चाकडीको बहसमा किन तानिन्छ राजनीति ?

पहिले भारतीय जमिनमुनिको प्लेट र त्यसपछि भारतीय भूमिको जमिनमाथि बस्ने राजनीतिक प्लेटले नेपाललाई घँचेडेको घँचेड्यै छ । नेपालको उत्पत्ति भएदेखि र भारत जन्मेदेखि यो क्रम रोकिएको छैन । यस अवधिमा नेपालमा सत्तामा बस्नेहरूले भारतको यो नीतिलाई सहँदै आए, पचाउँदै आए भविष्यमा पनि सहजै पचाउँदै जानेछन् । पचाउन नसक्नेहरू भित्रभित्रै अरू कसैसँग पैसा लिएर त्यसलाई पाचक बनाउन देखावटी विरोध गरिरहनेछन् ।

अब केही कुरा आम नागरिकले गम्भीर भएर सोच्नै पर्ने भएको छ । राजनीतिको भर परिरहने हो भने कुन दिन को लेन्डुप भएर जन्मन्छ भन्न नसकिने अस्तव्यस्ततातिर देश गइरहेको छ ।

नेपालको राजनीतिको सबभन्दा खराब पक्ष भनेकै राजनीतिलाई पैत्रिक अंश र आजन्मको पेसा सम्झनु हो । यो पक्षबाट राजनीतिलाई हेरिने गरिएकोले देशका समस्या गौण बन्दै गए, बनाइँदै गए । देशको क्षमताले नधान्ने गरी पेसाका रूपमा राजनीति मौलाउँदै गयो । जनतालाई फुटाउँदै गइयो र गवाँरहरूलाई लुट्न आमन्त्रण गरिँदै लगियो । कुनै दल र नेता तथा तिनको बाँच्ने शैली कुनै तालुकदारको भन्दा कम हुने गरेन, गरेको पनि छैन । यी अरूले तपाईं भनुन् नभनुन् आपैmँ मपाईं बन्दै गए । आफ्ना वरिपरि हरदम चाकडीका लागि झिँगाभैmँ भुम्मिरहने हुक्के र बैठकेहरूको जत्थाले तालि बजाएपछि नेताहरू आफूलाई अनुमोदन भएको ठान्दै गए । राजनीतिले साम, दाम, दण्ड, भेद अपनाएर जनताबाट पाएको निर्दोष मतलाई दुरुपयोग गर्दै त्यसलाई आपूmखुसी व्याख्या गर्ने इजाजतपत्र बनाउँदै गयो ।

कसै न कसैको आशीर्वाद नलिई नेपालमा भएका नेता र दल आफूलाई शुद्ध मान्न नै छाडे । फलतः देशको विकासका लागि कम र विदेशी स्वार्थमा वशिभूत भएर नेपालमा पटकपटक आन्दोलन हुने गरे र तिनकै स्वार्थ अनुकूलका सम्झौतामा गएर यी आन्दोलनहरू टुंगिने गरे । एकाध इमानदार नेताहरूलाई बेलाबेलामा उचालेर तिनको प्रसिद्धीलाई जनतामाझ लगेर बेच्दै आफ्नो दुनु सोझ्याइरहन राजनीतिले छाडेन ।

भारत, जो नेपालको राजनीतिमा अनवरत पकड चाहिरहन्छ, हरेक निर्णायक अवस्थामा ऊ लालु यादव बन्दै जान्थ्यो र नेपालका नेताहरू अहिलेका मधेसी नेताहरूभैmँ निरीह बन्दै जान्थे । को कसको अगाडी चाकडी बजाइरहेछ त्यो ठूलो कुरो हुँदैन । को कुर्सीमा बसेर वा सुकुलमा केमा बसेर चाकडी बजाइरहेछ त्यो पनि ठूलो कुरा हुँदैन । चाकडी बजाउँदा हात वा शरीरको अंगको हाउभाउ कसले कसरी गरिरहेछ त्यो पनि ठूलो कुरा हुँदैन । आआफ्ना संस्कार र क्षमता अनुसार भारतको चाकडी गर्ने संस्कृतिलाई नेपाली राजनीतिले राणाकालदेखि नै अविच्छिन्नरूपमा जोगाउँदै आइरहेछ ।

केही राजनीतिहरू बालकले केही कुरा नपाउँदा आमाबाबुको विरोध गरेको स्वरमा र ढाँचामा केही कुरा नपाइन्जेल भारतको विरोध गरिरहेका देखिने गरे । अहिले पनि यो क्रम चलिरहेको छ ।

जब हाम्रो राजनीतिले भारतीयको चाकडीभन्दा अरू अलिपरका विदेशीको चाकडी गर्न सिक्यो तब उसलाई त्यो परम्परागत भारतीय चाकडीभन्दा त्यो परको चाकडी बढी मीठो लाग्न थाल्यो । नियमितरूपमा आफ्नो पटांगिनीमा नमस्ते बजाउन धाउने नेपाली राजनीतिको यो बदलिएको स्वार्थ जमिन्दारसँग हरूवाचरुवाले गरेको विद्रोहजस्तो भइदियो भारतीय राजनीतिलाई र उसले पचाउन सकेन । बेलाबेलामा हाम्रो राजनीति आपैmँ यो कुरालाई बाहिर लेराइरहेछ ।

जेजति परिवर्तन नेपालमा जनताका लागि भनेर गरिएका छन् ती जनताका लागि गरिएको थियो र छ भन्ने कुनै घटनाक्रमले पनि पुष्टि गर्दैन । चाहे बहुदल होस् वा गणतन्त्र, चाहे धर्म निरपेक्षता होस् वा संघीयता नेपालीको अन्तरमनको चाहनाका विषय होइनन् । यी कुरा छिमेकीको पूरा (कसैले खाँदाखाँदै बाँकी बचेको जुठो) खाइरहेका र टाढाका आफन्तको पूरा खाइरहेका राजनीति र तिनका चेलाचपेटाहरूको स्वार्थले थोपरिएका विषयवस्तु हुन् । प्रत्यक्ष र स्पष्ट शब्दमा भन्ने हो भने अहिलेको मुद्दा भारतीय र अन्य विदेशीबीचको लुकेको स्वार्थको टक्कर हो । नेपालीहरू मकै पिस्दा पिसिने घुन बनाइएका मात्र हुन् ।

राजनीति, नेपाल र नेपालीप्रति इमानदार हुँदो हो त कसरी नेपाली युवाहरूलाई विदेश लखेट्ने भनेर नीति बनाएर बस्दैनथ्यो । नेपालमै यसको व्यवस्थापन गर्न अग्रसर हुन्थ्यो । आजसम्म जन्मेका कुनै दल र नेताले यस विषयमा इमानदार प्रयास नगर्नुका प्रमुख कारण नै यी दल र यिनका नेताले नेपालका लागि राजनीति नगर्नु नै हो । नेपालभित्रैको म एउटा दलको नेता हुँ भनेर बिर्सनु नै हो ।

भविष्यमा अहिले गरिएको निर्णयले के विवाद उठ्छ, त्यसको समाधान के गरी गर्नु पर्दछ भन्ने पनि नसोची, तयारी नगरी, सामान्य भौतिकवादी सिद्धान्तलाई पनि लत्याएर थोपरिएका नेता र दलका आफूखुसीका मुद्दाहरू किमार्थ नेपालीका मुद्दा हुन सक्दैनन् । चाकडी गर्नु नै पुर्ख्यौली पेसा बनाउँदै आएका पहाडीया नेताहरूको चाकडी गर्ने ढंग र मधेसी नेताहरूको ढंग फरक हुनु नौलो होइन । त्यसकारण मधेसी नेताको चाकडी गर्ने शैलीमा बहस चलाउनु निरर्थक हुन जान्छ ।

कसैले मालिकका अगाडि नोकर बनेर चाकडी गर्छन् कसैले ह्विस्कीका च्विस्कीमा इज्जत बेचेर चाकडी गर्छन् । एक घुट्को ह्विस्कीमा चाकडी बजाउन पल्केकाहरूले ‘म त शिर ठाडो पारेर चाकडी गर्दछु तिमीहरूजस्तो निहुरेर हो र’ भनेर नाक फुलाउनुको कुनै औचित्य छैन । अहिलेकै प्रसंगमा पनि जुन अडान संविधान जारी हुँदाका बखत यी नेताहरूले गरेका थिए, थापा आपैmँ दूत बनेर दिल्लीमा गई त्यो अडानलाई चाकडी गरेर स्खलित बनाइसकेका छन् । अचम्म त हामीले यस कुरालाई मान्नु पर्दछ कि कमल थापाले नेपाली राजनीतिको प्रतिनिधि भएर आफ्नै अडान विपरीत सम्झौता गर्दा कुनै तरंग पैदा भएन तर मधेसी नेताले प्लास्टिकको मेचमा बस्दा तरंग पैदा हुन्छ । हामी किन यसरी भेडा भइरहेका छौँ ? नेपालको संविधान सर्वोत्कृष्ट संविधान हो भनेर कुर्लने राजनीतिको भाषा उसको आफ्नो होइन रहेछ भनेर कहिले बुभ्mछौँ हामी ? नेपाली राजनीतिले आजसम्म इज्जत जोगाएको विरलै पाइन्छ भने कसले कसरी इज्जत फाले भनेर सुरु गरिएको बहस नै हाँस्यास्पद होइन र ?

यो कुरा पक्कै हो कि चाकडीमा अन्तरनिहीत विषयवस्तु (यदि ती सही हुन् भने) अत्यन्त गम्भीर प्रकृतिका छन् । जे विषयमा सहयोग मागियो र दिने वचन दिइयो त्यो सामान्य नेपाली सपुतका लागि सह्य छैनन् । राजनीतिले यति गम्भीर विषयलाई पनि औपचारिकतामा सीमित बनाउने नै छ । एउटा विज्ञप्तिमा उसले कर्तव्य सक्नेछ । यसभन्दा बढी गर्ने हैसियत उसको छँदा पनि छैन ।

राजनीतिक तहबाटै घरी करोडौँका नागरिकताका कुरा उठाइन्छन्, घरी तराई भारतको हो जबरजस्ती लिनु पर्दछ भनिन्छ । नाकाबन्दी पनि त यो पहिलो होइन । भारतले नेपाललाई बारम्बार गालामा थप्पड हानिरहेछ र नेपाली राजनीति ठूलै गल्ती गरेभैmँ सहिरहेछ । जनतालाई देखाउन उ नपुंसक जसरी ‘फेरी अब एक थप्पड त हान अनि जान्या छु’ भन्दै एकपछि अर्को गाला थापिरहेछ । सायद लाचारीको सीमा नहुने भएर होला ।

अब समाधानका बाटाहरू संग्लिएर गएका छन् । भारतीय स्वार्थ अनुकूल चल्ने, अरू विदेशीको स्वार्थ अनुकूल चल्ने वा नेपालीको आफ्नै स्वार्थ अनुकूल चल्ने नेपालका अगाडि यिनै तीन बाटाहरू बाँकी छन् ।

पहिलो परम्परागत बाटो हो र राजनीतिले आज वा भोली त्यही बाटो रोज्नेछ । जनतालाई जे भनेर फास्लाङफुस्लुङ पारे पनि उसको ल्याकत त्यसभन्दा पर छैन ।

दोस्रो बाटो पूरै बन्द नभए पनि तत्काललाई निष्क्रिय रहेको देखिने छ । स्वाभाविकरूपमा तिनले नेपालको सहयोगमा कटौती गर्नेछन् र नेपालभित्र तिनको जूठो खान पल्कनेहरू विभिन्न क्षेत्र र तप्काबाट आन्दोलन गरेर विरोध जनाउनेछन् । भूवनोटले गर्दा तत्काल कुनै तेस्रो देशको विकल्पलाई समानान्तर चलाउने हैसियत नेपालसँग छैन । यसो गर्दा भारतीय दबाबको सामना गर्न पनि राजनीति तयार देखिँदैन ।

तेस्रो बाटो अत्यन्त पीडादायी हुनेछ । त्यो बाटोमा हिँड्न दृढ एकता र धैर्यता चाहिन्छ जुन नेपाली जनतामा छैन र राजनीतिले त्यो सिकाउन पनि चाहँदैन । त्यस्तो राजनेता अहिलेसम्म देखिएको पनि छैन । तेस्रो बाटो हिँड्न भारतको विकल्पमा अरू देश खोज्नेहरू त देखिएका छन् तर त्यो भ्रम हो । पशुपतिमा माग्न पाइएन भनेर स्वयम्भूमा माग्न जाँदैमा व्यक्तिको स्वाभिमान जोगिन्छ भन्ने सोचाइ नै गलत हो । स्पष्टशब्दमा तेस्रो बाटोमा नेपाललाई हिँडाउन हामीसँग प्राकृतिक आधार भए पनि राजनीतिक, प्रशासनिक र आर्थिक आधार छैन । करिबकरिब शून्यबाट सुरु गर्नुपर्ने हुन्छ । यो नारा लाउन जति सजिलो भए पनि व्यवहारमा उतार्न सहज छैन । तेस्रो बाटोमा हिँड्न जनतामा अभूतपूर्व राष्ट्रिय भावना चाहिन्छ । सर्वमान्य राजनेता चाहिन्छ, कम विवादास्पद राजनीतिक दल चाहिन्छ । जुन आजसम्म हामीले बनाउने आधार नै बनाएका छैनौँ । भारतीय नायक धमेंन्द्र र रितिक रोशन, मोदी र लालु यादवको विरोधमा संकुचित छ हाम्रो राष्ट्रियता । त्यसैले बेलाबेलामा नचाहिँदो बहसमा छचल्किरहन्छ । भोकभोकै बसेर र ज्यान जोखिममा पारेर राष्ट्रियताका नारा लगाउनु कत्तिको दर्दनाक हुन्छ भन्ने कुरा त मुस्लिम देश सिरियाका कट्टर नागरिक युरोपतिर बाँच्ने आशमा कुदिरहेको देखेर नै अनुमान गर्न सकिन्छ ।

यसैले देशको अस्तव्यस्तता अबको दिन स्वाभाविकरूपमा पहिलो विकल्पमै गएर टुंगिनेछ । राजनीति एक भए पहिलो विकल्पमै नेपाललाई आनुपातिकरूपमा बढी फाइदा हुने गरी योजनाहरू बन्दै जानेछन् । प्राकृतिक सम्पदाका सम्झौता हुँदा, विकास आयोजना बन्दा पूरै राजनीति एक हुन नसके कोसी ब्यारेज, शारदा ब्यारेज आदि बन्दै जानेछन् र ती आयोजनामाभैmँ भारतीय झन्डाहरू नेपालतिर घुस्दै आइरहनेछन् । देशका कुनाकोप्चामा भारतको विरोध गरेर नाटकहरू देखाइरहिनेछ । एकातिरबाट चीन र अर्कोतिरबाट भारत हाम्रा मुटुमुटुमा पसिरहनेछन् । स्वार्थहरूको भागवण्डामै नेपाल बाँचिरहनेछ । वर्तमान संकट मत्थर भए पनि राजनीतिले देशको आर्थिक र वैदेशिक नीतिमा एक हुन सकेन भने निश्चय नै नेपाल आमालाई लुछ्ने क्रम हट्ने छैन ।

नेपाललाई दलप्रति होइन पहिले देशप्रति इमानदार बन्न सिकाउन सकेनौँ भने तपाईं हामी सबै कुनै न कुनै रूपमा भारतीय वा अरू कुनै विदेशीको दलाल नै हुनेछौँ । अब एक अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन जनतालाई देशप्रति बफादार बनाउन आन्दोलन चाहिएको छ । भ्रष्टाचार, तस्कर, अनियमितता आदि र देशभक्ति सँगै हिँड्न सक्दैन । बेलैमा नेपालीले सोचौँ र सार्थक पाइला चालौँ ।

प्रतिक्रिया