मध्यपहाडी लोकमार्ग अलपत्र

anchoring copyकाठमाडौं, १५ फागुन । जाजरकोटखण्डमा मध्यपहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा यो सडक अलपत्र परेको हो ।

जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । २ वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण ५ वर्षदेखि अलपत्र अवस्थामा छ ।

जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम विभिन्न ठाउँमा अलपत्र छ । स्तरोन्नतिको काम पनि अगाडि बढ्न सकेको छैन । २० किलोमिटर बढी सडक निर्माणको जिम्मा लिएका ३ वटा निर्माण कम्पनीले सम्झौताअनुसारको काम ५ वर्षदेखि नगरेका कारण सडक निर्माणको कार्य अलपत्र परेको आयोजना कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

आयोजनाको जगतीपुरको कुदुदेखि दसेरा र झाप्रा गाविसको सिमानामा पर्ने थलह बजारसम्मको सडक निर्माणको काम अहिले रोकिएको छ । कार्की गाउँदेखि झाप्रा गाविसको बीचमा सडकको ट्रयाक नै खुलेको छैन । सडक निर्माणको काम रोकिएपछि सर्वसाधारण मात्र होइन, सरकारी लक्ष्यसमेत अप्ठ्यारोमा परेको छ । निर्माण कम्पनीमध्ये स्पेक्स खानी धुलिखेल जेभी, कन्काइ कविर थापा जेभी तथा अनक रोड एन्ड व्रिज कविर जेभीले जिम्मा लिएको काम रोकिएको आयोजनाले जनाएको छ ।

अर्काको फर्म लिएर काम सुरु गर्ने पछि बीचमै कामै छोडेर भाग्ने चलनका कारण आयोजनाको काम अल्झिएको हो । स्पेक्स खानी धुलिखेल जेभीको फर्म खलंगा–२ का प्रकाशजंग शाहले लिएर काम सुरु गरेको तथा अन्य २ वटा फर्म कविर थापा र गोरे तामाङले प्रयोग गरेर काम गरेका थिए । शाहले झाप्रा विद्यालयदेखि थलह बजारसम्म ५ किलोमिटर, थापाले कुदुदेखि चौखे ढुंगासम्म साढे ८ किलोमिटर र तामाङले दसेराको वडावनदेखि जेवासम्मको साढे ५ किमी सडक निर्माणको जिम्मा लिएका थिए ।

उनीहरूमध्ये शाहले ५ वर्षदेखि काम नगरेको र अन्य २ जनाले ३ वर्षदेखि कामै नछोएको आयोजनाले जनाएको छ । एकपटक सम्झौता गरेपछि त्यसको म्याद १५ महिनाको हुने गरे पनि लामो समय काम छोड्ने माथि कुनै कारबाही नभएको दसेराका पदमबहादुर शाहीले आरोप लगाए । पटकपटक ताकेता र फर्म कालोसूचीमा राख्ने चेतावनी दिएपछि केही समयपछि काम सुरु गर्ने गरी वाचा गर्ने गरेका छन् ।

ठेकेदारलाई कालोसूचीमा राख्न ताकेता गर्ने तथा चेतावनी दिनेबाहेक केही गर्न नसकिने आयोजनाको भनाइ छ । जाजरकोटको भूभागभित्र ८२ किलोमिटर सडक निर्माणका लागि विभिन्न १५ वटा निर्माण कम्पनीले काम गरिरहेको र तीमध्ये ३ वटाले ४ वर्षदेखि काम छोडेका कारण पूरै योजना अलपत्र पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । जिल्लामा एकदर्जन गाविसमा सडक पहुँच पु¥याउन ५६ करोड रुपैयाँ बजेट विनियोजन भए पनि काम पूरा हुन सकेको छैन ।

प्रतिक्रिया