५ सय ८० इन्जिनियर खटाइए

काठमाडौं । गत वैशाखपछि लगातार गएको भूकम्प क्षतिको लगत संकलन गर्न केन्द्रीय तथ्यांक विभागले ५ सय ८० इन्जिनियर खटाएको छ । विभागले भूकम्प प्रभावित ११ जिल्लामा गएर स्थलगत तथ्यांक संकलन गर्न टोली खटाएको जनाएको छ । भूकम्पबाट बढी क्षति भएका काठमाडौं उपत्यका बाहिरका ती जिल्लाको लगत संकलन गर्न संकलक पठाइसकेको विभागले जनाएको छ । संकलित तथ्यांकका आधारमा प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आंकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम शीघ्र सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले पहिलो चरणमा दोलखामा १ सय ३० र दोस्रो चरणमा उपत्यका बाहिरका अन्य जिल्लामा ४ सय ५० जना लगत संकलनकर्ता पठाएर काम सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार सबै घरपरिवार तथा व्यक्तिको प्राप्त विवरणबाट सामाजिक सुरक्षा कार्यक्रमलगायत अन्य कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ । यही साताभित्र ४ सय ५० जना इन्जिनियर प्रभावित जिल्लामा खटिँदै छ ।

उनले भने, ‘लगत संकलनका लागि ४ सय ५० जनालाई तालिम सुरु गरिएको छ । ५ दिनको तालिमपछि सबैलाई प्रभावित क्षेत्रमा पठाउन लागिएको छ ।’ यस सर्भेक्षणमा विज्ञ सर्भेयरले ‘ट्याब्लेट’ प्रयोग गरी संकलन गरेको तथ्यांक इन्टरनेटमार्पmत सोझै सिंहदरबारस्थित सरकारी एकीकृत तथ्यांक केन्द्रमा र विभागको सर्भरमा प्राप्त हुनेछ । (सौस)

प्रतिक्रिया