धामीको भरपर्दा महिलाको मृत्यु

sita copyबर्दिया, २८ माघ । अन्धविश्वासको पछि लाग्दा बर्दियामा १ जना महिलालाले ज्यान गुमाउनु परेको छ । धामीझाँक्रीको पछि लागी उपचार गराउने क्रममा जमुनी गाविस–९ शान्तिपुर बस्ने २६ वर्षीया महिलाको ज्यान गएको हो ।

बाँसगढी नपा–११ माछागढमा रहेको रुद्र कामीको घरमा झारफुक गर्नेक्रममा आगो लागेर गम्भीर घाइते भएकी सीता अधिकारीको उपचारका क्रममा भारतको लखनउ पु¥याएपछि मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएपछि अधिकारीको धधवार गाविस–३, कर्तनियामा रहेको बबई पोलिक्लिनकामा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि २२ माघमा नै भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा पनि उपचार असम्भव भएपछि थप उपचारका लागि भारतको लखनउ पु¥याइएको थियो । २२ माघमा घटना भए पनि सीताको मृत्युपछि मात्रै बाहिर सो कुरा खुल्न आएको हो । मृतक अधिकारीका पति कृष्ण भट्टका अनुसार धामी रुद्र कामीले झारफुकको क्रममा कालो कपडा र मट्टितेल आवश्यक पर्ने भन्दै किन्न लगाएको बताए । उनले भने, ‘उनी (सीता) र बुबा (ससुराले) एउटै झोलामा मट्टितेल र कालो कपडा राखेका रहेछन् । सोही कारण कपडामा मट्टितेल पोखिएको रहेछ । त्यही मट्टितेल पोखिएको कपडा लगाएर झारफुक गर्ने क्रममा आगो लागेको बुबा(ससुरा)ले बताउनुभयो ।’

बिहे भएको लामो समयसम्म पनि सन्तान नभएपछि सीतालाई आमाले माइतमा लगी उपचार गर्ने भन्दै बोलाएको सीताका पति कृष्णले बताए । उनले भने, ‘सीतालाई उपचारको लागि बुबा (ससुरा) ले नै लैजानुभएको थियो । मैले घटनाको दोस्रो दिन मात्रै जानकारी पाएको हुँ ।’ उनका अनुसार उपचार गराउने भन्दै सीता एकहप्ता अगाडि नै माइत गएकी थिइन् । उनको मइती पनि धधवार–३, कर्तनियामा हो । घटनाको विषमा प्रहरीलाई जानकारी भए पनि कानुनी कार्बाही अगाडि बढाएको छैन । पीडित पक्षले जाहेरी दिएको खण्डमा तत्काल अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक डिएसपी नेत्रमणी गिरीले बताए । उनले भने, ‘पीडितको तर्फबाट जाहेरी आएको छैन । आएमा तत्काल कार्बाही अगाडि बढाउछौँ ।’ पीडक धामी फरार रहेको डिएसपी गिरीले बताए ।

प्रतिक्रिया