सुरक्षा परिषद्मा रसियाको प्रस्ताव अस्वीकृत

लन्डन, ८ फागुन । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा सिरियाका बारेमा रसियाले राखेको प्रस्तावलाई विश्व समुदायले नै अस्वीकार गरेको समाचार छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा रसियाले सिरियामा टर्कीले आक्रमण गर्न नपाउने भनी प्रस्ताव गरेको थियो । सिरियाको छिमेकी देश टर्की र रसियाबीच विगत लामो समयदेखि विवाद चल्दै आएको छ । सो विवादको क्रम हाल पनि जारी नै छ ।

सिरियामा विगत ५ वर्षदेखि गृहयुद्ध जारी रहेको छ । सिरियामा तुरुन्तै कुनै कदम नचालेमा त्यसको परिणाम झन्भन्दा झन् नराम्रो हुँदै जाने प्रतिक्रिया अमेरिकी विदेशमन्त्रीले हालै दिएका थिए । विदेशमन्त्री केरीको सो प्रतिक्रियापछि शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । सो बैठकमा रसियाले राखेको प्रस्ताव अन्य सदस्यहरूले अस्वीकार गरेका हुन् ।

सो बैठकको लगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्किस् राष्ट्रपति रिसेप ताइप एर्दाेगेनलाई फोनगरी संयमतापूर्वक कामगर्न आग्रह गरेको बताइएको थियो । शुक्रबार भएको सो परिषद्को आकस्मिक बैठकमा रसियाले सिरियाली सरकारी पक्षलाई अनावश्यक रूपमा संरक्षणको काम गरेको भन्दै त्यसको विरोध भएको थियो । उक्त बैठकपछि प्राप्त अर्काे एक समाचारअनुसार सिरियाली सरकारलाई सुरक्षा र संरक्षण गर्नेगरी सिरियामा आक्रमण नगर्न पनि रसियालाई आग्रह गरिएको बताइएको छ । अमेरिकाले रसियाले सिरियामा गरेको भनेको कारबाहीबाट सिरियाली सरकारी अधिकारी एवं राष्ट्रपति बसर अल असदको संरक्षण र सुरक्षा प्रदान गरेको भन्दै अमेरिकाले सो आक्रमण तत्कालै रोक्न आग्रह गरेको हो ।

सिरियाको उत्तरी प्रान्त अलेपोमा सिरियाली सैनिकले हालैका दिनमा गर्ने गरेका आक्रमणहरूमा पनि रसियाली सैनिकको हात रहेको अधिकारवादीहरूले जनाएका छन् ।

उनीहरूले सो आक्रमणमा लगभग ५ सय व्यक्तिको मृत्यु भएको र अरू हजारौँले देश छोडेर भाग्न खोजिरहेको जनाइएको छ । त्यस क्षेत्रमा अधिकारवादीहरूका साथै अरू पनि कोही पुग्न नसकेको जनाइएको छ । यस नगरमा यही फेब्रुअरीको सुरुदेखि नै सिरियाली विद्रोही र आतंककारीलाई लक्ष्यगरी गरेको यस आक्रमणहरूमा कयौँ सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

दक्षिणी टर्कीसँग सीमा जोडिएको यस क्षेत्रमा रहेको अलपो प्रान्तमा आतंककारीविरुद्ध गरेको कारबाहीमा सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गर्ने गरे पनि ती क्षेत्रमा भएका कारबाहीहरूमा सर्वसाधारण नै बढी पर्ने गरेका छन् । सिरियामा शान्ति स्थापनाका कार्यहरू पछिल्लो समयमा आएर गति लिने गरेको भए पनि त्यसमा सफलता प्राप्त हुन भने सकिरहेको छैन ।

त्यसैगरी पछिल्लोपटक गतहप्ता मात्र पनि जर्मनीमा सिरियाली समूहका विदेशमन्त्रीहरूको बैठक बसेको थियो । सो बैठकबाट पनि सिरियामा शान्ति स्थापनाको काम सफल हुन सकेको छैन । सिरियाली सहयोग समूहका विदेशमन्त्रीहरूको उक्त बैठकमा सिरियामा आगामी केही दिनमा नै युद्धविरामका लागि आग्रह गरिने बताइएको थियो । तर, यस विषयमा सिरियाली विद्रोही तथा सरकारका बीचमा कुनै छलफल भने भएको छैन ।

प्रतिक्रिया