खेल मैदानको रकम हिनामिना

खोटाङ, १७ माघ । खोटाङको सिम्पानीमा खेल मैदान निर्माणका लागि आएको रकम खेलकुद विकास समितिका पूर्वअध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा क्षेत्रीयस्तरको खेल मैदान निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२ मा आएको ५ लाख रुपैयाँ रकम तत्कालीन अध्यक्ष विनोद उदास र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको खुलासा भएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सिम्पानी क्याम्पसमा निर्माण गर्न लागिएको खेल मैदानका लागि आएको ५ लाख तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले कागजी प्रक्रिया मिलाएर हिनामिना गरेको स्थानीयवासीले बताएका छन् । दक्षिणी क्षेत्र गाविसका खेलाडीलाई लक्ष्य गरेर सिम्पानीमा निर्माण गर्न लागिएको खेल मैदानका लागि अहिलेसम्म सर्वेक्षणको काम समेत नभएको उनीहरूले बताए । खेल मैदान निर्माणका लागि आएको रकम सम्बन्धित ठाउँमा नपुगेपछि निर्माण उपभोक्ता समितिका पदाधिकारी पटकपटक सदरमुकाम धाउने गरेका छन् । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको रकम अहिलेसम्म नपाएपछि उपभोक्ता समितिका पदाधिकारीहरू उजुरीसहित सदरमुकाम पुगिरहेका छन् ।

तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताए । ‘जुन शीर्षकमा आएको हो, त्यही शीर्षकमा खर्च हुनुपर्छ ।’ उनले भने, ‘यदि त्यसो नगरेको खण्डमा उनीहरूमाथि कारबाही गरिनेछ ।’ अध्यक्ष र कार्यालय प्रमुखले तत्कालीन समयमा आएको अन्य रकमसमेत हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारीअनुसार शीतला मावि खाल्लेको खेल मैदान निर्माणका लागि आएको ३ लाखमध्ये १ लाख रुपैयाँ दिएर बाँकी रकम अध्यक्ष र कार्यालय प्रमुखले बाँडेको बुझिएको छ ।

आफूहरूले चलाएको सबै रकम फिर्ता गर्ने तयारी गरिएको कार्यालय प्रमुख केसीले बताए । ‘सबै उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएका छाँै, उनले भने, ‘उहाँहरू आउनासाथ सम्झौता गरेर रकम दिएर पठाउने तयारी गरेका छाँै ।’ रासस

प्रतिक्रिया