आचारसंहितामा कडाइ हुने

काठमाडौं, १४ माघ । सरकारले पत्रकार आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउने बताएको छ । बाल संवेदनशील पत्रकार निर्देशिकाको मस्यौदाका लागि सुझाव संकलन गर्न राजधानीमा बिहीबार आयोजित अन्तत्र्रिmयामा उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनाली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराइने वचनवद्धता प्रकट गरेका हुन् ।

उपप्रधानमन्त्री मैनालीले नयाँ संविधानसँगै पत्रकारिता क्षेत्रलाई पनि सोही ढंगले अघि बढाउन आवश्यक छ । त्यसका लागि आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउन मन्त्रालयका तर्फबाट पर्याप्त गृहकार्य र सहयोग हुने बताए । उनले आचारसंहिताले पत्रकारितालाई विश्वसनीय, परिपक्व र प्रभावकारी बनाउने विश्वास व्यक्तगरेका थिए ।

सञ्चारमन्त्री राईले नेपालमा पत्रकार आचारसंहिताको कार्यान्वयन नाजुक अवस्थामा रहेको बताए । आचारसंहिताको नियमन र कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रेस काउन्सिलको क्षमता वृद्धि गर्न लागिएको बताउँदै उनले भने, ‘बिहीबारको मन्त्रिपरिषद्को बैठकले काउन्सिललाई १ करोड ४० लाख विशेष बजेटको व्यवस्था गरेको छ । अब आचारसंहिता कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुन्छ । कार्यान्वयनका लागि के गर्नु पर्ने हो, त्यो गरिन्छ ।’

उनले नयाँ संविधानअनुसार पत्रकारितासम्बन्धी सबै नियम, कानुन र आचारसंहितालाई पुनरावलोकन गर्न मन्त्रालयले तयारी सुरु गरिसकेको पनि जानकारी दिए । पत्रकारितालाई मर्यादित, प्रभावकारी र जवाफदेही बनाउने चाहना सरकारको रहेको मन्त्री राईले जानकारी दिए । कार्यक्रममा आचारसंहिता बनाउन गठित समितिका सदस्य तथा पत्रकार कुन्दन अर्यालले एक वर्षसम्म गरिएको छलफल तथा अन्तत्र्रिmया कार्यक्रमबाट अहिलेको मस्यौदा तयार पारिएको जानकारी दिए ।

११ बुँदे निर्देशिकामाथि पत्रकार बबिता बस्नेत, सुमन खरेल, प्रकाश रिमाललगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, पत्रकार हस्त गुरुङ, ध्रुवहरि अधिकारीलगायतले निर्देशिकाका आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया