निष्ठा र सादगी सिकौँ

राजनीतिमा सबैले ‘सादा जीवन उच्च विचार’ को उपदेश दिन्छन् । तर, व्यवहारमा त्यसलाई उतार्ने काम थोरै नेताहरूले गर्न सकेका छन् । आजभोलि त झन् ‘जोगी हुन राजनीति गरेको होइन भन्ने उच्च तहकै नेताहरू छन् । पैसाको पछि दगुरेको आजको समाजमा सादगीको अपेक्षा गर्न पनि सकिँदैन । यसलाई व्यवहारमा उतार्ने कमै नेताहरू देखिएका छन् । त्यो पनि कांग्रेस पार्टीमै । पहिलोमा सन्त नेता भनिएका कृष्णप्रसाद भट्टराई थिए भने दोस्रोमा सुशील कोइराला । सुशीलले साच्चै लोकतन्त्रको निष्ठालाई कहिले गल्न दिएनन् र सादगी उनको परिचय नै बन्यो । कृष्णप्रसाद भट्टराईको सम्पत्तिको नाममा ‘सुराही र छाता’ थियो भने कोइरालाको तीनवटा मोबाइल । कृष्णप्रसादको जमानामा नेपालमा मोबाइल आएकै थिएन । आजको जस्तो भएको भए सायद उनीसँग मोबाइल अवश्य हुन्थ्यो । त्यस हिसाबले सुशीललाई कृष्णप्रसाद भट्टराईभन्दा सादगी मान्नुपर्ने हुन्छ ।

आज राजनीति पनि पैसाको वरिपरि घुमेको छ । पार्टीको पदमा पुग्न पनि पैसाको खोलो बगाउनु पर्ने वाध्यता सिर्जना हुँदै गएको तथ्य हामी सामु छर्लंग छ । यस्तोमा व्यक्तिगत सम्पत्तिको लोभ नराखी आफ्ना भन्ने केही नराखी जीवन धान्न कम सकसको कुरा होइन । तर, सुशीलले व्यक्तिगत सम्पत्तिलाई कहिल्यै महत्व दिएनन् । तर, नेपालीलाई समृद्ध र धनी बनाउन अहोरात्र लागेको अब इतिहास साक्षी भइसकेको छ । कम्युनिस्टहरूमा त सादगीको कल्पना पनि गर्न सकिन्न । कांग्रेसमा आजीवन विवाह नगर्नेहरू छन् । सुशीलजस्तो साच्चैको जोगी भने कोही छैनन् । विवाह नगरेका त कृष्णप्रसाद पनि थिए । तर, उनले सार्वजनिक कार्यक्रममै ‘म अविवाहित हुँ तर कुमार होइन’ घोषणा गर्ने गरेका थिए । सुशीलमा त्यो पनि देखिएन र उनलाई कहिल्यै भोगीको ‘बात’ पनि लागेन । यस हिसाबले उनको जीवन साच्चैको सादगी रहेको थियो । कुनै जमानामा फिल्मको ‘हिरो’ हुन तम्सेका सुशीललाई रतिरागको चाहना नै थिएन भन्न सकिन्न । तर, उनले कहिले यसलाई भट्टराईजस्तो प्रकट गरेनन् । रह्यो लोकतन्त्रप्रतिको निष्ठाको कुरा । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई निमोठदा धेरै प्रजातन्त्रवादी हुँ भन्नेहरू निराश भएर राजाकै कदमको स्वागत गर्न पुगेका थिए । तर, सुशीलहरू त्यसलाई मान्न तयार भएनन् बरू भारत निर्वासनका लागि तयार भए । प्रजातन्त्रकै खातिर सशस्त्र संघर्ष र जहाज अपहरण गर्नेसम्मका काम गरेका सुशीलको लोकतन्त्रप्रतिको निष्ठा त्यतिकै छर्लंग हुन्छ । लोकतन्त्र प्राप्तीको हरेक आन्दोलनमा सुशील अग्रणी मोर्चामा रहे पनि लाभ प्राप्तीको मामला भने सधैँ पछि सर्ने गरेका थिए । पटकपटक मन्त्री बन्ने प्रस्ताव आउँदा पनि पार्टी कामलाई नै महत्व दिने सुशील कुनै मन्त्री नभई एकैचोटी प्रधानमन्त्री हुने थोरै नेतामध्ये पर्छन् ।

संविधान जारी गर्दा अर्काको उक्साहटमा बल्लतल्ल खुट्टा टेकेको आरोप कोरालालाई लागेको थियो । प्रधानमन्त्री हुँदा पैसा बाँडेको आरोप पनि लागेको थियो । सरकार सुस्त चलाएको आरोप खेपे पनि कोइरालाको लोकतन्त्रप्रतिको निष्ठा र सादगी जीवनमा कसैले खोट लगाउन सक्दैन् । अब सुशील त रहेनन्, उनका अनुयायी हुँ भन्नेहरू र श्रद्धाञ्जली दिन लाममा बस्नेहरूले उनको यही दुईटा कुरा ‘निष्ठा र सादगी’ लाई अनुशरण गरे उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रतिक्रिया