गुणस्तरहीन इटहरी रिङरोड

itahariइटहरी, २४ माघ । पूर्वी नेपालको केन्द्रविन्दुका रूपमा मानिएको इटहरी उपमहानगरपालिकाभित्र बनिरहेको रिङरोड गुणस्तरीय नभएको भन्दै स्थानीय उपभोक्ताको ब्यापक गुनासो आएको छ ।

द्रुतगतिले विकास भइरहेको इटहरीलाई रिङरोड तथा वरिपरिका वस्तिसँग जोड्ने लिङक रोडको काम गुणस्तिरिय नभएको उनीहरुले बताएका छन् । विश्व बैंकको सहयोगमा नेपाल सरकारले बोलपत्र आह्वान गरेर निर्माण थालिएको क्रमागत इटहरी रिङरोडको ढलको नक्सा नै गलत रहेको र यहाँको पानी निकासका लागि ढलको क्षमता नै ज्यादै कमजोर बनिरहेको इटहरी–५ पचरुखीका स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।

सरकारले निर्माण थालेको इटहरी रिङरोडको सम्पूर्ण निर्माण कार्यको रेखदेख इटहरी उपमहानगरपालिकाको प्राविधिक जनशक्तिले अनुगमन गर्नुपर्नेमा त्यसको कुनै अनुगमन वा रेखदेख नै नभएको स्थानीयवासी उपभोक्ता गंगा दाहालले बताए । उनले भने,‘उपमहानगरपालिकाका इन्जिनियर अर्जुनकुमार दाहालसँग यो विषयमा सोधखोज गर्दा सडकका विषयमा कुनै विवाद वा विरोध नै नगर्नु योजना नै फिर्ता जान सक्छ भन्ने रुखो जवाफ दिनु भयो ।’

बिरुवा पुष्पाञ्जली जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिँदा नै धेरै कम लागतमा अर्थात, १२ करोड ५० लाख रुपैयाँको योजनालाई निर्माणको ठेक्का लिँदा छ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएकै कारणले योजना गुणस्तरहीन बनिरहेको स्थानीयवासीले गुनासो गरेका छन् । उपमहानगरपालिकाले सडक कति चौडाको हुने भनेर कहिल्यै स्थानीयवासीसँग छलफल र अन्तक्र्रिया नै नगरेको स्थानीय उपभोक्ता टंकप्रसाद खनालले गुनासो गरे ।

इटहरी उपमहानगरपालिका–५ को पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतिर रहेको १४ फुट चौडा भएको बाटोलाई स्थानीयवासीले आफ्नो जग्गा वा घर कम्पाउण्ड वाल तोडेर ३१ फुट बनाउन आफैँले प्रयास गर्दासमेत इटहरी उपमहानगरपालिकाको प्राविधिक टोलीले आएर एक पटक पनि अनुगमन नगरेको अर्का स्थानीयवासी उपभोक्ता नरेन्द्रप्रसाद धितालले गुनासो गरे ।

काव्यवजाटिकादेखि इटहरी उपमहानगरपालिका छ हुँदै इटहरी उपमहानगरपालिका–७ को गैसारस्थित सरस्वती माविसम्म जोड्ने साढे छ किलोमिटर रिङरोड सडक निर्माणको जिम्मेवारी लिएको बिरुवा पुष्पाञ्जलकी जेभी निर्माण सेवाका अयुव अन्सारीले गुणस्तरहीन काम भएको विषयमा बुझ्दा उनले आफूहरूले सरकारले दिएको नक्सा मुताविक मापदण्डले तोकेको आधारलाई मानेर काम गरिरहेको बताए । स्थानीयवासीको कडा विरोधपछि इटहरी उपमहानगरपालिकाले अनुगमनका लागि खटाएको सवइन्जिनियर रवीन रायले कमजोर निर्माण सामग्री प्रयोग भएको ढलको अवस्था हेरेर त्यसलाई भत्काउन लगाइएको र गुणस्तरहीन काम नगर्न कामदारलाई सचेत गराएको बताए ।

प्रतिक्रिया