पाठ्यक्रमले राखेका उद्देश्य अनुसार शिक्षण सिकाइ क्रियाकलापपश्चात् विद्यार्थीको मूल्यांकन गरिन्छ । सामान्यतया मूल्यांकनको संकुचित अर्थ हेर्दा जाँच लिनु, परीक्षा लिनु वा मापन गर्नु भन्ने बुझाउँछ भने व्यापक अर्थमा हेर्दा मूल्यांकनलाई निरन्तर चलिरहने प्रक्रियाको रूपमा लिइन्छ । यो प्रत्यक्ष, अप्रत्यक्ष र औपचारिक वा अनौपचारिक ढंगबाट गर्नुपर्ने हुन्छ । शिक्षण सिकाइ क्रियाकलापमा व्यावहारिक परिवर्तन भए, नभएको लेखाजोखा गर्नु, सिकारुमा भएको व्यवहारिक परिवर्तन पत्ता लगाउनु, शैक्षिक प्रगतिको लेखाजोखा गर्नु र राखिएका उद्देश्य के कति मात्रामा पूरा भए भनी हेर्ने काम मूल्यांकनले गर्दछ ।
हाम्रो मूल्यांकन पद्धति हेर्दा विशेष गरी तीन घन्टे लिखित परीक्षालाई मात्र आधार मानी कक्षा उत्तीर्ण र अनुत्तीर्ण घोषणा गर्ने प्रचलन रहेको सन्दर्भमा एसएलसी नतिजामा अक्षरांकन पद्धति कार्यान्वयन गर्न लागिएको अवस्था छ । मूल्यांकन प्रणालीले शिक्षण सिकाइलाई समेत दिशानिर्देश गर्ने वर्तमान अवस्थामा त्यसका आधारमा समग्र सिकाइ क्रियाकलापमा समेत परिवर्तन गर्नुपर्ने अवस्था भइसकेको छ ।
अक्षरांकन पद्धति
सरकारले गतवर्षबाट प्राविधिक शिक्षाको धारबाट एसएलसी दिने परीक्षार्थीको नतिजामा लेटर ग्रेडिङ प्रणाली सुरुआत गरेकोमा यसवर्षको एसएलसी नतिजामा साधरणतर्फमा समेत सो पद्धति कार्यान्वयन गर्न लागेको हो । विद्यार्थी मूल्यांकनका लागि प्रयोग गरिने विभिन्न साधन र विधिका आधारमा अंकन गरिने प्रचलन संसारभर रहेको छ । अंकन गर्ने एक प्रकारको तरिका लेटर ग्रेडिङ प्रणाली हो । ग्रेडिङ शव्द ल्याटिन भाषाको नचबमगक बाट आएको हो । जसको अर्थ तह वा श्रेणी हुन्छ ।
अक्षरांकन पद्धतिमा अक्षर, अंक वा कुनै संकेतद्वारा समूहकृत गरिन्छ । तोकिएको सक्षमताको मूल्यांकनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुतिलाई अक्षरांकन भनिएको छ । यस पद्धतिमा कनै देशमा ३ स्केल प्रयोग गरिएको छ भने कतै ९ स्केलसम्म प्रयोगमा ल्याएको पाइन्छ । अक्षरहरूले निश्चित संख्याको अन्तरलाई जनाउँछ र विद्यार्थीको वर्गीकरण गर्दछ । इतिहास हेर्ने हो भने यसको प्रयोग थ्बभि ग्लष्खभचकष्तथ अमेरिकाबाट सुरु भएको देखिन्छ ।
हाम्रो प्राथमिक तहको पाठ्यक्रम ०६२ ले कक्षा १–३ सम्म सतप्रतिशत र कक्षा ४ र ५ मा ५० प्रतिशत अंकको निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली लागू गरी क, ख र ग श्रेणीमा विभाजन गरेको अवस्थाले नै अक्षरांकन प्रणाली सुरुआत भइसकेको भन्न सकिन्छ । त्यस्तै गरी आाधारभूत तहको पाठ्यक्रमले कक्षा ६ र ७ मा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा ४० प्रतिशत अंक विभाजन भई कार्यान्वयनमा रहेको अवस्था छ । यद्यपि, निरन्तर विद्यार्थी मूल्यांकनलाई पाठ्यक्रमले अपेक्षा गरे अनुसार प्रयोगमा ल्याउन नसकिएको पक्षलाई लुकाउनु हँुदैन ।
रााष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को मिति २०७१ असार ३० मा एसएलसी परीक्षामा लेटर ग्रेडिङ प्रणाली कार्यान्वयन गर्ने सैद्धान्तिक निर्णय भएको थियो साथै सोही परिषद्ले २०७१ मंसिर २४ गते माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा रहेको अंकन तरिकालाई परिवर्तन गरी प्राविधिक शिक्षाका ९९ विद्यालयबाट अध्ययनरत विद्यार्थीका लागि २०७१ देखि लेटर ग्रेडिङ प्रणाली लागू गर्ने र साधारण तथा प्राविधिक सबै प्रकारका माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शैक्षिक सत्र २०७२ देखि एसएलसीमा अक्षरांकन पद्धति लागू गर्ने निर्णय गरेको थियो । गतवर्ष प्राविधिका धारतर्फको एसएलसी नतिजामा ९० देखि १०० सम्म ए प्लस ८० देखि ८९ सम्म ए,६० देखि ७९ सम्म बि, ४० देखि ५९ सम्म सी, २५ देखि ३९ सम्म डी, २५ भन्दा कम ई गरी ६ वटा ग्रेड निर्धारण भएको थियो ।
यसवर्ष राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को मिति २०७२÷०८÷२३ को निर्णयानुसार ९ वटा ग्रेड कायम गरिएको छ । जसअनुसार ९० देखि १०० सम्म ए प्लस, ८०देखि ९० भन्दा कम ए, ७० देखि ८० भन्दा कम बीप्लस, ६० देखि ७० भन्दा कम बी, ५० देखि ६० भन्दा कम सी प्लस, ४० देखि ५० भन्दा कम सी, २० देखि ४० भन्दा कम डी, १ देखि २० भन्दा कम ई र शून्यलाई एन वा नन्ग्रेडेड भनिएको छ ।
विद्यार्थीले प्राप्त गर्ने प्रत्येक ग्रेडको व्याख्या समेत गरिएको छ । विद्यार्थीले प्राप्त गरेको ग्रेड अनुसार स्तरीकृत अंक वा ग्रेड प्वाइन्ट अधिकतम ४ अंक तोकिएको छ जसअनुसार ‘एप्लस’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ४, ‘ए’ ग्रेडप्राप्त गर्नेले ३ दशमलव ६ ‘बीप्लस’ प्राप्त गर्नेले ३ दशमलव २, ‘बी’ ग्रेड प्राप्त गर्नेले २ दशमलव ८, ‘सीप्लस’ ग्रेड प्राप्त गर्नेले २ दशमलव ४, ‘सी’ ग्रेड प्राप्त गर्नेले २, ‘डी’ ग्रेड प्राप्त गर्नेले १ दशमलव ६ र ‘इ’ ग्रेड प्राप्त गर्नेले शून्य दशमलव ८ प्राप्त गर्नेछन् । विद्यार्थी उपलव्धिको मापन तथा मूल्यांकनमा एकरूपताका लागि शिक्षा मन्त्रालयले विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ लागू गरेको छ ।
कार्यविधिका मुख्य पक्षहरू
अक्षरांकनको कार्यान्वयन विधिलाई हेर्दा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण अंकमा गराइने र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको अंकलाई ग्रेडमा रूपान्तरण गरी सैद्धान्तिक र प्रयोगात्मक खण्डको उपलव्धि स्तर खुल्ने गरी ग्रेड प्रदान गर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले पाउने प्रमाणपत्रमा उत्तीर्ण÷अनुत्तीर्णको व्यवस्था नरहने र सो को सट्टा विषयगत समग्र ग्रेड प्रदान गरिनेछ साथै लव्धांक पत्रको पछाडि भागमा विद्यार्थीले प्राप्त गरेको ग्रेडको व्याख्या उल्लेख हुनेछ ।
डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै २ विषयमा माथिल्लो ग्रेड प्रातिका लागि मूल्यांकन गराउन चाहेमा विगतको पूरक परीक्षा जस्तो ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने र २ विषयभन्दा बढी विषयमा डी र डी भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले चाहेका विषयमा पुनः मूल्यांकन गराउन चाहेमा आगामी वर्षको परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयन हुनेछ । यस किसिमबाट मुल्यांकन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लव्धांक पत्र पुनः दिइनेछ ।
अक्षरांकन पद्धति क्रमशः अन्य तह र कक्षामा कार्यान्वयन गरिने र निरन्तर विद्यार्थी मूल्यांकन प्रक्रियामा अक्षरांकन पद्धति अनुरूप ग्रेड कायम गरिने व्यवस्था कार्यान्वयन गर्दै लगिने कार्यविधिमा उल्लेख गरिएको छ । अक्षरांकन पद्धति अनुसार प्रदान गरिएको प्रमाणपत्रलाई माथिल्लो शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्न वा सार्वजनिक सेवा वा रोजगारीका लागि योग्यता कायम गर्ने सम्बन्धमा सरोकारवाला निकाय वा संस्थाले आफ्नो उद्देश्य र आवश्यकता अनुसार यसको उपयोग गर्न सक्ने व्यवस्था गरेको छ । साथै पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहको पाठ्यक्रम अक्षरांकन पद्धति अनुकूल हुने गरी परिमार्जन गर्ने समेत उल्लेख भएको छ । कार्यविधिमा शिक्षा विभागदेखि विद्यालयसम्मका निकायगत भूमिका उल्लेख भएको छ ।
विद्यालयले अक्षरांकन पद्धति कार्यान्वयन गर्ने, गराउने, शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवालालाई जानकारी गराउनुपर्ने तथा सिकाइ सम्बद्ध क्रियाकलाप गराउनुपर्ने भनी उल्लेख भएको छ । अबको एसएलसी परीक्षाको प्रश्नपत्रमा उत्तीर्णांक उल्लेख हुने छैन र परीक्षार्थीले साविकको मार्कसिटको सट्टा ग्रेडसिट प्राप्त गर्नेछन् जुन साविककै रङ र गुणस्तरमा उपलव्ध हुनेछ । हालसम्म भनिएको मार्कलेजरलाई लेजर मात्र भनिनेछ र विद्यालयमा लेजर पठाउदा अंक उल्लेख नभई ग्रेड उल्लेख हुनेछ । एप्लसदेखि ईसम्मको ग्रेडमा कायम भएको प्रमाणपत्र सबै विद्यार्थीले पाउने छन् ।
अक्षरांकन पद्धति कार्यान्वयनमा हाम्रो दायित्व
अक्षरांकन पद्धतिको बारेमा आम मानिसहरूमा कौतुहल, अन्योल र भ्रम व्याप्त रहेको छ । के अब एसएलसीमा कोही पनि अनुत्तीर्ण नहुने हुन् ? विद्यार्थीले नपढे पनि स्वतः पास हुने हो ? विद्यार्थीको अंकलाई (सैद्धान्तिक र प्रयोगात्मक)हिसावले ग्रेड कसरी कायम गरिन्छ ? शिक्षकले विद्यार्थीको पढाइमा कम ध्यान दिँदा हुने हो ? त्यस्तै गरी मेहनती विद्यार्थी मर्कामा पर्दछन कि ? माथिल्लो तहको भर्ना गर्दा कस्तो आधार लिइन्छ ? सेवा प्रवेशमा के कस्तो आधार लिइन्छ ? हालको शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन गर्नु पर्छ कि पर्दैन ? जस्ता अनेकौँ जिज्ञासाहरू बजारमा छ्यापछ्याप्ती सुनिएका छन् । एसएलसी परीक्षा अगावै शिक्षक, विद्यार्थी र अभिभावकलाई यस सम्बन्धमा सुसूचित गराउनुपर्ने सम्बन्धित निकाय र पदाधिकारीको दायित्व रहन्छ ।
कुनै पनि विद्यार्थीले नपढिकन माथिल्लो ग्रेड पक्कै पनि प्राप्त गर्न सक्दैन यदि विद्यार्थीले माथिल्लो ग्रेड (एप्लस, ए, बीप्लस, बी, सी) प्राप्त नगरी इच्छा गरेको विषय अध्यापन गर्न समेत पाउने स्थिति रहदैँन ।
त्यस्तै गरी गतवर्षसम्म ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई विशिष्ट श्रेणी भनेर उल्लेख गरिएको थियो भने अव ९० प्रतिशतभन्दा माथि अंक ल्याउँदा मात्र ए प्लस ग्रेड प्राप्त हुने हुँदा उक्त ग्रेड प्राप्त गर्न विद्यार्थीले अझै बढी मेहनत गर्नुपर्ने हुन्छ । विगतमा ३२ प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थी उत्तीर्ण हुने व्यवस्था भएकोमा हाल २० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यार्थीले डी ग्रेड पाउने हुँदा उक्त ग्रेडलाई औसत भन्दा कमजोर भनेर व्याख्या गरिएको छ अब ४० प्रतिशत अंक प्राप्त गर्दा समेत कमजोर नै मानिन्छ ।
यस अर्थमा विद्यार्थीले माथिल्लो ग्रेड प्राप्त गर्न अझ बढी लगनशील हुनु जरुरी हुन्छ र सम्बन्धित विषय शिक्षक र विद्यालयले समेत यसतर्फ ध्यान दिनै पर्दछ किनकी आफ्नो विद्यालयका विद्यार्थीले कुन ग्रेड प्राप्त गर्दछन् र माथिल्लो ग्रेड प्राप्त गर्न हाम्रो भूमिका अहिलेको भन्दा निश्चय नै रचनात्मक र सहयोगी हुनै पर्दछ ।
शिक्षाका सम्बन्धित निकायले सरोकारवालालाई समयमै सुुसूचित गर्न नसकेमा अक्षरांकन पद्धति बारे अन्यौल कायमै रहिरहनेछ र त्यसको मर्म अनुसार कार्यान्वयन गराउन कठिनाई पर्नेछ । त्यस्तै गरी अक्षरांकन पद्धति अनुसार प्रदान गरिने प्रमाणपत्रलाई माथिल्लो शिक्षाको अवसर प्रदान गर्न वा सार्वजनिक सेवा वा रोजगारीका लागि योग्यता कायम गर्ने सम्बन्धमा सरोकारवाला निकाय वा संस्थाले आफ्नो उद्देश्य र आवश्यकता अनुसार यसको उपयोग गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख भए पनि हालसम्म उच्च माध्यमिक शिक्षा परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लोकसेवा आयोग र अन्य उच्च शिक्षा प्रदायक निकाय र रोजगारमूलक निकायहरूले कुन कुन ग्रेडलाई के कस्तो आधार मान्ने भन्ने निर्णय नगरिसकेकोले तत्कालै यसबारे स्पष्ट पार्न जरुरी छ ।
अक्षरांकन पद्धतिमा अनुत्तीर्ण कोही पनि हुँदैनन् भन्ने जुन भ्रम छ वास्तवमा यस पद्धतिमा कुनै पनि विद्यार्थी उत्तीर्ण पनि हुँदैनन् । कुनै एक विषयमा कमजोर भएर वा न्यून सिकाइ सक्षमता भएर त्यही कक्षामा अनुत्तीर्ण भई बस्नु नपरोस् भन्ने मान्यताले यो प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हुनु पर्दछ ।
अक्षरांकन पद्धतिले हाम्रो मूल्यांकनमा अन्तर्राष्ट्रिय प्रचलनको प्रवेश भएको छ । प्रत्येक सिकारु केही न केही रूपमा योग्य हुन्छन् सिकारुलाई अयोग्य भन्न मिल्दैन । सिकारुले प्राप्त गरेको सिकाइ उपलव्धिलाई यथारूपमा प्रमाणीकरण अक्षरांकन पद्धतिले गर्दछ । विद्यार्थीको प्रमाणपत्रमा सक्षमताको व्याख्या हुने व्यवस्थाले सिकारु कुन कुन कुरामा के कस्तो दक्षता रहेको छ भनी स्पष्टता हुन्छ । यस पद्धतिले अस्वस्थ प्रतिष्पर्धालाई सकेसम्म न्यूनीकरण गर्दछ । यसको मूलमर्म बुझ्न र बुझाउन सकेमा निश्चय नै सिकाइमा सुधारका लागि सहयोग गर्दछ तथा सिकाउने व्यक्ति र संस्था बढी जिम्मेवार बनाउन भूमिका खेल्दछ भन्ने अपेक्षा गरिएको छ । यस पद्धतिलाई प्रभावकारी र व्यवहारिक बनाउन मूख्य गरी शिक्षण सिकाइ प्रणालीमा नै परिवर्तन आवश्यक छ ।
(पाठक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका उपनिर्देशक हुन् ।)
प्रतिक्रिया