कलकारितासँगै समाजसेवा

ganes 1 copyकाठमाडौं, २५ माघ । भोजपुरको बासीखोराबाट करिब १३ वर्षअघि गायक बन्ने ठूलो सपना पालेर काठमाडौं सहर पसेको किराती ठिटो ‘गणेश इशारा’ गायनमा त खास जमेनन् तर हाँस्य कलाकारका रूपमा भने राम्रै जमेको नाम हो ।

सुरुमा तत्कालीन चर्चित गायिका सिन्धु मल्लसँग ‘पूर्व जाने हो ?’ बोलको गीति एल्बम बजारमा ल्याएका इशाराले गायनमा खास भविष्य देखेनन् । स्थापित गायक बन्ने उनको सपना अधुरै छ । गीत गाउन सौखिन इशाराले आफ्नो गायिकीलाई साह्रै कमजोर भएको नठाने पनि दर्शक तथा स्रोताबीचमा यो क्षेत्रबाट खास चिनिएनन् ।

कलिलो उमेरमा आफ्नो आमा गुमाउन पुगेका ‘इशारा’ मावली बजुको काखमा हुर्किएका एक संघर्षशील कलाकर्मी हुन् । मावलीहरूको आशीर्वादले होला उनी संगीतको क्षेत्रमा लाग्ने कोशिसमा काठमाडौं छिरेपछि गायनमाभन्दा बढी कमेडीमा बढी नै जमे । सामाजिक विकृति तथा विसंगतिलाई जस्ताको त्यस्तै टिपेर पस्कन सक्ने क्षमताका धनी यिनी आपैmँ भने कसैको इसारामा चलेका छैनन् । उनी कार्यक्रमको दपेडीमा रहँदा सबै मुडफ्रेस गराइराखेका हुन्छन् । उनी भन्छन् ‘गीत गाउन भनेर सहर पसेको यो सहरले हाँस्यकर्मी पो बनायो’ । ब्यंग शब्दको वाण प्रहार गर्न खप्पिस उनले राजनीतिमा पदासिन हुने तर जनताको काममा माखो नमार्नेहरूको उछितो काड्छन् । उनको हालसम्म विभिन्न समयमा कमेडी भिसिडीहरू बजारमा आइसकेका छन् । उनले ‘साँडेतन्त्र’, ‘सदन र भट्टीपसल उस्ताउस्तै’, ‘भद्रगोल डटकम’ र ‘इसारा एकल कमेडी’ जस्ता भिसिडीहरू ल्याएका हुन् ।

प्रायः स्टेजहरूमा जाँदा टिपटप जाने उनले गायनबाट सुरु गरेको कलकारिता यात्रा कमेडीमा अल्झिएको बताए । समकालिन हाँस्य कलाकारहरूको तुलनामा आपूm पनि के कम जस्तो लाग्ने गरेको बताउने उनले अवसर भने नपाएको गुनासो गरे । उनले १२ वर्षदेखि लगातार संघर्ष गर्दै आएको भए पनि खास प्रगति नहुनुको कारणबारे यसरी कुरा खोले । ‘अरू मुसा बनेर छिर्ने अनि हात्ती भएर फिर्ने गर्दा रहेछन तर आपूm कहिल्यै मुसा हुन मानिएन । हात्ती भएर जान खोजिन्छ ढोका मै अटिन्नँ’ उनले भने ‘तैपनि जीवनको यो यात्रामा हरेश भने खाएको छैन ।’

ganesha copyहाँस्यविधा नै रोज्नुको पछाडि पनि इशाराका लागि केही महत्वपूर्ण घटना जोडिएको छ । उनी सुनाउँछन् । त्यो ताका निकै गायकीमा रस भिजेको थियो । स्टेजमा गएर गीतहरू गाउँथे तर ती गीतहरूले त्यति ताली नै नपाउने मनमा कस्तोकस्तो लागेर आउँथ्यो । पूर्वाञ्चल कलाकारसँगको वनभोज या त्यस्तै के कार्यक्रममा मैले पनि गीत गाएँ । पीडा उही ताली कम । साथीहरू जम्मा भएको ठाउँमा मलाई रमाइलो गरिरहनु पर्ने चुटकिला, तथा क्यारिकेचर गरेर हँसाइरहेको थिएँ । त्यही बेला मञ्चमा गएर क्यारिकेचर गर्ने अफर आयो । मैले त्यहाँ तत्कालीन नेता गिरिजाप्रसाद कोइराला, तत्कालीनराजा ज्ञानेन्द्रलगायतको क्यारिकेचर गरेको ताली त थामी नसक्नुको आयो । यो नै मेरो हाँस्यविधामा प्रवेश गर्ने टर्निङ प्वाइन्ट बन्यो ।

उनी गायन र हाँस्यविधामा मात्र होइन राम्रो अभिनय गर्न सक्ने मोडल पनि हुन् । विभिन्न एक दर्जनबढी म्युजिक भिडियो मोडलिङसमेत गरिसकेका उनले भिडियो निर्देशनसमेत गरेका छन् । कलाकारितामा समाजसेवाको भावनासमेत उत्तिकै हुनुपर्ने उनको मान्यता रहेको छ । उनले समाज रूपान्तरणका लागि कलाकारहरूले सबैभन्दा चाँडो भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउँछन् । मान्छेलाई मनोरन्जनसँगै यो क्षेत्रबाट शिक्षा तथा सचेतना भर्न सकिने उनको भनाइ छ ।
हाँस्य कलाकारितासँगै उनले समाजिक संघसंस्थामा समेत उत्तिकै जिम्मेवारी सम्हालिरहेका छन् । गरिब तथा असहायहरूलाई उपचारका लागि उनले जुनतारा संस्कृति सेवा समाज नै गठन गरेर काम गरिरहेका छन् । त्यस संस्थाको अध्यक्षसमेत रहेका इशाराले मिर्गाैलापीडित तथा मुटुरोगीहरूलाई सहयोगका लागि सांगीतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । त्यस्तै असाहायको साहारा प्रेरणा नेपालको समेत उनी सल्लाहकार सदस्य रहेका छन् ।
इशारा पहिलेका वियोग सम्झेर एक्लै रुने गरेको बताउँदै आफ्नो जीवनमा हुने तथा भएको सबै सफलताको श्रेय आफ्नो मावली बजु ‘सोभोमा’ वीरमाया राईलाई दिने बताउँछन् । जसले उनलाई ११ महिनाको उमेरदेखि पालनपोषण गरेर यहाँसम्म ल्याइन् । तर, दुर्भाग्य यो प्रगति अब उहाँले हेर्न पाउनु त हुन्न । त्यसैले म इमानदार बन्नुपर्छ ।

उनले आफ्नो विधामार्फत समाजमा चेतनाको विकास गर्न उत्साहित भएर लागेको बताएका छन् । आफ्नो कलाको प्रस्तुति दिनकै लागि नेपाल तथा भारतका विभिन्न सहर तथा गाउँसम्म पुगिसकेका उनी मान्छेलाई हँसाउनु ठूलो कुरा होइन भन्छन् । उनले भने, ‘आमाचकारी गाली गरेर वा समाजलाई नपच्ने कुरा देखाएर पनि मान्छे हाँस्छन् तर त्यसले सन्देश के दिन्छ र ?’ मैले जुन विषय उठाउँछु त्यो समाजका लागि फलदायी हुन्छ । अनि जसलाई पात्र बनाएर क्यारिकेचर गर्छु उसको आलोचना पनि हुन्छ । त्यसले सुधारको मार्गमा आउन अवसर पनि सिर्जना गर्छ ।’ इशाराले आफ्नो विधागत धारणा सुनाए ।

प्रतिक्रिया