माइक्रोबस दुर्घटना हुँदा ११ को मृत्यु

नुवाकोट, २३ माघ । काठमाडौँबाट त्रिशूलीतर्फ जाँदैै गरेको बा १ ज ७५८३ नंको माइक्रोवस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा शुक्रवार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेलको सनाखत भएको छ ।

दुर्घटनास्थलमा त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र रामेछापकी लक्ष्मी श्रेष्ठको परिचयपत्र फेला परे पनि उनीहरू मृतक हुन् या घाइते खुलिनसकेको नुवाकोटका प्रहरी प्रमुख डिएसपी सिद्धिविक्रम शाहले बताए ।

२३ जना यात्रु बोकेर त्रिशूली जाँदै गरेको माइक्रोबसमा अधिकांश नेपाली सेनामा तालिमरत सिपाहीहरू रहेको बताइएको छ । शुक्रबार बिदामा आएर शनिबार फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा ६ जना शैन्य तालिम केन्द्र त्रिशूलीमा तालिम लिँदै गरेका र बाँकी सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथलीले पनि तालिमरत जवानहरू दुर्घटनामा परे पनि मृतकहरू को को हुन् भन्ने बारेमा भन्न नसकिने प्रतिक्रिया दिएको छ । तालिम केन्द्रका मेजर अर्जुन थापाले मृतक र घाइतेहरूको पहिचानका लागि प्रयास भइरहेको बताउँदै पूर्ण विवरण दिन नसकिने जनाए । दुर्घटनास्थलमा ८ जना र ३ जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकोे हो । घाइतेहरू ५ जनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । १० जना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेहरूको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया