राष्ट्रपति उम्मेदवारबाट पछि हटे जेब बुस

वासिंगटन, ९ फागुन । फ्लोरिडा राज्यका पूर्वगभर्नर जेब बुस अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारबाट पछिहटेको समाचार छ ।

उनले अमेरिकाको राष्ट्रपति निर्वाचनबाट आफू पछिहटेको समाचार शनिबार सार्वजनिक गरेका हुन् । साउद क्यारोलिना प्राइमरीमा उनी पराजित भएपछि राष्ट्रपतीय निर्वाचनको दौडबाट पछिहटेको जानकारी दिइएको हो ।

साउथ क्यारोलिनाको प्राइमरीमा पछि परेपछि आफ्ना समर्थकहरूलाई दिएको सम्बोधनमा उनले भने, ‘न्यु ह्यामसायर, आयोवा र साउथ क्यारोलिनाका जनताले मेरो बारेमा धेरै कुरा बोली नै सक्नुभएको छ र म उहाँहरूको म प्रतिको निर्णयको स्वागत गर्दछु ।’ शनिबार राती साउथ क्यारोलिनाको प्राइमरीको परिणाम आएको थियो । त्यसमा उनी पछि परेका थिए ।

यसअघिका अरू २ वटा प्राइमरीको परिणाम पनि उनका लागि त्यति फाइदाजनक थिएन । सो राज्यमा भएको मतदानको ८२ प्रतिशत परिणाम सार्वजनिक हुँदासम्ममा उनले ८ दशमलव १ प्रतिशत मात्र मत प्राप्त गरेका थिए । त्यसलगत्तै उनले आफूले प्रतिस्पर्धाको दौडबाट पछिहटेको घोषणा गरेका हुन् ।

अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा उनी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार थिए ।

प्रतिक्रिया