निकुञ्ज क्षेत्रमा सिसी क्यामेरा

चितवन, १३ माघ । सवारी साधनका कारण जैविक मार्ग प्रभावित बन्दै गएको भन्दै वन्यजन्तु आवतजावत गर्ने स्थानमा सिसी क्यामेरा जडान गरिने भएको छ । राजमार्गको वरीपरी अनुगमनका लागि क्यामे्रा राखन लागिएको हो ।

चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ । भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको चार किमी क्षेत्रमा सिसी क्यामेरा रहने छ । चितवन राष्ट्रिय निकुञ्जको आग्रहमा नेपाली सेनाको उच्चस्तरको प्राविधिक टोलीले सो क्षेत्रको सम्भाव्यता अध्ययनसमेत गरिसकेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार २ सय मिटरको फरकमा सिसी क्यामेरा राखिँदैछ । कतिपय संवेदनशील क्षेत्रमा केही नजिक क्यामरा राख्ने तयारी भएको उनलेबताए । बीसदेखि ३० वटासम्म क्यामरा राख्ने तयारी गरिएको र १० देखि १५ लाख रुपैयाँसम्म लागत लाग्ने अनुमान गरिएको यो कार्यका लागि विश्व वन्यजन्तु कोषले आर्थिक सहयोग गर्ने जनाएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । वन्यजन्तु आवतजावत अत्यधिक बढ्ने हुँदा हरेक महिना ४÷५ वटा वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेको, निकुञ्ज क्षेत्रमा शौच गर्ने, फोहर फाल्ने, कुलत र आपराधिक घटना गरेर लुक्नेजस्ता समस्या बढेपछि त्यहाँ सिसी क्यामेरा जडान गर्न लागिएको उनले बताए ।

सिसी क्यामेराको मुख्य मनिटर सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा राखिँदै छ, भने यसको अनुगमन निकुञ्ज र जिल्ला वन कार्यालयले गर्नेछ जसका लागि नेपाल प्रहरीले पनि सहयोग गर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । सिसी क्यामेरा जडानसँगै सवारी साधनको गति नियन्त्रण गर्न सकिने र निकुञ्जभित्र गाडी रोक्ने समस्या हल हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

नेपालका निकुञ्ज क्षेत्रमा सिसी क्यामरा राखेर सवारी गति अनुगमन गर्न लागिएको यो पहिलो हो । बर्दिया राष्ट्रिय निकुञ्जमा सडक लामो भएकाले गति कार्ड प्रयोग गरिँदै आएको छ । दीर्घकालीन रूपमा सडकले निकुञ्ज भागमा भूमिगत मार्ग बनाउन जरुरत रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । वर्षाद्को समयमा अन्य क्षेत्र डुबानमा परेसँगै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा सोही क्षेत्रमा आवतजावत गर्ने गर्दछ । सवारी ठक्करका कारण चित्तल, बँदेल, अजिंगरजस्ता वन्यजन्तु मर्ने गरेका छन् भने अन्य ठूला जनावर घाइते हुने गरेका छन् ।

हालै मात्र सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारी क्षेत्रमा वन्यजन्तु आवतजावत गर्नका लागि दुई ठाउँमा सडकमुनि बाटो बनाउँदै छ ।

प्रतिक्रिया