कोइरालाको निधनले चुनौति थपियो : दाहाल

धनकुटा २६ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शुसिल कोईरालाको निधनले राष्ट्रलाई ठूलो हानी पुगेकाले अहिलेका राष्ट्रिय चुनौति सामना असहज हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघले मंगलवार बिहान धनकुटामा गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

पुर्व प्रधानमन्त्री एवं सबैभन्दा ठूलो दलको सभापतिको निधनले संविधान कार्यान्वयन, बिकास निर्माण लगायतमा जटिलता थपिएको दाहालको भनाइ रहेको छ । संबिधान जारी गर्नका लागि कोइरालाको महत्वपुर्ण भूमिका रहेको भन्दै दाहालले राष्ट्रिय चुनौति समाधानका सन्दर्भमा पछिल्लो समय कोइरालासँग आफ्नो गहिरो र अन्तरंग कुराकानी हुँदै आएको खुलासा पनि गरेका छन । ‘केही समययता उहाँ र मेरो सम्बन्ध निक्कै नजिक भएको थियो,’ दाहालले भने ‘राष्ट्रिय राजनीतिका सन्दर्भमा हामीबीच धेरै अन्तरंग कुराकानी हुने गथ्र्यो ।’

देशमा बलियो राजनीतिक एकता बनोस र संबिधान कार्यान्वयन होस भन्ने कोईरालाको चाहना रहेको भन्दै दाहालले अव एकताबद्ध भएर अहिलेका चुनौतिको सामनाका लागि लाग्नुपर्ने आवस्यकता औँल्याए । ठूलो मेहनतपछि मधेस आन्दोलन र नाकाबन्दीको समस्या समाधान भएकाले अब संविधान कार्यान्वयन, भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माण र आर्थिक बिकासमा केन्द्रित हुनेबेला आएको उनको भनाइ थियो । ‘हामीले धेरै समय मेहनत गरेपछि बल्ल तराई बन्द र नाकाबन्दी फिर्ता भयो,’ उनले भने ‘अब देशको स्थिति सामान्य बन्छ । यही बेला हामीले संविधान कार्यान्वयन, पुर्ननिर्माण र आर्थिक बिकासमा ध्यान दिनुपर्छ ।’

फरक प्रसंगमा दाहालले फुटको वेफाइदा बुझिसकेकाले अब चाडै वामपन्थी पार्टीहरु एक ढिक्का हुने संकेत पनि गरेका छन् । सञ्चारकर्मीको जिज्ञासामा वावुराम भटराई नेतृत्वको नयाँ शक्तितर्फ ब्यांग्य गर्दै दाहालले नयाँ शक्तिमा आवद्धहरु हेर्दा यो सबैभन्दा पुरानो सक्ति जस्तो देखिएको टिप्पणी गरे । ‘बाबुराम अलिक फरक स्वभावका ब्याक्ति हुन । धेरै बर्ष देखि मैले एक्लै उनलाई झेलिरहेको थिए,’ ठट्यौली गर्दै दाहालले भने ‘बल्ल फुत्केर गएपछि ढुक्क भएको छ, अब बाबुरामलाई सबै नेपालीले झेल्नुपर्ने अवस्था आयो ।’ उनले सरकार गठनसँगै भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन लगायत राष्ट्रिय स्वाधीनताको विषय जस्ता गम्भीर प्रकृतिका अप्ठ्यारा सरकारले सामना गर्नुपरेकाले सोचे जस्तो काम हुन नसकेको बताए ।

नेता दाहालले मधेसी मोर्चाले आन्दोलनलाई फिर्ता लिएसँगै नाकाबन्दी सहज बन्दै गएको र भूकम्पबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न संसद्बाट पुनःनिर्माण विधेयक समेत बनिसकेकाले अब सरकार गम्भीरताका साथ देशको विकास र आर्थिक समृद्धितर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया