कता जाँदै छ नेपाली समाज ?

नेपाली समाजलाई के भइरहेको छ ? हामी कता जाँदै छौँ ? किन नेपाली समाज सही बाटो पक्रिन सकिराखेको छैन ? एउटा लामो राजनीतिक क्रान्तिको यात्रा त समाप्त भइसक्यो त फेरि किन देशले सही बाटो पक्रिन सकिरहेको छैन ? संविधानसभाबाट नयाँ संविधान पनि घोषणा भइसक्यो । तर, फेरि किन अशान्त छ नेपाली समाज ? आजकल यी प्रश्नहरू हरेक नेपालीले हरेक क्षण एकअर्कालाई सोधिरहने प्रश्न बनेको छ ।

गतसाता एउटा कार्यक्रममा भाग लिन (सनैया–४१ नम्बर) पुगेको बेला एक जना मित्रले सोध्नुभयो, ‘गणेशजी के साम्प्रदायिक मुद्दाले नेपाललाई गाजेकै हो ? गणतन्त्र आएपछि, संविधान बनेपछि त सबै समस्याको सामाधान हुन्छ भन्थे त खै समस्या त झन बढेको बढै छ त ? के नेपाल अब कहिले उभो नलग्ने नै भयो त ?’ प्रश्न बडो कारुणिक थियो । अनि त्योभन्दा पनि कारुणिक नेपालको अहिलेको अवस्था ।

नेपाली समाजको अहिलेको अवस्थाको विष्लेषण गरिरहँदा, त्यसको निकास के हुन सक्छ भनेर बहस गरिरहँदा आजको नेपाली समाजको विकासक्रमको पूर्वइतिहास र इतिहासको खासखास घटनाक्रमले निर्माण गरेको नेपाली समाजको सांस्कृतिक चेतना राजनीतिक र वर्गीय मूल्य, मान्यताहरू रहनसहनहरू त्यसबाट निर्माण भएको एक किसिमको चेतना र अर्कोतर्फ विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तन खास गरि देशभित्र ०७ सालदेखि ४६ सालसम्म, जनयुद्धदेखि ०६२÷६३ सालको जनआन्दोलन हँुदै मधेस आन्दोनसम्म र तीे परिवर्तनले उत्पीडित समुदायको चेतनामा ल्याएको तरंगबीचको अन्तरविरोधको सही विश्लेषण नगरी सम्भव छैन । हामी धेरैलाई लाग्न सक्छ महिलाले, मधेसले, जनजातिले, दलितले उठाएको सबै मुद्दा संविधानमा सम्बोधन गरिदिए सबै समस्याको सामधान हुन्छ । तर, के हिजोको खासखास ऐतिहासिक घटनाक्रमसँगै जबर्जस्त तरिकाले विकास गरिएको हाम्रा सामजिक, सांस्कृतिक, वर्गीय मूल्यमान्यताहरू समाजमा जीवित रहुन्जेल केबल राजनीतिक मुद्दाहरूको सम्बोधनले मात्रै के हाम्रा अन्तरविरोधहरू समाप्त हुन्छन त ? एउटा गम्भीर र बहस गर्नुपर्ने विषय हो यही नेर छ । हाम्रो समाजको राष्ट्रियतासम्बन्धी परिभाषा र बुझाई, सौन्दर्यतासम्बन्धी परिभाषा र बुझाइ, व्यक्तिको क्षमता, बौद्धिकता र व्यक्तित्वसम्बन्धी परिभाषा र बुझाइलाई विगत लामोसमयदेखि यसरी कलुशित बनाइएको छ कि अहिलेको नेपाली समाजमा चलिरहेको अन्तरविरोधको मुख्य कारण त्यहिनेर छ ।

अहिलेको नेपाली समाजमा देखिएको अन्तरविरोधको गुदी कुरो भन्नुपर्दा हिजोको राज्यसत्ताले निर्माण गरेको राष्ट्रियता, सौन्दर्य मूल्य र मान्यताहरू, व्यक्तिको क्षमता र वौद्धिकतासम्बन्धी बुझाइ र पछिल्लो परिवर्तनले उत्पीडित समुदायमा ल्याएको चेतना र त्यस चेतनाले विकास गरेको राष्ट्रियता, सौन्दर्य मूल्य र मान्यताहरू, व्यक्तिको क्षमता र बौद्धिकतासम्बन्धी बुझाइहरूको टकराव नै हो । राजनीतिक मुद्दाहरू, अधिकार र विशेष अधिकारका कुराहरू त्यही पुराना मूल्य मान्यताहरूलाई, बुझाइ र परिभाषाहरूलाई भत्काउँदै नयाँ स्थापना गर्ने सहायक र भरपर्दा साधनहरू मात्रै हुन् साध्य होइन ।

हामीले मधेसका सबै मुद्दाहरू संबोधन गरौँ । तर, जबसम्म टोपी लाउने मात्रै नेपाली हो चाहे त्यो नेपालमा जन्मेको होस या दार्जिलिङमा, धोती लाउने होइन । नेपाली बोल्ने मात्रै नेपाली हो नेपाली बोल्न नजान्ने मैथली, भोजपुरी, अवधी र हिन्दी बोल्ने नेपाली होइन चाहे त्यो महोत्तरी र कपिलबस्तुमै जन्मेको किन नहोस् । भन्ने राष्ट्रियतासम्बन्धी हाम्रो परिभाषालाई विस्थापित नगर्ने हो भने मधेसका सबै मुद्दा सम्बोधन गरे पनि पहाड र मधेसबीचको अन्तरविरोध समाप्त हँुदैन । हाम्रो समाजको सौन्दर्यसम्बन्धी मूल्यमा पनि माथि हिमालतिर बस्ने, थेप्चो नाक भएका, चिम्सो आँखा भएका, तल मधेसतिर बस्ने कालो रातो छाला भएका पनि होइनन् राम्रा त हिजोका शासकहरू बस्ने सीमित भूगोलभित्रका हिमालदेखि तल चुरेदेखि माथिका गहुँगोरा सग्ला सीमित जातिहरू मात्रै राम्रा भन्ने मूल्य स्थापित गरियो । त्यही सीमित जातिहरू बस्ने भू–भागमा बस्ने दलितहरू पनि हाम्रो समाजको सौन्दर्य मूल्यभित्रका परिभाषाभित्र पर्न सकेनन् ।

अहिले पनि कुनै दलितको घरमा राम्री छोरी जन्मी भने कति राम्री बाहुनी जस्तै रै‘छे भनिन्छ सुनिन्छ । कसैको बोल्ने शैली मन नपरे कस्तो दमाई कामीले जस्तो बोलेको भनेर झपारिन्छ । हामीले यो दुईसय वर्षमा स्थापित गरेको सामाजिक मूल्यमान्यताहरूले दलितलाई हेला गर, मधेसलाई अराष्ट्रिय देख, जनजातिलाई बहिस्कार गर, महिलालाई दास बनाउ भन्ने कुरोमा मात्रै जोड दियो । उत्पीडितलाई कसरी हुन्छ अझ दबाउ भन्ने मात्रै भयो । सेनामा भर्ती हुनु भनेको बलिष्ठ हुनु, शरीर मिलेको हृष्ट, पुष्ट, सुरो हुनुपर्छ तर हाम्रो हिजोको राज्यसताले ब्याख्या गरेको बलिष्ठ, सुरो र हृष्टपुष्टको मूल्यभित्र दलितहरू, मधेसीहरू, पृथ्वीनारायण शाहका सेनामा भर्ती भएका जाति, जनजातिबाहेक अरू जाति जनजाति परेनन् । अहिले पनि जब सेनामा मधेसले सामूहिक प्रवेशको कुरो उठाउँछ तब सेनामा भर्ती हुन निश्चित मापदण्डको प्रश्न उठाइन्छ ।

सेनामा मधेसले सामूहिक प्रवेश दिनुपर्छ भन्नुको अर्थ सेनाका निश्चित मापदण्ड पुगेका मधेसीबीचबाट छानेर उत्कृष्टलाई भर्ना गर भनेको हो । बाटोमा भेटिएका सबै मधेसीहरूलाई च्याप टिपेर भर्ती गर भनेको होइन । तर, हाम्रो सेनामा भर्ती हुने मापदण्डभित्र मधेसी, दलित, जनजाति (पृथ्वीनारायण शाहका सेनामा भर्ती भएका जनजातिहरू मगर, गुरुङ बाहेक) कहिल्यै परेनन् । आछामका हरिबहादुर विश्वकर्मा भन्यो भने कसैले पनि चिन्दैन । चिन्नुपर्ने कारण पनि छैन । तर, आछामकै पण्डित रामप्रसाद शर्मा भन्यो भने नचिने पनि उनीप्रति हाम्रो एउटा धारणा बन्छ । व्यक्तिको क्षमता, बौद्धिकताप्रतिको हाम्रो मूल्यमान्यता र बुझाइलाई पनि प्रदुषित बनाइएको छ । दलित आन्दोलन संविधानमा दलितका सबै मुद्दाहरू हुबहु लेखिए पनि त्यतिबेलासम्म यसले नेपाली समाजलाई धक्का दिन छोड्दैन जतिबेलासम्म सौन्दर्यता सम्बन्धी, ब्यक्तिको क्षमता, विद्वतासम्बन्धी मूल्य, मान्यताहरूमा, हाम्रो सांस्कृतिक र सामाजिक मूल्य मान्यताहरूलाई परिवर्तित र वैज्ञानिक धारणाले विस्थापित गर्दैन ।

अहिले नेपाली समाजमा देखिएको अन्तरविरोध त्यही पुरानो मूल्य, मान्यता, दृष्टिकोण र परिभाषाहरू र नयाँ मूल्य, मान्यता, दृष्टिकोण र परिभाषाहरूको बीचको टकराव नै हो । यो अन्तरविरोधलाई सही तरिकाले व्यवस्थापन गर्न सके यसले नेपाली समाजलाई गुणात्मक उचाइमा पु¥याउन सक्छ तर यो अन्तरविरोधलाई सही व्यवस्थापन गर्न सकिएन भने यसले नेपाली समाजलाई गलत दिशातिर डो¥याउने खतरा पनि त्यतिकै छ । नेपाली सामाजले जुन राजनीतिक क्रान्तिको उचाइ पछिल्लो समयमा प्राप्त गरेको छ त्यो उचाइ हिजोको निश्चित र संकुचित राष्ट्रियता, मूल्य, मान्यता, परिभाषाको जगमा उभिनै सक्दैन । त्यसैले पनि यो अन्तरसंघर्ष अनिवार्य छ अकाट्य छ । त्यसैले यो अन्तरविरोध स्वाभाविक र प्राकृतिक प्रकृया नै हो । तर, यसको स्वाभाविक बहाबलाई बेलैमा विवेकपूर्ण व्यवस्थापन गर्दै अन्तरसंघर्षहरूको चापलाई कम गर्दै जानुपर्छ ।

पछिल्लो राजनीतिक परिवर्तन, शिक्षा क्षेत्रमा भएको पहुँच विकास, सूचना प्रविधि, विश्वव्यापीकरणजस्ता कुराहरूले अहिले नेपाली समाजमा सबै तह तप्कालाई तरंगित बनाइदिएको छ । आँखा खोलीदिएको छ । चेतनास्तर बढाइदिएको छ । जतिसक्दो चाँडो हामी सबैले हामीलाई एकाअर्काबाट खण्डित गर्ने असान्दर्भिक र विभेदकारी मूल्य र मान्यताहरू, सांस्कृतिक रहनसहन र सामाजिक व्यवहारहरूमा परिवर्तन गर्दै उत्पीडित समुदायहरूको व्यापक सहभागिता र समावेशीकरणसहितको राज्यतन्त्र निर्माण गर्न सकियो भने मात्रै आज नेपाली समाज जता गइराखेको छ त्यसलाई सही गन्तव्यमा पु¥याउनु सकिन्छ ।

( लेखक प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारका उपाध्यक्ष हुन्)

प्रतिक्रिया