गैँडाका लागि विशेष सुरक्षा व्यवस्था

11 copyबर्दिया, १७ फागुन । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका ७० वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा मारेर र मरेर सिद्धिएपछि यसपटक भने बर्दियामा विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबारबाट नियन्त्रणमा लिएर बुधबार बिहान बर्दियाको बबई उपत्यकामा पहिलो चरणमा २ वटा गैँडा छाडिँदै छ । २३ फागुनमा थप ३ वटा गैँडा यहाँ ल्याउने योजना रहेको छ ।

संरक्षणकर्मीहरूले बर्दियाको बबई उपत्यका सुरक्षित नभएको भन्दै गैँडा स्थानान्तरण गर्न नहुने भनिरहेको बेला बर्दियामा भने निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्तीका बासिन्दा सुरक्षा तयारीका साथ गैँडाको संरक्षणमा जुट्दै छन् । सन् २००२ अघि पटकपटक गरेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ७० गैँडा बबईमा र १३ गैँडा कर्णाली नदी तटीय क्षेत्रमा छाडिएको थियो । बबईमा ०६३ सालमा बाँकी रहेका ३ वटा गैँडा तस्करले मारेपछि शून्य भएको थियो भने कर्णाली तटमा यो संख्या बढेर २९ वटा पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार बबई उपत्यकामा ३२ वटा गैँडा प्राकृतिक कारणले मरेका हुन् भने बाँकी चोरीसिकारीले मारेका हुन् । यसलाई हेर्दा ३८ गैँडा र थपिएका बच्चा गैँडा चोरीसिकारीले मारेका बुझिन्छ । बर्दियाको बबई गैँडाका लागि सुरक्षित नभएको भनिरहेको बेला गैँडा स्थानान्तरण गरी ल्याउन लागिएको सो क्षेत्रमा सुरक्षाको विशेष तयारी गरिएको थापा बताए । तत्कालीन समयमा सुरक्षा पोस्ट नभएको बबई क्षेत्रमा हाल १२ वटा सुरक्षा पोस्ट खडा गरिएका छन् ।

बबई क्षेत्रमा जाने बाटोसमेत नभएकामा ६५ किलोमिटर लामो वन पथ निर्माण गरिएको उनले बताए । नेपाली सेनालाई अनुगमनको तालिम दिइएको बताउँदै उनले बबईको उत्तरी क्षेत्र मध्यवर्तीमा समावेश गरी स्थानीयवासीलाई संरक्षणमा लगाइएको बताए । सोही क्षेत्रका स्थानीयवासीले पछिल्लो समय २ सय ५० वटा हतियार निकुञ्जलाई बुझाएका छन् ।

उक्त क्षेत्रमा ¥याफ्टिङको व्यवस्था गरिएको छ । गैँडाहरू बबईबाट निस्किएर पूर्वतर्फको आवादी ठाउँमा जाने र चोरीसिकारीले मार्ने समस्या आएकामा त्यहाँ गैँडा जान नमिल्ने गरी ग्याभिन जालीमा ढुंगा भरेर एक किलोमिटर पर्खाल लगाइएको थापाले बताए । यो भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाले निर्माण गरेको हो । त्यसैगरी वरिपरिका तस्करीमा संलग्न युवालाई समुदायमा आधारित चोरीसिकारी नियन्त्रण इकाई बनाएर संरक्षणमा लगाइएको थापाले जानकारी दिए । यसअघि १ सय जना कर्मचारी रहेको निकुञ्जमा थप ८० जना कर्मचारी थपिएका छन् । ०६४ मा ६० जना तस्करी पक्राउ गरी कारबाही गरिएको थियो । बबईमा ६ सय हेक्टर घाँसेमैदान गैँडाका लागि व्यवस्थापन गरिएको र १० वटा पानीका घोलसमेत निर्माण गरिएका छन् । निकुञ्जको सुरक्षामा खटिएको रणसार्दुल गणका गणपति राजेन्द्र पन्तका अनुसार द्वन्द्वकालमा गाभिएका सुरक्षा निकाय, सुरक्षा पोस्ट विस्तार गरी ३० वटा पु¥याइएको र यसअघि सेनाको गुल्म रहेकामा अहिले गणमा परिणत भएकाले सुरक्षामा कुनै कमी हुने छैन । पन्तका अनुसार नेपाली सेनाले गैँडाको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी काम गरिरहेको छ ।

विगतमा थुप्रै तस्कर समातिएका थिए र अहिले सम्भावित मानिसलाई निगरानीमा राखिएको छ । सबै गैँडामा रेडियो कलर जडान गरिने हुँदा सुरक्षा दिन पनि सहज हुने उनको भनाइ थियो । सेनालाई आइडिन्टिटी बेस राइनो मनिटरिङ र रियल टाइम स्मार्ट पेट्रोलिङ तालिम दिएको उनले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले निकुञ्ज र जनताका बीचमा भएका द्वन्द्व अन्त्य भएको बताउँदै बबईको उत्तरी क्षेत्रमा रहेका तरंग, हरिहरपुर, लेखपराजुल र छिन्चुमा उपभोक्ता समिति गठन गरी स्थानीयवासीलाई पनि संरक्षणमा लगाइएको बताए । अध्यक्ष आचार्यले मध्यवर्तीका बासिन्दालाई चेतनामूलक, जीविकोपार्जन र आयसोमबार्रनका लागिसमेत विशेष कार्यक्रम सञ्चालन गरिएकाले संरक्षणमा स्थानीय सकारात्मक रूपमा लागिपरेको बताए । कुल ९ सय ६८ वर्गकिलोमिटर पैmलिएको बर्दिया राष्ट्रिय निकुञ्जको अधिकांश भाग बर्दियामा पर्दछ भने बाँके र सुर्खेतका पनि केही क्षेत्र पनि यसले ओगटेको छ । मध्यवर्तीमा मात्रै ७० हजारभन्दा बढी घरधुरी र १ लाख ३० हजारभन्दा बढी जनसंख्या रहेको छ । मध्यवर्ती क्षेत्रमा रहेका २३ वटा होटलमा ४ सय ५० जना पर्यटक राख्न सक्ने क्षमता छ । मध्यवर्ती क्षेत्र ५ सय ७ वर्ग किमि छ भने त्यस क्षेत्रमा १९ वटा उपभोक्ता समिति रहेका छन् ।

बर्दिया पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले स्थानीय जनता र पर्या–पर्यटन क्षेत्रमा लाग्ने एकजुट भई संरक्षणमा जुटेकाले अब गैँडा बबईमा नमर्ने बताए । पर्या–पर्यटन विकास मञ्चका सचिव श्रीधर पोखरेल बबई उपत्यकाको उत्तर पूर्वी क्षेत्र बबई खोलाबाट घेरिएको, दक्षिणतर्फ खुला नाका क्षेत्रमा सुरक्षा गस्ती दह्रो बनाइएको र स्थानीयवासी सकारात्मक रहेकाले अब चोरीसिकारी नहुने बताए । चोरीसिकारी नियन्त्रणका लागि यहाँ हजारौँ युवा परिचालन गरिएको छ ।

प्रतिक्रिया