उपप्रधानमन्त्री केसी तनावमा

chitra bd kcकाठमाडौं, २७ माघ । सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसी तनावमा रहेका छन् । मन्त्री भएलगतै ऐन संशोधनको तयारीमा रहेका मन्त्री केसीलाई सहकारी सञ्चालकहरूले चर्को विरोध गरेपछि उनी तनावमा परेका हुन् ।

विशेषगरी एमाले, कांग्रेस र माओवादी समर्थित सहकारी सञ्चालकहरूले आफ्नो विरोध गरिरहेको मन्त्री केसीले गुनासो गरे । उनले एमालेकै नेतासमेत रहेका कानुनमन्त्री अग्नि खरेलले समेत समर्थन जनाइसकेको नयाँ सहकारी विधेयकमाथि एमालेकै कार्यकर्ता रहेका सहकारी सञ्चालकले विरोध गर्नु आश्चर्यजनक रहेको बताए । केसीले सहकारीका नाममा ठग्ने धन्दामा लागेकाहरू आत्तिएको भन्दै सहकारी भनेको समाजवादी अर्थतन्त्रको एउटा जग भएकाले सर्वसाधारणको पक्षमा कुरा गर्दा उनीहरू आत्तिएको बताए ।

०४८ मा बनेको सहकारी ऐन अनुसार अहिलेसम्म सहकारीहरू सञ्चालन हुँदै आएको भन्दै उनले सहकारीको के विकृति–विसंगति फेला पारेको बताए । उनले भने, ‘यसमा पनि सहर–बजारका सहकारी खासगरी काठमाडौंका सहकारीले बहुउद्देश्यीय भनेर जेजे राम्रा नाम राखे पनि मूल काम बचत र ऋणको गरेको पाएँ । त्यसकारण ०४८ सालको कमीकमजोरीलाई हटाएर नयाँ ऐन आवश्यक रहेको हामी धेरैलाई महसुस भएको छ ।’ मन्त्री केसीले अहिले सहकारीका मूल्य–मान्यता, सिद्धान्तलाई आधार बनाएर मन्त्रालयले नै नयाँ मस्यौदा तयार गरेको भन्दै मस्यौदा तयार गर्दा मन्त्रालयले सहकारी अभियन्ता भन्नेहरूलाई समेत राखेर छलफल गरेको बताएका छन् ।

उनले भने, ‘विधेयकको ड्राफ्ट भइसकेपछि अर्थ मन्त्रालयमा गयो, उसले स्वीकृति दिएर यता पठायो । कानुन मन्त्रालयबाट स्वीकृत भएर आयो । अहिले मन्त्रिपरिषद्बाट विधेयक समितिमा गएको छ ।’ उनले बाहिर मस्यौदाले सहकारी आन्दोलनलाई, सहकारीको सिद्धान्त, मूल्य–मान्यतालाई ध्वस्त पारेको भन्ने हल्ला भ्रमपूर्ण रहेको समेत जनाएका छन् ।

प्रतिक्रिया