वार्ताबाटै निकास आउँछ : ठाकुर

पर्सा, २० माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेसमा देखिएको हालको समस्या वार्ताबाटै सुल्झने बताएका छन् । उनले सरकार र आन्दोलनरत मोर्चासँग हाल अवरुद्ध भएको वार्ता सुरु भएपछि निकास निस्किने विश्वास व्यक्त गरेका छन् ।

उनले सरकारको बोली र व्यवहारको कारण अवरुद्ध भएको दुईपक्षीय वार्ता अनौपचारिक रूपमा सुरु भएको र यसले बिस्तारै औपचारिकता पाउँदै निकास निकाल्ने बताए । नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरूको वीरगञ्जमा हुने बैठकले आन्दोलनको स्वरूप र अन्य दलहरूसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सकिने पनि जानकारी दिएका छन् । उनले अवरुद्ध गरिएको वीरगञ्ज नाका खोल्ने कि नखोल्ने बारे मोर्चाको वीरगञ्ज बैठकले निर्णयसमेत गर्ने बताए ।

बुधबार भएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेता ठाकुरले मोर्चाले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप आउने दिनमा परिवर्तन हुने प्रस्ट बताए ।

उनले कुनै पनि पार्टीको महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको पनि बताएका छन् । संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाए पनि कांग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पु¥याउने कुनै योजना नरहेको प्रस्ट बताए ।
तमलोपाले वीरगञ्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सभासद्लाई अवरोध गर्ने क्रममा तराईका केही जिल्लामा कांग्रेसको गाउँ कमिटीको छनोट प्रभावित भएको भने स्वीकार गरेका छन् ।

प्रतिक्रिया