एकल महिलालाई नेतृत्व तालिम

kavre news copyकाभ्रे, १८ फागुन । जिल्ला विकास समितिको सहयोगमा काभ्रेमा रहेका एकल महिलाहरूको लागि ५ दिने नेतृत्व विकास तालिम सञ्चालन भएकोे छ । १८ देखि २२ फागुनसम्म चल्ने सो कार्यक्रम एकल महिला समूहकी अध्यक्ष रामदेवी तामाङको सभापतित्वमा भएको हो । प्रमुखअतिथि संस्थाका पूर्वसभापति शिला कटिलाकोले कार्यक्रमको उद्घाटन गरिन् । श्यामपार्टीको कपरेढुंगामा रहेको एकल महिला समूहको आफ्नै भवनमा सञ्चालित योे कार्यक्रममा जिल्लाका एकल महिला र जेष्ठ महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दे पूर्वसांसद कटिलाले महिलाहरूको नेतृत्व र व्यक्तित्व विकास कार्यक्रमलाई सशक्त बनाउन सबै क्षेत्रको सहयोग चाहिने आपसी सद्भावको आवश्यकता रहेकोमा जोड दिइयो । कार्यलयममा प्रशिक्षणको रूपमा सहभागी रहेका मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले नेतृत्व विकास कार्यक्रम समान सहभागिताका लागि एउटा अभियान रहेको कुरा बताए । यो कार्यक्रमलाई मूर्त रूप दिन पुरुषहरूको पनि साथ र सहयोग आवश्यक रहेको उनले बताए । उनले हाल नेपालमा सहभागिता ३३ प्रतिशतको कुरा उठेको र व्यवहारमा कार्यान्वयनमा विभिन्न अप्ठेरो परेको बताएका छन् । नेतृत्व विकासका लागि यो तालिमले दिशानिर्देश गर्न र हरेक क्षेत्रमा महिलाहरूको हक, अधिकार र सहभागिता बढाउनुपर्ने बताएका थिए ।

उनले राजनितिक क्षेत्रमा बढ्दो सक्रियताले थप उत्साह थप्दै गएको हरेक एकल महिलाहरूले उत्प्रेरणाको रूपमा काम गर्दै अगाडि बढ्नुपर्ने उनको तर्क थियो । कार्यक्रममा जिल्ला विकास समिति काभ्रेका प्रतिनिधि सरिता सापकोटा र प्रशिक्षक हिम्मत सिंह लेकालीले पनि महिलाहरूको इतिहास केबल गृहिणी मात्रै नभएको र सक्षम नेतृत्वमा पनि सहभागिता हुनुपर्ने कुरामा जोड दिए । यसका लागि महिलाहरूमा आत्मनिर्भर र विभिन्न तवरमा सक्रिय रूपमा लाग्न अपिलसमेत गरेका छन् । कार्यक्रममा सरिता तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम २२ फागुनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया