मातृभाषा दिवसमा राष्ट्रपति भण्डारी

matrivasaकाठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लोपोन्मुख भाषाको जगेर्ना र विलुप्त भाषाको खोजी गर्नु सबैको साझा दायित्व रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठान र युनेस्को काठमाडौंद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१६ का अवसरमा आज आयोजित ‘मातृभाषा महोत्सव २०७२’ मा राष्ट्रको अमूल्य सम्पत्ति सभ्यता र संस्कृति रहेको उल्लेख गर्दै सबै मातृभाषाको सम्वद्र्धन, संरक्षण र रक्षा भाषा आयोगले गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले बङ्गलादेशमा बंगाली भाषालाई मातृभाषामा रुपान्तरण गर्न खोज्दा तत्कालीन शासकले भाषा अनुरागीमाथि ज्यादती गरेको स्मरण गराइन । उनले बंगाली भाषाको संस्थागत विकासका लागि अनवरत लड्दै जाँदा अन्ततः बंगाली भाषा मातृभाषामा रुपान्तरण भएको दिनलाई संस्मरण गर्दै संयुक्त राष्ट्र संघले २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले हजारौं भाषाभाषीको बलिदानबाट स्थापित अवसरलाई राष्ट्र संघले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन सुरु गरेको ३७ वर्ष नाघिसके पनि नेपालले विसं २०६८ देखि अन्तर्राष्ट्रिय मातृभाषा मनाउने परम्पराको थालनी गरेको बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आज आयोजित कार्यक्रममा अवधी, आठपहरिया, उर्दू, उराँव, कागते, किसान, कुमाल, कुर्लुङ, केवट, खस, खालिङ, गन्गाइ, गुरुङ, घले, चाम्लिङ, जिरेल, डोटेली, ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थारु, थुलुङ, दनुवार, दङ्भाली, दुमी र दुरा जातिको भाषामा कविता वाचन गरिएको थियो ।

त्यस्तै धिमाल, नाछिरिङ, नेपाल भाषा, पुमा, फाङ्दुवाली, बज्जिका, बझाङी, बाजुरेली, बान्तवा, बाहिङ, भोजपुरी, मगर खाम, मगर ढुट, मगही, मुगाल, मैथिली, याक्खा, राजवंशी, लिम्बू, ल्होपा, ल्होमी, वाम्बुले, शेर्पा, सुनुवार, हुम्ली र हुम्ली भोटे लामा गरी ५३ कविले आआफ्नो मातृभाषामा कविता वाचन र विभिन्न जातजातिको साँस्कृतिक झाँकीको प्रस्तुति समेत गरेका थिए ।

प्रतिक्रिया