मानवअधिकार प्रतिवेदन सार्वजनिक

काठमाडौं, १२ फागुन । एम्नेस्टी इन्टरनेसनलले विश्वका विभिन्न मुलुकमा भएका मानवअधिकारको उल्लंघनका घटना समेटिएको प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । ४ सय ८ पृष्ठ लामो उक्त प्रतिवेदनमा विश्वका विभिन्न १ सय ६० मुलुकको मानवअधिकारको स्थितिका बारेमा विस्तृत चर्चा गरिएको छ ।

प्रतिवेदनमा १ सय १३ मुुलुकमा अभिव्यक्ति स्वतन्त्र हनन् भएको, ३३ मुलुकले व्यक्ति बेपत्ता पारेको तथा १ सय ३ मुलुकमा विपक्षीविरुद्ध अत्यधिक बल प्रयोग भएको उल्लेख गरिएको छ । सन् २०१५÷१६ मा भएको घटनालाई विस्तृत व्याख्या गरिएको सो प्रतिवेदनमा मानवअधिकार हनन्का कारण विश्वमा ६ करोड मानिस विस्थापित भएको उल्लेख छ ।

१ सय ५६ जना मानवअधिकार रक्षकको हत्या भएको र १ सय २२ देशमा नागरिकलाई यातना दिइएको उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै सो इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको सन्दर्भमा हालै तराईमा भएको मधेसी जनताको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग भएको र त्यस घटनामा ६५ जनाको ज्यान गएको भन्दै राज्यले अदालतको आदेश पालना नगरेको तथा आप्रवासी श्रमिकको अधिकार कटौती गरेको उल्लेख गरे ।

निर्देशक रामेश्वर नेपालले विश्वमा नै मानवअधिकारको स्थिति खस्किएको बताउँदै २० मुलुकमा मात्र मानवअधिकारको स्थिति सन्तोषजनक भएको चर्चा गरे । २८ मे सन् १९६१ बेलायती कानुन व्यवसायी पिटर बेनेन्सनले एम्नेस्टी अभियान सुरु गरेका हुन् । सो संस्थाका ७० लाख सदस्य विश्वका १ सय ५० मलुकमा कार्यरत छन् ।

प्रतिक्रिया