चितवनमा नयाँ चरा भेटियो

chara_01 copyचितवन, २३ माघ । चितवनमा ग्रेट ह्वाइट फ्रन्टेड नामको नया चरा भेटिएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा चरा विज्ञ वासु बिडारीले चितवनमा फेला परेको चरा नयाँ भएको पुष्टि भएको बताएका छन् ।

चितवनस्थित सोसाइटीको मुख्य कार्यालय कसराबाट एक किलोमिटर पश्चिम पर्ने राप्ती नदीको दोभानमा उक्त चरा भेटिएको हो । ग्रेट ह्वाइट फ्रन्टेड पानीमा बस्ने चरा हो । पाँच दिनअघि घुम्ने क्रममा नेचर गाईड हेमन्त दराई र उस्तव जंग थापाले देखेर चराको तस्बिर लिएको जनाइएको छ । प्रमाणित गर्न फेरि चितवनका चराविज्ञ बिडारीसहितको टोली माघ २१ गते सो क्षेत्रमा गएर हेरेको थियो । त्यसपछि पानी हाँस प्रजातिको नयाँ चरा भएको पुष्टि भएको हो ।

सो क्रममा अर्काे विन गोस नामको चरासमेत फेला पारिएको बिडारीले शुक्रबार जानकारी दिए । ग्रेट ह्वाइट फ्रन्टेड नेपालमा एकपटक १२ वर्ष पहिले पूर्व कोसी टप्पुमा देखिएको थियो । तर त्यसपछि नदेखिएको चरा चितवनमा पहिलो पटक अभिलेख गरिएको छ । चितवनमा पहिलो पटक देखा परेको र विन गोस चरा भने चितवनमा विगतमा देखिए पनि थोरै संख्यामा छ । चितवनमा यो नयाँ चरा भेटिएसँगै चराका प्रजातिको संख्या ६३१ पुगेको छ ।

नेपालमा ८७५ प्रजातिका चरा रहेका छन् । चितवनमा हालै सम्पन्न चरा गणनामा चराको बासस्थान राम्रो पाइएको थियो । सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लाको निकुञ्ज आसपास सिमसार क्षेत्रमा मात्रै यसपालि ५० प्रजातिका ११ हजार २६० वटा चरा फेला परेका छन् ।

यो अघिल्लो वर्षभन्दा तीन प्रजाति र करिब दुई हजारले बढी रहेको चरा विज्ञ बिडारीले बताए । पानीमा मात्रै आश्रित चरा पाँच हजार ७०० फेला परेका छन् । अघिल्लो वर्ष सो क्षेत्रमा गरिएको गणनामा ४७ प्रजातिका नौ हजार चरा फेला परेको थियो । ‘अहिले बासस्थान र चराको उपस्थिति राम्रो पाइयो’ अध्ययनबारे जानकारी दिँदै बिडारीले भने, ‘सबैभन्दा बढी चखेवा पाइए ।’

यो पटकको गणनामा चखेवा मात्रै दुई हजार ४६८ वटा फेला पारिएको छ । यस्तै कर्माेरेन्ट (जलेवा) एक हजार २४ वटा भेटिएको छ । अघिल्लो वर्ष नदेखिएका तीन प्रजाति सुनजुरे हाँस, कैले टाउके हाँस र विजुलीगैरे हाँस पनि यो वर्ष फेला परेको बिडारीले जानकारी दिए ।

प्रतिक्रिया