जनजाति संग्रहालय भवन अलपत्र

खोटाङ, १४ माघ । ४ वर्षअघि निर्माण कार्य प्रारम्भ भएको आदिवासी जनाजाति संग्रहालय अहिलेसम्म जस्ताको त्यस्तै रहेको छ । खोटाङको सदरमुकाम दिक्तेलमा निर्माण सुरुगरिएको भवन समिति विवादका कारण अलपत्र परेको हो ।

५ वर्षअघि निर्माण कार्यसुरु गरिएको भवन निर्माणका लागि राजनीतिक दल संलग्न भवन निर्माण उपभोक्ता समिति बनेको थियो । समितिले आर्थिक अनियमितता गरेपछि संग्रहालय भवन निर्माणको काममा बाधा पुगेको हो ।

त्यसबेला भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा समितिका कोषाध्याक्ष रामकुमारी राईले उजुरी दिएकी थिइन् । उनले भवन निर्माणका लागि बैंकबाट रकम निकाल्दा सहमति विपरीत किर्ते हस्ताक्षर गरी निकालेको आरोप लगाएकी थिइन् । ४ वर्षअघि निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, काम गर्ने व्यक्ति द्वय विष्णुराज राई र भक्तकर्ण राईले किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उनले अख्तियारमा उजुरी दिएकी हुन् ।

आरोपी मध्ये जयबहादुर राई र भक्तकर्ण राईको मृत्यु भइसकेको छ । संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम किर्तेगरी पटकपटक गरी १३ लाख ८३ हजार निकासा गरिएको कोषाध्याक्ष राईले बताउँदै आएकी छन् । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर किर्ते गरेर रकम निकासा गरिएकाले उजुरी दिन बाध्य भएको कोषाध्यक्ष राईले बताउँदै आएकी छन् ।

बैंकको स्टेटमेन्टमा ०६७ साउन ३१ गते २ लाख ५० हजार, असोज २१ गते ३ लाख, चैत १ गते १ लाख ८० हजार र २० गते ८३ हजार रुपैयाँ निकासा गरिएको छ । भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ ।

निर्माणाधीन संग्रहालयमा जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरूको पूर्खाहरूले आदिमकालमा प्रयोग गरेका, चलाएका, लगाएका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया