सर्वसाधारण ठग्ने दुईजना पक्राउ

पाँचथर, ९ फागुन । एनसिएल एपको दुरुपयोग गर्दै सर्वसाधरणलाई ठगी गर्ने २ जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, पोखरा र स्याङजाका सर्वसाधारण ठगी गरेको भन्दै प्रहरीले झापा गौरादह–९ का प्रकाश दाहाल र मोरङ पथरी–९ का मेघनाथ गिरीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै तेह्रथुम आठराई छातेढुंगाका तारानाथ सुनुवार र फिदिम–१, का प्रेम तामाङले आफूहरू ठगिएको भन्दै उजुरीका आधारमा दाहाल र गिरी पक्राउ गरेको जनाएको छ । माघ ११ गते सुनुवारको र २३ गते तामाङको उजुरी परेपछि अनुसन्धान तीव्र पारेर खोजी गर्दै जाँदा ४ फागुनमा काठमाडौंबाट दाहाल र गिरी पक्राउ परेका हुन् । ठग्ने दुवैलाई थप अनुसन्धान गरेर ठगी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

ठगले एनसिएलको कर्मचारी बोलेको नाटक गर्दै ठग्ने गरेका थिए । तपाईंलाई एनसिएलको २ लाख रुपियाँ पुरस्कार परेको छ तुरुन्तै कर वापतको रकम पठाउनुहोला भन्दै उनीहरूले ठगेको बताइएको छ । करवापत भन्दै प्रतिव्यक्ति २६ देखि ३६ हजार रुपियाँसम्म आइएमईमार्फत पठाई मागेर उनीहरूले ठग्न भ्याएका देखिएको छ । यही क्रममा उनीहरूले उल्लिखित जिल्लाका १० जनासम्मलाई ठगेको अध्ययनबाट देखिएको प्रनाउ कोइरालाले बताए । फोनवार्ता क्रममा आइतबार दिउँसो २ बजेभित्र करवापतको रकम नपठाए पुरस्कार पाउनुहुने छैन भन्दै ठगले ल्योभ्याएपछि पीडित फस्न पुगेका प्रहरीको भनाइ छ ।

पुरस्कारकै आशमा साथीभाइसँग तत्काल ऋण गरेर ठगहरूलाई पैसा पठाइदिएको भन्दै पीडितले बताएको प्रहरीले जनाएको छ । उजुरी आएपछि अनुसन्धान बढाउने क्रममा १३ जना दाहाल र गिरीबाटै ठगिने अवस्थामा रहेको भेटेपछि तत्काल त्यो रोक्न पनि सफल भएको प्रनाउ कोइरालाले बताए । ठगीको मुख्य योजनाकार भारत राजस्थानका समित शर्मा रहेको अनुसन्धानबाट खुलेको छ । उनी ४ महिनाअघि जेल परेर छुटेका थिए । उनले नेपाल–भारत नाका रक्सौल बसेर फोनबाट पुरस्कारको लोभमा पार्दै सर्वसाधारणलाई आइएमईमा पैसा पठाउन लाउने गरेको बुझिएको छ ।

दाहाल र गिरी विभिन्न ठाउँको आइएमइमा पुगेर नक्कली कागजात पेस गर्दै पैसा झिक्ने गरेको देखिएको छ । उनै ठगले मोरङको पथरी आइएमई र झिलझिले कन्काई विकास वैंकबाट पैसा झिकेको सिसी क्यामरा फुटेजबाट पत्ता लागेपछि प्रहरीले खोजी गर्दै जाँदा उनीहरू पक्राउ परेका हुन् । ठग्ने उपयोगका लागि उनीहरूले २८ वटासम्म एनसिएल सिम प्रयोग गर्दै फाल्दै गरेको भेटिएको प्रनाउ कोइरालाले जानकारी दिए । काठमाडौं अपराध महाराजगञ्ज शाखाको सहयोगमा दाहाल र गिरी पक्राउ परेको र अमितको पनि खोजी भइरहेको छ ।

प्रतिक्रिया