चार दिने ल्होछार महोत्सव हुँदै

काठमाडौं, १८ माघ । तामाङ ल्होछार महोत्सव आयोजक समितिले यही ०७२ माघ २३ देखि २६ गतेसम्म ४ दिने ल्होछार महोत्सव, तामाङ प्रदर्शनी तथा ज्ञान महोत्सव आयोजना गर्ने भएको छ । तामाङ जातिको सांस्कृतिक एवं धार्मिक पर्व २८५२ टे(बाँदर) ल्होछारको अवसरमा तामाङ डाटाबेस, तामाङ डाजाङ, सैलुङ मिडियालगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

काठमाडौंको बौद्ध स्तुपा परिसरमा कार्यक्रम गर्न लागिएको समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महोत्सवमा विभिन्न ६ वटा सत्रमा तामाङ समुदायसँग सम्बन्धित ल्होछार, इतिहास, राजनीति, मातृभाषा शिक्षा र तामाङ महिलालगायत महत्वपूर्ण विषयहरूमा छलफल चलाइने आयोजकले जनाएको छ ।

महोत्सवमा तामाङ पुस्तक तथा पत्रपत्रिकाहरूको प्रदर्शनी, तामाङ संस्कृति तथा भेषभूषाको प्रदर्शनी, तामाङ चलचित्र र छोटो भिडियो प्रदर्शनी, तामाङ कला प्रदर्शनी, फोटो प्रदर्शनी रहने आयोजकले जनाएको छ । साथै महोत्सवमा तामाङ परिकारहरू बनाइने तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत आयोजकले जनाएको छ ।

विद्यालय स्तरका विद्यार्थीहरूका लागि नगद पुरुस्कारसहितको ल्होछार केन्द्रित निबन्ध र चित्रकला प्रतियोगिताको समेत आयोजना हुने आयोजक समितिका सदस्य आरके तामाङले जनाएका छन् ।

प्रतिक्रिया