भारतबाट आएपछि प्रधानमन्त्रीले भने : ‘भ्रमण उपलब्धीमूलक’

oliकाठमाडौं, १२ फागुन । भारतको ६ दिने राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भारतको भ्रमण उपलब्धीमूलक भएको बताएका छन् । उनले भने, ‘भारत भ्रमण सफल भएको छ । कतिपय कारणले सम्बन्धमा तुसारो परेजस्तो देखिए पनि अब त्यस्तो हुने छैन भन्ने मैले ठानेको छु ।’

बुधबार साँझ विमानस्थलमा उत्रेका प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सुस्ता र कालापानीबारे छलफल भएको बताएका छन् । साथै उनले यसबारे आगामी दिनमा टुंगोमा पुग्न भारत सकारात्मक रहेकोसमेत बताए । प्रधानमन्त्री ओलीले भने, ‘कालापानी, सुस्ता जस्ता कतिपय पहिला चर्चा भएका तर नसल्टिएका विषय पनिमा पनि छलफल भएको छ र अगामी दिनेमा टुंग्याउने सम्वन्धमा भारतको सकारात्मक दृष्टिकोण छ ।’

सीमामा बनाइएको बाँधलगायत विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुसँग छलफल भएको उनले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल भारतको परस्परको सम्मान, हित र मित्रताका आवश्यकता र व्यवहारिक रुपमा कसरी अगाडि लान सकिन्छ भनेर छलफल गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा बनेको संविधानको भारतले स्वागत गरेको र उसलाई महत्वपूर्ण उपलब्धी भनेको बताए । सीमांकन विवाद सुल्झाउन उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनाइएको संयन्त्रबारे समेत छलफल भएको बताए ।

संयन्त्रलाई छिट्टै पूर्णता दिइने भन्दै उनले भने, ‘असन्तुष्टिलाई वार्ता र सम्वादका माध्यामबाट समाधन गर्न सकिन्छ र गर्नुपर्छ । तारा एयरको विमान दुर्घटना भएपछि भारतबाटै शोक व्यक्त गरेका प्रधानमन्त्रीले सक्रियतापूर्वक उद्वार कार्यमा लाग्न कार्यबाहक प्रधानमन्त्री गच्छेदारलाई विहानै निर्देशनसमेत दिएका थिए । उनले आकस्मिक दुर्घटनाले आफूलाई दुखी बनाएको भन्दै शोकसमेत व्यक्त गरे ।

उनले भारत भ्रमणको क्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग छलफल एवं भेटघाट गरेका थिए । उनी फागुन ७ गते आफ्ना प्रतिनिधिमण्डलका साथ नयाँ दिल्ली प्रस्थान गएका थिए । मुम्बइस्थित छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश फर्केका हुन् । छत्रपति विमानस्थलमा प्रधानमन्त्री ओलीलाई महाराष्ट्रका सहरी विकासमन्त्री प्रकाश मेहताले बिदाइ गरेका थिए ।

प्रतिक्रिया