तामाङ ज्ञान महोत्सवमा राजनीतिक छलफल

tamang copyकाठमाडौं, २५ माघ । काठमाडौं उपत्यकको वरिपरि घनावस्ति रहेको तामाङ समुदायको राजनीकि दायित्वको खोजि गर्न बृहत तामाङ ज्ञान महोत्सव आयोजक समितिले राजनीतिक विषयमा छलफल चलाएको छ । तामाङहरुलाई राजनीतिमा जनचेतना जगाउने उद्देश्य सहित राजनीतिमा तामाङ, तामाङ लैङ्गिकता र तामाङ भाषा र शिक्षा लगाएत विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

‘राजनीतिमा तामाङ हिजो आज र भोली’ विषयको अन्तरक्रियाका वक्ताका रुपमा रहेका डा. गणेश योञ्जन, बुद्धछिरिङ मोक्तान र सिताराम तामाङले राजनीतिमा तामाङ समुदायको उपस्थिती र वर्तमान आवश्यकता र भुमिकाका विषयमा छलफलमा उठेका जिज्ञासाहरु मेटाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सिताराम तामाङले तामाङ समुदायको मुद्धा र राज्य पुनःसंरचनाको विषय अझै पनि जहाँको त्यही रहेको भन्दै तामाङ समुदाय राजनीतिमा नआएसम्म उन्नति तथा प्रगती नहुने विचार राखेका छन् । उनले तामाङ समुदायको व्यक्ति राजनीतिमा आउनु अपरिहार्य रहेको बताए । उनले जवसम्म ताम्सालीङ आँउदैन तवसम्म तामाङहरुले आफ्नो अधिकार प्रयोग गर्न नसकिने जानकारी समेत दिएका छन् ।

अन्तरक्रियाका अर्का वक्ता डा. गणेश योञ्जनले तामाङहरुले राज्य पूनः संरचनाको सन्दर्भमा कुनै पनि प्रकारको उपलब्धी हासिल गर्न नसकेको बताए । त्यस्तैगरी डा. योञ्जनले तामाङहरुमा ताम्सालीङले धेरै भूमि ओगटेको छ भन्ने बुझाई नै गलत रहेको समेत बताए । उनले आदिवासी जनजातिहरु २४० वर्ष देखी हेपिदै र पिल्सीदै आएको र जसले गर्दा तामाङको कुनै प्रकारको उपलब्धी हुन नसकेको विचार राखेका छन् । उनले छलफल र बहसबाट नै तामाङलाई एकताबद्ध गर्न सकिनेमा पनि जोड दिए ।

कार्यक्रममा बुद्धछिरिङ मोक्तानले अहिलेको नयाँ संबिधानमा समेटेको संघियतालाई अहिलेका राजनैतिक नेताहरुले उल्टाउन सक्ने भन्दै यसले तामाङ जातिलाई फाईदा नहुने बताएका छन् । नले ताम्सालीङ राज्य निर्माणको सन्दर्भमा सांस्कृतिक पक्षलाई अंगाल्नु पर्नेमा विशेष जोड दिएका थिए । महोत्सवमा तामाङमा लैङ्गिकता विषयमा अन्तरक्रिया पनि भएको छ । वक्ताको रुपमा स्रमिक लामा र आशा तामाङ रहेका छन् । आशा तामाङले नेपाल सरकार कमलरी प्रथालाई अन्त्य गर्न धेरै प्रयास गरीरहे पनि खाडी मुलूकमा भने महिलाहरुले पठाइनै रहेकोमा चिन्ता पोखेका छन् । अर्का वक्ता स्रमिक लामाले छोरीलाई पनि वंश हस्तान्तरण गर्ने अधिकार दिइनु पर्छ भन्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा तामाङ भाषा र शिक्षा सम्बन्धी अन्तरक्रिया पनि भएको छ । वक्ताको रुपमा भने भाषाबिद् अमृत योञ्जन तामाङ र सहजकर्ता इन्द्र तामाङ रहेको छ । योञ्जनले तामाङ भाषाले महिला र पुरुष भनेर बिभेद नगरेको बताए । भाषा लोप भयो भने ज्ञान पनि लोप हुन्छ भन्ने पक्षलाई पनि जोड दिए ।

आइतबार देखि सुरु भएको ३ दिने ल्होछार ज्ञान महोत्सव ०७२ को दोस्रो दिन अन्तरक्रिया कार्यक्रमका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत भइरहेको छ । त्यस्तै गरी तामाङ पुस्तक, तामाङ भेषभूषा लगायतका स्टलहरु रहेको छ ।

प्रतिक्रिया