खेलाडीलाई सम्मान होइन, जिउने आधार चाहियो

खेलाडीहरू देशको नाम राख्ने, संसारभर देशलाई चिनाउने गौरभगाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तिमा विश्वकप फुटबलमा अंग्रपंक्तीमा रहने देशहरूको नाम र खेलाडीहरूको नाम मुखाकार छ । ब्राजिल, अर्जेन्टिना, जर्मनी, इटाली, इंग्ल्यान्डलगायत देश र त्यहाँका चर्चित खेलाडीहरूको नाम सबै युवापंक्तीमा चर्चामा आइरहने विषयवस्तु हुन्छ ।

क्रिकेटमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, इंग्ल्यान्ड आदिको नाम चर्चामा हुन्छ । त्यस्तै एथलेटिक्स गेमहरूमा चीन, अमेरिका, जापान आदी देशहरूको नाम चर्चामा आउने गर्दछ । अझै प्रत्येक ४ वर्षमा आयोजना गरिने विश्वकप फुटबलको चर्चा विश्वभर नै बढी र महत्वका साथ हेर्ने गरिन्छ ।

नेपालले अन्तर्राष्ट्रियस्तरका खेलहरूमा भाग लिने क्रम आजकल ह्वात्तै बढेको छ । फुटबल खेल र एथलेटिक्स खेलहरूमा पहिलेबाटै राष्ट्रिय–अन्तर्राष्ट्रियरूपमा खेल्ने, खेलहरूको आयोजना गर्ने भएता पनि क्रिकेट खेलमा जुन किसिमको लगाव र पपुलारिटी नेपालमा युवा जमातहरूमा बढ्दै गएको छ त्यसको इतिहास नेपालमा त्यति लामो छैन । छोटो समयमै राम्रो प्रगति गरेको खेल भनेको क्रिकेट नै हो ।

तापनि लामो समयको पर्खाइपछि झन्डै २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रियस्तरको ‘साग’ खेलमा स्वर्ण पदक भर्खरै हात पारेको छ । यो सफलता यस अर्थमा पनि महत्वपूर्ण छ कि नेपालमा लामो समयसम्म फुटबल खेलमा देखिँदै आएको पराजय र पराजय हुनुको प्रमुख कारक तत्व आर्थिक प्रलोभनमा २ दशकभन्दा बढी अखिल नेपाल राष्ट्रिय खेलकूद परिषद्को बागडोर सम्हालेर बसेका गणेश थापा र उनकै मातहतमा रहेर खेल्ने खेलाडीहरू समेत गेम फिक्सिङको गलत चक्रव्यूहलाई अंगिकार गरे जुन केही समय अगाडि मात्र प्रहरी अनुसन्धानबाट खुल्न आयो ।

अर्कोतर्फ भूकम्पको पीडाबाट विक्षिप्त भइरहेका नेपालीमाथि छिमेकी देश भारतले नै अमानवीय तरिकाले आर्थिक नाकाबन्दी लगाएर चराएको घाउँमा नुनचुक छर्ने काम ग¥यो र यही पीडालाई शक्तीको रूपमा रूपान्तरण गरेर नेपाली फुटबल खेलाडीहरूले ठूलो आत्मबल र बदलाको भावनाले खेल खेलेर भारतीय भूमि मै विजयको झन्डा फराउन सफल भए ।

यस्तो चरम अभाव र कठिनाइको बीचमा समेत लामो समयसम्म फुटबल खेलमा देखिएको पराजयको अवस्थालाई चिर्दै नयाँ ऊर्जा र सम्भावनाहरू बोकेर शानदार विजयले कुन नेपालीको मन हर्षले रंगिएको छैन होला ।

यसैले त जताततै फुटबलकै चर्चा छ आजकल, चाहे त्यो विदेशमा १२÷१४ घन्टा श्रम गर्ने नेपाली होस् वा नेपालमै काम गर्ने, पढ्ने विद्यार्थी, गाउँमा खेतबारीमा काम गर्ने किसान होस् वा राजनीति गर्ने नेता नै किन नहोस् सबैले आआफ्नै किसिमबाट खेलाडीहरू, प्रशिक्षकलाई बधाई दिइरहेका छन् र खेलाडीहरूलाई स्वागत गर्दै काठमाडौं सहर परिक्रमा गरिएको खबरहरू आइरहेका छन् । यो खेलाडीहरूलाई गरिएको ठूलो सम्मान पनि हो र आगामी दिनहरूमा थप जिम्मेवार भएर खेल्नका लागि दिइएको प्रेरणा पनि हो ।

हो अहिले सरकारी अधिकारीहरूले समेत खेलाडीलाई विशेषरूपमा ख्याल गर्ने अभिव्यक्ति पनि दिएका छन् त्यो पक्कै पनि खुसीको कुरा हो तथापि अहिले ताजा घटनाक्रम हुँदा क्षणिक सम्मान र आश्वासनहरू बाँड्नु र बिस्तारै समय बित्दै जाँदा सबै बिर्संदै जाने अवस्था पनि आउन सक्नेमा भने खेलप्रति चासो राख्ने आमव्यक्तीहरूको शंका भने देखिँदै आएको छ ।

विगतमा पनि यस्तै घटनाहरू क्रिकेट खेलहरू जितेर खेलाडीहरू विदेशबाट स्वदेश आउने क्रममा नभएका होइनन् । अतः अब सरकार र सरोकारवालाहरूले के कुरा बुझ्नुप¥यो भने खेलाडीहरूलाई केवल क्षणिक सम्मान र आश्वासन मात्र होइन दीर्घकालीनरूपमा जीवन जिउन पुग्ने आधारहरू, विकल्पहरू व्यवस्था गरिदिनु प¥यो किनभने आखिर उनीहरूलाई खेल खेलेरै सम्मानजनकरूपमा जीवन बिताउन नसक्ने हो भने खेलाडीहरू फेरि पनि म्याच फिक्सिङजस्ता घातक काम गर्न उत्प्रेरित हुँदैनन् भन्न सकिँदैन ।

साथै खेल जगतबाट हात झिकेर अरू नै पेसामा आवद्ध नहोलान् भन्न सकिँदैन । तसर्थ, खेलाडीहरूलाई जीवन जिउन पुग्ने गरी आर्थिक सुविधा, खेललाई पूर्णकालिन समय दिन सकिने गरी काम, आवासको सुविधा, निःशुल्क औषधि उपचारको व्यवस्था, उनीहरूका बालबच्चालाई निःशुल्क पढ्ने व्यवस्था र खेल जीवनमा निश्चित समय योगादान पु¥याएपछि पेन्सनलगायत आजीवन सुविधाहरू दिने व्यवस्था हुनुपर्दछ ।

यसो हुनसके मात्र खेलाडीहरूले निर्धक्क खेलमा नै जीवन समर्पित गर्न सक्छन् अन्यथा फुटबल, क्रिकेटलगायत सबैखाले खेलहरू खेल्ने खेलाडीहरू पेसेवररूपमा खेल खेल्न सक्दैनन् हुनतः आजकल नेपालमा पनि विभिन्न खेलसँग सम्बन्धित क्लबहरूबाट खेल खेलेर केही आर्थिक जोहो खेलाडीहरूले गरेको पाइन्छ ।

त्यस्तो आर्थिक सपोर्ट नेपालमा त्यति धेरै पर्याप्त भारतलगायत अन्य मुलुकहरूको जस्तो छैन र यसमा क्रमशः विकास हुने क्रम मात्रै छ अर्थात् सरकारी तथा गैर सरकारी तवरबाट राम्रो आर्थिक सपोर्ट नभई खेलाडीहरूको खेलबाट जीवन राम्रोसँग गुजारा हुन सक्ने अवस्था देखिँदैन ।

खेलाडीहरू पनि आम मान्छेहरू हुन्, उनीहरूको बालबच्चाहरू, श्रीमान र श्रीमती, परिवारहरू, आफन्तहरू हुन्छन्, उनीहरूले पनि आममान्छेले भैmँ सबै जिम्मेवारी पूरा गर्नुपर्छ । तसर्थ, उनीहरूलाई आममान्छे सरह जीवन जिउने आधार जसरी हुन्छ पूरा गरिनुपर्दछ ।

अझै उनीहरू देशलाई चिनाउने, देशका लागि खेल्ने व्यक्तीहरू भएकोले उनीहरूलाई विशेष सरकारले र खेलजगतले ध्यान दिनुपर्छ । केवल नामले मात्र जीवन चल्दैन, जीवन चलाउन आर्थिक साधन नै चाहिन्छ तसर्थ उनीहरूलाई दीर्घकालीन तवरबाटै खेल क्षेत्रमा आवद्ध हुने वातावरण खडा गर्नका लागि खेलकुद मन्त्रालय, खेलकुद परिषद्ले निश्चित सेवासुविधाको प्याकेजहरू सरकार सामु पेस गरी त्यसलाई पारित गरेर ऐन, नियमको व्यवस्था गरेर तत्काल लागू गर्नु जरुरी छ ।

निजी क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले समेत खेलाडीलाई प्रोत्साहित गर्नका लागि विशेष कार्यक्रमहरू बनाएर छुट्टै फन्डको व्यवस्था गरी पुरस्कार र सम्मान स्वरूप केही आर्थिक सहयोगसमेत दिने व्यवस्था गर्ने प्रचलन चलाउन सके खेलाडीहरूलाई थप खेलप्रति लगाव र उत्साह जगाउन सकिने देखिन्छ ।

प्रतिक्रिया