रसुवागढी नाकामा चहलपहल शून्य

काठमाडौं, ५ फागुन । रसुवागढी नाका सञ्चालन भई चिनियाँ सामान आउन थालेपछि ह्वात्तै बढेको भन्सार राजस्व आजभोली शू्न्यमा झरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार बर्सेनी चिनियाँ भूभागको तिब्बत क्षेत्रमा परम्पराअनुरूप वसन्त पर्व अर्थात ल्होछार पर्व मनाउन त्यहाँका व्यवसायी व्यस्त भएका कारण सामान आयात बन्द भई केही साताअघिदेखि राजस्व संकलन शून्यमा झरेको हो । अब दुई हप्ताभित्र सामान आयात सञ्चालन हुने अपेक्षा गरिएको बताइएको छ ।

गत १२ वैशाखको भूकम्पले रसुवागढी सीमा क्षेत्र ध्वस्त भएपछि भन्सार कार्यालय टिमुरेमा स्थानान्तरण गरिएको थियो । भन्सार चालु भएको दुई महिनाको हाराहारीमा ७१ करोड रूपैयाँ राजस्व उठेको प्रमुख भन्सार अधिकृत पनेरु बताउँछन् । वार्षिक ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको भन्सार कार्यालयले गत १० मंसिरदेखि केरुङ हुँदै रसुवागढीबाट सामान भित्रन थालेपछि छोटो अवधिमा धैरै राजस्व उठाउन सफल भएको पनेरु बताउँछन् ।

वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला, चिनियाँ अधिकारी मिस्टर मीमाले गत १५ कात्तिकमा भूकम्पपछि नाका पुनः सञ्चालनको घोषणा गरेका थिए । एक मात्र चालु नाका छोटो दुरी, ढुवानी भाडा कम भएबाट बढी व्यापारी रसुवागढी केन्द्रित भई सामान आयात गराउन थालेका कारण राजस्वमा वृद्धि भएको हो ।

सामानको आयात नेपालबाट केही मात्रामा नरिवल जट्टाका फोम, हस्तकलाका सामग्री, सख्खर, मैदाजस्ता वस्तु चीनतर्फ निर्यात भएको छ । चीनबाट जुत्ता, चप्पल, तयारी पोशाक, बेरिएका कपडा, विद्युतीय सामान, स्याउ, कुकर जस्ता सामग्री आयात हुने गरेको छ । भन्सार परीक्षण छिटोछरितो हुँदा बढी व्यवसायी रसुवागढी केन्द्रित हुने गरेको नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए । चिनियाँ भूभागबाट रसुवागढी प्रवेश गरेका सबै कन्टेनरलाई भन्सारको पार्किङस्थलमा लाइन राखेर दैनिक डेढ दर्जन ट्रकका सामान छिटोछरितो परीक्षण गराई सिलबन्दी गर्ने गरेको र १७ जनाभन्दा बढी जाँचकी परिचालन गर्ने गरिएको भन्सार कार्यालयले जनाएको छ ।

काठमाडौं–गल्छी–त्रिशुली–धुन्चे–स्याफ्रुबेंसी–रसुवागढी क्षेत्रको प्रमुख राजमार्ग करिब १६० किमी सडक दूरीमध्ये राम्चे र मूलखर्क क्षेत्रको करिब ६ किमी पहिरो क्षेत्रको भाग थप सुधार गर्नुपर्ने माग ट्रक चालकहरूको छ । अन्य स्थानमा ‘साइड’ दिन असहज हुँदा ठाउँ–ठाउँका भाग फराकिलो बनाउनुपर्ने कन्टेनर ट्रक चालकले बताएका छन् । रसुवागढीबाट केरुङको दूरी भने २५ किमी छ ।

ठूला व्यवसायीको आग्रह नेपाल–चीनबीचको व्यापार व्यवसाय भूकम्पपछि रसुवागढी केन्द्रित भएको र व्यवसायीको साथै रसुवा जिल्लाबाहेक अन्य ठाउँमा कन्टेनर चालक रसुवागढीबाट केरुङ जान नपाउँदा एकातिर सामान हराउने समस्या र अर्कातिर आएका सामान कति छन् भन्ने भन्सारमा घोषणा गर्न कठिन भइरहेको छ ।

व्यवसायीको समस्या सरकार सामु बारम्बार दर्शाए पनि सरकारले बेवास्ता गरिरहेको र रसुवागढी नाकाबाट मालधनी र सबै कन्टेनर चालक केरुङ जान पाउने वातावरण सिर्जना गर्न माग गरिएको छ । तातोपानी नाकाको खासामा भूकम्प अगाडिदेखि थन्किएको ६ सयभन्दा बढी ट्रकका सामग्री केरुङ बाटो हुँदै नेपाल भित्र्याउन कूटनीतिक पहलका लागि समेत सरकारसामु आग्रह गरिएको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले बताए ।

ट्राफिक व्यवस्थापनका साथै चालक र कन्टेनर व्यवसायीबीच हुन सक्ने मनमुटावलाई न्युनीकरण गर्दै सुरक्षा व्यवस्था सुमधुर पार्न नेपाल प्रहरीको ठाउँ ठाउँमा गस्ती बढाइएको प्रहरी प्रमुख अवदेश विष्टले बताए ।

भन्सार कार्यालय टिमुरेमा स्थापना भएपछि सीमा क्षेत्रको सुरक्षा र अत्याधिक मालसामान चुहावट हुन नदिन सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टुकडी तैनाथ भएको छ ।

प्रतिक्रिया