नयाँ शक्तिले तोक्यो प्रदेश इञ्चार्ज

baburamकाठमाडौं, २४ माघ । नयाँ शक्ति नेपालको शुक्रबार र शनिबार काठमाडौंमा बसेको केन्द्रीय अन्तरीम परिषदको बैठकले सातै प्रदेशको इञ्चार्ज तोकेको छ ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले ५१ सदस्यीय सचिवालय गठन गरी सचिवालय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश नं. १ मा राजेन्द्र किराँती, २ मा रामचन्द्र झा, ३ मा वलावती शर्मा, ४ मा देवेन्द्र पराजुली, ५ मा वामदेव क्षेत्री, ६ मा भक्तबहादुर शाह तथा ७ मा लिलादेवी भण्डारीलाई इञ्चार्ज तोकिएको छ ।

दुई दिनको बैठकले विभिन्न विभागहरूको संयोजक समेत चयन गरेको प्रवक्ता देवकोटाले जानकारी दिए । डा. भट्टराईले राजनीतिक विभाग आफैंसँग राखेका छन् भने अर्को महत्वपूर्ण विभाग संगठन विभागको जिम्मेवारी पूर्व माओवादी नेता देवेन्द्र पौडेललाई दिएका छन् । पौडेलकी श्रीमती वलावती शर्मालाई ३ नम्बर प्रदेशको संयोजक तोकिएको छ । यस्तै ४ नम्बर प्रदेशको संयोजक देवेन्द्र पराजुलीकी पत्नी तथा पूर्वमन्त्री कल्पना धमलालाई महिला विभागको संयोजक तोकिएको छ ।

केहीसमय कांग्रेसको राजनीति गरेर नयाँ शक्तिमा प्रवेश गरेका पूर्वअर्थ सचिव रामेश्वर खनालले आर्थिक तथा सुशासन विभागको जिम्मेवारी पाएका छन् । प्रशिक्षण विभागको जिम्मेवारी डम्बर खतिवडाले पाएका छन् । लामो समय एमालेको राजनीति गरेका खतिवडा एमालेमा रहँदा सुनसरीका जिल्ला स्तरिय नेता थिए । एमाले छोडेपछि उनी केहीसमय एमाओवादी नजिक देखिए पनि क्रियाशिल भएनन् ।

मुमाराम खनालले सूचना तथा सञ्चार विभागको जिम्मेवारी पाएका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले सामाजिक अभियान विभाग पाएका छन् । शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीबाट नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

अन्तराष्ट्रिय विभागको जिम्मेवारी भने पूर्वमाओवादी नेता नवराज सुवेदीले पाएका छन् । सांस्कृतिक विभागको संयोजकमा चलचित्र निर्माता तथा अभिनेता अशोक शर्मा छन् । पुर्वमाओवादी नेता गंगा श्रेष्ठले युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएका छन् । डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा महान्यायधिवक्तामा नियुक्त गरेका मुक्ति प्रधानलाई कानुन तथा मानवअधिकार विभागको संयोजक बनाएका छन् ।

यसअघि सार्वजनिक गरिएको नयाँ शक्तिको केन्द्रीय अन्तरिम परिषदमा डा.भट्टराई पत्नी तथा पूर्वमन्त्री हिसिला यमीको नाम समावेश गरिएको थिएन । तर, दुई दिनको बैठकले उनलाई सचिवालय सदस्यमा चयन गर्दै सहिद बेपत्ता परिवार र घाइते अपांग विभागको जिम्मेवारी दिएको छ । पार्टीको नीतिमा उल्लिखित ५ ‘स’ मध्ये एक समानुपातिक र समावेशीमा निकै जोड दिइएको छ । तर ५१ जनाको सचिवालयमा दलित तथा अल्पसंख्यक विभाग नै खालि राखिएको छ । सम्बन्धित समुदायको प्रतिनिधित्व गर्ने दुर्गा सोबलाई गैरसरकारी संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ । ५१ जनामा उनी एक्ली दलित प्रतिनिधी हुन् । अल्पसंख्यक समुदायबाट सचिवालयमा प्रतिनिधित्व छैन ।

प्रतिक्रिया