१२औँ दक्षिण एसियाली खेलकुद

काठमाडौं, १ फागुन । भारतमा चलिरहेको दक्षिण एसियाली खेलकुद सागको तेक्वान्दोमा नेपालले रजत पदक जितेको छ । ४६ किलोमुनिको तौल समूहको फाइनलमा रेजिना कार्कीले पाकिस्तानकी यास्मिन खानसँग चौथो राउन्डमा पराजित हुँदै रजत पदकका चित्त बुझाएकी हुन् ।

फाइनलमा तेस्रो राउन्डमा दुवै खेलाडीले ८–८ अंक बनाएका थिए । रेजिनाले अन्तिममा अंक बटुलेर बराबरी गरेकी थिइन् । त्यसपछि खेल चौथो राउन्डमा धकेलिएको थियो । चौथो राउन्डमा पाकिस्तानी खेलाडीले अंक बटुलेर स्वर्ण जितिन् । यसअघि रेजिनाले सेमिफाइनलमा भुटानी खेलाडीलाई ११–२ अंकले हराइन् । भुटानकी वार्गो कर्मासँगको खेलमा पहिलो राउन्डमा ३ अंक बटुलेकी रेजिनाले दोस्रो राउन्डमा ३ र तेस्रो राउन्डमा ५ अंक बटुलेकी थिइन् । भुटानी खेलाडीले भने दोस्रो राउन्डमा मात्र २ अंक बटुलिन् । रेजिना पहिलो चरणमा अफगानी खेलाडी रजिया खादिजालाई हराएर सेमिफाइनलमा पुगेकी थिइन् । रेजिनाले अफगानिस्तानकी रेजाइ खाडीजालाई ३–० ले पराजित गरिन् ।

सागमा तेक्वान्दोतर्फ रामहरि महतले कांस्य पदक जितेका छन् । उनी ८७ किलोमुनिको तौल समूहको सेमिफाइनलमा भारतका पी आनन्दसँग १४–० ले पराजित भए । त्यससँगँ महतले कांस्य पदकमा चित्त बुझाएका हुन् । आनन्दसँगको भिडन्तमा उनी दोस्रो राउन्डमै अंकका आधारमा पराजित भएका हुन् । यसअघि नै सुनील पौडेलले १२औँ दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जित्ने पक्का भएको छ । शुक्रबार गरिएको ड्रमा ५८ किलो तौल समूहमा पौडेलले बाई पाएपछि पदक पक्का भएको हो । यस्तै पदकको आशा गरिएका चन्द्रबहादुर राना मगर र मोहमद वेश भने पहिलो चरणमै आउट भएका छन् । ६८ किलोमुनिको तौल समूहमा मोहमद वेश अफगानी खेलाडी रोहुल्ला निक्पासँग अंकका आधारमा १३–६ ले पराजित भए । यो समूहमा श्रीलंकन खेलाडी बाई पाएर सेमिफाइनलमा पुगेका थिए । यस्तै ५४ किलोमुनिको तौल समूहमा रानामगर अफगानिस्तानका मोहसिन रेज्जाईसँग पहिलो चरणमै आउट भए । यो तौल समूहमा भुटानका डोटेन दोर्जे बाई पाएर सेमिफाइनला पुगेका थिए । तर, उनी सेमिफाइनलमा भारतका अबर खानसँग पराजित भए । रेजिनाले जितेको पदकसँगै नेपालले जारी सागमा जितेका पदकको ३६ पुगेको छ । नेपालले १ स्वर्ण, १३ रजत २२ कांस्य पदक जितेको छ ।

ट्राइथलनमा रोजालाई कांस्य

भारतको गुवाहटी र सिलोङमा चलिरहेको १२औँ दक्षिण एसियाली खेलकुदको ट्राइथलनमा नेपालकी रोजा केसीले कांस्य पदक जितेकी छिन् । दौड, साइक्लिङ र पौडी मिश्रित ट्राइथलमा नेपालले कांस्य पदक जितेको हो ।

कांस्य पदक जित्ने क्रममा रोजाले १ घन्टा १६ मिनेटमा दुरी तय गरिन् । यसै स्पर्धामा सहभागी यामकुमारी घले पाँचाँै भइन् । घलेले १ घन्टा २० मिनेट २९ सेकेन्डमा दुरी तय गरिन् । सो स्पर्धामा स्वर्ण जितेकी भारतकी पल्लबी रेतिवालाले १ घन्टा ११ मिनेट २१ सेकन्डमा दुरी तय गरिन् ।

पुरुष स्पर्धामा नेपालका रुद्र कटुवाल पाँचौँ तथा टीकाराम थापा छैटौँ भए । रुद्रले २ घन्टा २३ मिनेट ४० सेकेन्ड समय लगाए । टीकारामले २ घन्टा ३० मिनेट ३३ सेकेन्ड समय लगाए । स्वर्ण जितेका भारतीय खेलाडीले २ घन्टा २० मिनेट ५३ सेकेन्ड समय लगाए ।

महिला फुटबलको जित, स्वर्णका लागि भारतस“ग

१२औँ सागअन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हात पारेको छ । नेपालले श्रीलकांलाई ४–० गोलअन्तरले पराजित गरेको छ । यसअघि नै सागको फाइनल स्थान नेपालले सुरक्षित गरिसकेको छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ४–० को फराकिलोे अन्तरले पराजित गरेको हो । नेपालले खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो ।

खेलको सुरुआती १५ मिनेटभित्र पहिलो गोल गरेको थियो । मनमाया लिम्बूले डी– बक्सबाहिरबाट प्रहार गरेको फ्री–किकमा श्रीलंकन खेलाडीले आत्मघाती गोल गरिन् । फ्री–किकमा श्रीलंकन खेलाडी एजे परेराले हेड गर्दा गोलरक्षक एजेम विजारत्नेले त्यसलाई ठम्याउन सकिनन् । त्यसपछि नेपालले थप राम्रो मुभ बनाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको श्रीलंकाको टोली दोस्रो हाफ निरीह बन्यो । अर्कोतर्फ श्रीलंकालाई दबाबमा राख्न सफल नेपालका लागि खेलको ५१ र ६३औँ मिनेटमा अग्रपंक्तिका खेलाडी सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

त्यसपछि पुनः खेलको ७९औँ मिनेटमा मध्यपंक्तिका सपना लामाले गोल गरेकी थिइन् । ५ राष्ट्र सहभागी महिला फुटबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन गरिएको छ । १० अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । भारत र बंगलादेशबीच समूहको अन्तिम खेलमा भारतले जित हात पार्दै स्वर्णको लागि नेपालसँगको भेटपक्का ग¥यो ।

प्रतिक्रिया