मधेसमा कर मिनाहाको माग

matrika yadavसप्तरी, २७ माघ । मातृका यादव नेतृत्वको माओवादीले १ फागुनदेखि आन्दोलनको घोषणा गरेको छ । मधेसी मोर्चाले मधेसी जनतामाथि धोकाधडी गरेको आरोप लगाउँदै उनले छुट्टै आन्दोलनको घोषणा गरेका हुन् । सप्तरीको राजविराजमा बुधबार पत्रकार सम्मेलन गर्दै यादवले आन्दोलनका माग र कार्यक्रम सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा यादवले आन्दोलनको अवधिभर जनताले सरकारलाई बुझाउनुपर्ने कर, महसुल, ब्याज, हर्जाना मिनाहाको माग गरेका छन् । यस्तै सहिद परिवारहरूलाई राहत, घाइतेहरूको समुचित उपचार तथा जीविकोपार्जनको व्यवस्था, आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरूको खारेजी तथा बन्दीहरूको रिहाइको माग पनि गरिएको छ ।

मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजकसमेत रहेका यादवले प्रतिक्रियावादी शासकहरूको मिलेमतोमा मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए । आन्दोलनमा सहभागी अन्य मोर्चाहरूसँग सल्लाहै नगरी आन्दोलन फिर्ता लिँदा सहिदहरूको अपमान भएको र उत्पीडित मधेसी समुदायलाई धोका दिएको यादवले बताए ।

यादवको अध्यक्षतामा मधेसी राष्ट्रिय आन्दोलन समितिको बैठक सिरहाको लहानमा २ दिनसम्म बसेको थियो । बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘जारी मधेस आन्दोलनको क्रममा खस, गोर्खाली साम्राज्यवादी साम्प्रदायिक सत्ताधारीहरूले मन्डले राष्ट्रवादमा फँसाएर पहाडी जनतालाई तस्करी तथा कालोबजारीको सिकार बनाए । आफूलाई मधेसवादी भन्ने नेताहरूले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारे ।’

आफूले सुरुदेखि नै मधेसी मोर्चाले मधेसी जनतालाई धोका दिने घोषणा गरेको र अहिले त्यो प्रमाणित भएको उनले जिकिर गरे । यादवले भने, ‘हाम्रो आन्दोलन समितिले मधेसी मोर्चाले विगतजस्तै जारी आन्दोलनलाई पनि बेच्ला र आन्दोलन नगर्ने काम गर्ला भनी जनतालाई अवगत गराउँदै आएको कुरा प्रमाणित भएको छ ।’

यादव नेतृत्वको संयुक्त मधेस राष्ट्रिय आन्दोलन समितिले १ फाुगनदेखि २१ चैतसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । फागुन १ गतेसम्म सबै जिल्लामा जिल्ला समितिहरू गठन र पुनर्गठन गरिसक्ने जनाएको छ । मोर्चाले ३ फागुनमा सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

५ फागुनमा सबै जिल्लामा सर्वपक्षीय अन्तत्र्रिmया गर्ने, ८ गते मधेसका सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ९ गते राजविराज, जनकपुर र वीरगञ्जमा विश्व मातृभाषा दिवससम्बन्धी कार्यक्रम गर्ने, ११ गते काठमाडौंमा अन्तत्र्रिmया गर्ने कार्यक्रम तय गरेको छ ।

यस्तै फागुन १३ गते मोरङको रंगेलीमा आमसभा गर्ने, २२ गते पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्ने, २६ गते समितिको अर्को बैठक बस्ने र चैत १९, २० र २१ गते सप्तरीमा राजनीतिक सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलन समितिको सचिवालय मातृका यादवकै संयोजकत्वमा निर्माण गरेको छ । आन्दोलनलाई सशक्त बनाउन बृहत् मोर्चा निर्माणका लागि भन्दै वार्ता समिति समेत गठन गरिएको छ । गोपाल ठाकुरको संयोजकत्वमा सो वार्ता समिति गठन गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया