आकर्षक पर्यटकीय गन्तव्य बल्थली

balthali copyबनेपा, १८ माघ । काभ्रेपलाञ्चोकको बनेपाबाट १३ किलोमिटर पूर्वी दक्षिणमा पर्ने बल्थली गाविस आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुन थालेको छ । पर्यटकीय आकर्षणको गन्तव्य बनेको बल्थलीमा पुग्दा जोसुकैलाई पनि रोमाञ्चित बनाउने गरेको बल्थली माउन्टेन रिसोर्टका सञ्चालक मणि हुमागाईंले बताए ।

बल्थलीको उचाइमा रहेको डाँडाबाट आँखामा कैद हुने मनोरम दृश्यले सबैलाई लोभ्याउने गरेको उनले जानकारी दिए । हरियाली डाँडापाखा, बेसीमा फलेका पहेलपुर सुन्तलाले त्यहाँको सौन्दर्यमा रौनकता त थपेको हुन्छ नै उचाइमा रहेको डाँडामा बसेर ख्याकु गाउँलाई अवलोकन गर्दा फाँटमा रहेका टेरेश गराले मनलाई आनन्दित तुल्याउने उनको भनाइ छ ।

पर्यटनका अनेकौँ आधार तयार हुँदै गएका छन् र त्यसका लागि सम्भाव्यता समेत अध्ययन भएको छ । शुक्रबार मात्रै सञ्चालनमा आएको बल्थली माउन्टेन रिसोर्टका सञ्चालक हुमागाईंले भने । उनले कृषि, स्वास्थ्यलगायतको पर्यटन क्षेत्रमा बल्थली अग्रस्थानमा आउन सक्ने विश्लेषण गर्दै हाइकिङ, ट्रेकिङका लागि पनि बल्थली महत्वपूर्ण क्षेत्र भएको बताए ।

पर्यटनको क्षेत्रमा लामो समय अनुभव हासिल गरेका हुमागाईंले पर्यटकीय सम्भावना बोकेको बल्थलीलाई अझै बढी आकर्षक गन्तव्य बनाउन लगानी बढाउनुपर्ने उल्लेख गर्दै यहाँ वञ्जी बनाएर आकर्षण थप्न सकिने उनको तर्क थियो ।

पत्रकार महेश पौडेलले बल्थलीमा ८ प्रकारका गुराँस पाइने जानकारी दिँदै बल्थलीबाट सूर्योदय र हिमशृंखलाको अवलोकन गर्न पाइने बताए । उनले यहाँको सौन्दर्य टेरेश गरा र गणेश हिमाललगायतका हिम शृंखलाको अवलोकन रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया