयो । अब अर्को कति दिन नआउने हो थाहा छैन ।

हुन त मसँग राइस कुकर र विद्युतीय चुल्हो पनि छ । नाकाबन्दी सुरु भएको केही दिनपछि ग्यास ल्याउन नसके पनि विद्युतीय चुल्हो त सकिन्छ नि भनेर मैले नै कचकच गरेको थिएँ श्रीमानलाई र ल्याइदिएका थिए चुल्हो । तर, चुल्हो ल्याएको एक महिनाभन्दा बढीको यो समयमा मैले मुस्किलले एक साताको खाना पनि पकाउन पाएकी छैन । न त राइसकुकर नै चलाउन पाएकी छु । बत्ती जाने समयको ठेगान छैन, विद्युत् प्राधिकरणले सुविधा स्वरूप उलपब्ध गराएको लोडसेडिङ तालिका हेरेरै आफ्नो भान्साको तालिका बनाउँदा पनि सधैँ धोका दिन्छ प्राधिकरणले । बितेको एक महिनामा लगभग १५ दिन जति बत्ती आउने समयमा हाफ लाइन मात्रै आएको छ, जसोतसो राइसकुकरमा बसालेको खाना र विद्युतीय चुल्होमा बसालेको तरकारी पुनः आगो फुकेर कुकरमा खिचडी बनाएर खाएका छौँ हामीले कयौँ छाक त । जति छाक बिजुलीमा पकाउन पाइयो त्यसमा पनि सुविधा भन्दा त्रास बढी ।

यसबीचमा धेरै राष्ट्रवादी र सुन्दा हो जस्तो लाग्ने भावनात्मक कुरा धेरै सुनेँ मैले पनि । बरु, जस्तोसुकै दुःख भोग्न तयार रहेको तर भारतका सामु घुँडा नटेक्ने र भारतसामु नझुक्ने अभिव्यक्तिहरू नेतादेखि मन्त्रीसम्म, साथीसंगी र नातेदारदेखि लेखक पत्रकारसम्म अधिकांशबाट यही सुनेँ मैले । यो राष्ट्रवाद भन्ने कुरा कस्तो रहेछ कुन्नी कताकता मलाई पनि छोयो र मैले पनि धेरै सरापेँ हामीलाई हेप्ने भारतलाई र केही समयअघि नेपाल आएर चिल्लो कुरा गर्ने मोदीका मन घोच्चे खस्रो व्यवहारलाई पनि ।

तर, यो मनमा कताकता लागिरहेका केही कुरा, जसले मलाई सतहमा चर्चा हुने गरेका राष्ट्रवादमाथि प्रश्न गर्न मन लागेको छ । मैले एक महिनादेखि दाउरा बालेरै खाना बनाएँ या कयौँ ठाउँमा पैदलै यात्रा गरेँ र मैले मात्रै दुःख पाएँ भन्ने होइन, यहाँ त मभन्दा पनि धेरै दुःख पाउने तमाम नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । उहाँहरूको तर्फबाट समेत हो मेरा मनमा उब्जिएका प्रश्नहरू । जिम्मेवार ब्यक्तिहरू भनिरहेका छन्, ग्यासको वचत गरौँ, विद्युतीय सामग्रीको प्रयोग गरौँ ।

विद्युत पनि महँगो नपर्ने भन्दै हिसाबकिताबसहितका अर्ती उपदेशहरू पनि पढेकी सुनेकी छु मैले । तर, विद्युत् प्राधिकरणले सामान्य अवस्थामै माग अनुसार उपलब्ध गराउन नसकेको बिजुली आखिर कम भएरै होला, अब भन्नूस्, लाखौंँ परिवारले एकैसाथ खाना बनाउनको लागि विद्युत् प्रयोग गर्दा कसरी धान्छ ? मेरो क्षेत्रमा पटकपटक ट्रान्सफर्मर पड्किएको र कयौँ दिनदेखि बिजुली नभएको त्यही भएर होला । सुनेकी छु ओभरलोड भएर दैनिक दुई÷तीन वटाभन्दा बढी ट्रान्सफर्मर पड्किएका छन् अहिले ।

अर्कोतर्फ, नाकाबन्दीको यो समयमा ठाउँठाउँबाट दाउरा वितरण गरी केके न गरेँ भन्ने सरकार र उसका मन्त्रीहरूलाई मेरो प्रश्न, कति जना मन्त्री, सरकारका उच्चपदस्थ अधिकारीको घरमा दाउरा बाल्न परेको छ ? नेता, मन्त्री, सांसद र उच्चपदस्थ अधिकारीहरू जोजो राष्ट्रवादका ठुल्ठूला कुरा गरिरहेका छन्, उनीहरूले आफ्नो साधनमा तेल नभएर या सार्वजनिक सवारी साधनमा खुट्टो हाल्ने ठाउँ नभएर कतिपटक पैदल यात्रा गरेका छन् ? भारतलाई सत्तोसराप गरेर नाकाबन्दीका बेला अलिअलि छिरेको इन्धनका लागि सोर्सफोर्स नलगाउने उच्च पदस्थहरू कति जना होलान् ? उनीहरूको घरमा यही बेला जोहो गरिएको सञ्चित इन्धन कति होला ? आवश्यक सामग्री या औषधि उपलब्ध नभएर उपचार नै प्रभावित भएका या मृत्युवरण गर्नुपरेका उच्चपदस्थ र तिनका आसेपासेहरू छन् कि छैनन् होला ? नाकाबन्दीको बाहनामा दोब्बर बढेको मूल्यले तिनका भान्सा र व्यवहार प्रभावित भएको छ कि छैन होला ?

यदि यस्तो थियो भने राजनीति गर्न जानेका उनीहरूले मिडिया बोलाइवोलाई आफ्नो राष्ट्रवादको सक्दो प्रचारप्रसार गर्ने थिए र मिडियाहरूले पनि आमसर्वसाधारणको भन्दा महत्वका साथ ठुल्ठूला शीर्षकका समाचार बनाउने थिए ।

यसो भन्दैमा मैले भारतीय नाकाबन्दीको विरोधमा बोल्नेहरूको विरोध र भारतपरस्त कुरा गर्न खोजेको होइन । हामी तयार छौँ, यस्तै अरू दुःख झेल्न र अझै कष्ट बेहोर्न पनि । तर, प्रश्न के हो भने, हामीले भोगेको दुःख र कष्ट केका लागि र कसका लागि ? जनताको नाममा राजनीति गर्ने र शासन चलाउने नेता र सरकारका मन्त्री तथा जनताको सेवक बन्नुपर्ने उच्चपदस्थ सरकारी अधिकारीले कहिल्यै तल्लोतहको दुःख नै देख्नुनपर्ने, अनि सारा सुविधा उपभोग गर्दै देश र जनताको नाममा भूmठो आदर्शका कुरा गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन । यदि, सक्षम, साँच्चिकै जनताप्रति इमानदार र जिम्मेवार सरकार हुन्थ्यो भने आकाशबाट झारेर भए पनि पातालबाट खोतलेर भए पनि जनताका लागि अत्यावश्यक वस्तुहरू जुटाउन सक्थ्यो ।

भारतले नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय पारवहनसन्धी तथा नियमकानुनको उलंघन गरेको देख्नेहरूले आफ्नै नागरिकलाई अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन नसकेको पनि देख्नेथिए, तर हाम्रो नेतृत्व त्यस्तो भाग्यमानी छ जसले नागरिकको दुःखको यस्ता विषयमा चिन्ता नै लिनु पर्दैन अनि हामी यस्ता अभागी नागरिक हौँ, जसले कहिल्यै हामीप्रति वफादार र जिम्मेवार नेतृत्व पाउन सकेनौँ ।

र अन्त्यमा,

म राजनीतिमा खासै चासो राख्दिनँ र लेखक तथा विश्लेषक पनि होइन । त्यसैले म यति मात्र भन्छु, भद्दा र खोक्रो राष्ट्रवाद देखाउनुभन्दा नागरिकप्रति उत्तरदायी बनेर देखाउन सक्नुपर्छ राजनीतिक दल तिनका नेतृत्व र सरकारले । हाम्रा बालबालिकाले सहज र सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ, बिरामी पर्दा उपचार पाउनुपर्छ, अत्यावश्यकीय उपभोग्य वस्तु सहज रूपमा उपलब्ध हुनुपर्छ । चाहिएको बेला एक सिलिन्डर ग्यास र केही लिटर तेल सहज रूपमा किन्न पाउनुपर्छ । यी सब न्यूनतम आवश्यकता परिपूर्तिसहितको राष्ट्रवाद मात्रै राष्ट्रवाद हुनेछ । दैनिकी चलाउनै कष्ट हुन्छ भने शान्ति सुरक्षा, सुशासन र सम्वृद्धिको पक्षमा भाषण गर्नुको कुनै तुक हुने छैन ।

प्रतिक्रिया