कारगारमा क्षमताभन्दा बढी कैदी

संखुवासभा, १३ माघ । जिल्ला कारागार संखुवासभामा क्षमताभन्दा बढी कैदिबन्दी भएपछि समास्या देखा पर्न थालेको छ । कारागारको क्षमताभन्दा ४ गुना बढी कैदीबन्दी राखेपछि उनीहरूको स्वस्थ्यमा समस्या देखा पर्न थालेको हो ।

खाँदबारीमा रहेका कारागारमा एक कैदीको केहि दिनअघि मृत्युसमेत भएको छ । चैनपुर नगरपालिका स्थायी घर भएका ४२ वर्षीय कर्मी शेर्पाको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा ज्यान गएको हो । शेर्पालाई कर्तब्य ज्यान मुद्दामा २ वर्ष कैद सयाज तोकिएको थियो । जिल्ला कारागार खाँदबारीमा अन्य ३ जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । जाडो मौसममा कहिल्यै पनि घाम देख्न नपाएको र हिँडडुल गर्ने ठाउँ समेत नभएकोले कैदीबन्दीहरूमा नसासम्बन्धी रोग देखिएको र बिरामीको मृत्यु भएको निमित्त जेलर खेमराज आचार्यले बताए ।

बिगतका समयमा पनि व्यवस्थापनलगायत विभिन्न कारणबाट कारागारमा समस्या देखिन थालेको थियो । ‘अन्य व्यवस्थापनमा त समस्या थियो नै, अब कैदीबन्दीहरूको स्वास्थ्यमासमेत समस्या आउन थालेको छ’ निमित्त जेलर आचार्यले भने । ‘कतिपय बिरामीहरूको कमरभन्दा तल नचल्ने, हात खुट्टा नचल्ने, हिँड्न खोज्दा ढल्ने जस्ता समस्या देखिएको छ’ जेलर आचार्यले भने ।

जेलर आचार्यका अनुसार अहिले त्यस्तो रोगको बिरामी ९ जना छन् । हाल अमर माझी, मिलन लिम्बू, चन्द्र पुरी, सूर्य विक, इन्द्रमान तामाङ, निमा तेम्बा शेर्पा, लाक्पा ओङ्दी शेर्पा, अर्जुन तामाङ्, जनकसिं तामाङ् बिरामी छन् । कैदी बिरामी चन्द्र पुरीलाई भने जिल्ला अस्पतालले अन्यत्र उपचारको लागि रिफरसमेत गरिसकेको छ । अन्य बिरामीहरूको अवस्थासमेत चिन्ताजनक अवस्थामा रहेको जेलर आचार्यले जानकारी दिए । कारागार व्यवस्थापनमा चाँडो ध्यान नपुराए बिरामीको संख्या बढ्दै जाने उनले दाबि गरे । यता जिल्ला कारागार खादबारी भने गत बैशाखमा गएको भुकम्पले भत्काईदिएपछि प्रहरी पोस्टको सानो कोठामा कार्यालय सञ्चालन गर्न बाध्य छन् ।

कारागार मर्मत र कार्यालय भवन निर्माणको लागि कारागार व्यवस्थापन विभागमा पटकपटक बजेट माग गर्दा पनि हालसम्म कुनै सुनुवार्ई नभएको निमित्त जेलर आचार्यले गुनासो गरेका छन । कारागार कार्यालय निर्माणको लागि १ करोड रुपैयाँको लागत स्टिमेटसहितको बजेट माग गरेको र कारागार मर्मत र सुरक्षा पोस्ट निर्माणको लागि ४० लाख रुपैयाँको बजेट माग गरेको उनले जानकारी गराए ।

कारागार व्यवस्थापन विभागले चाँडै रकम विनियोजन गर्ने भनेर आश्वासन दिए पनि हालसम्म कुनै काम हुन नसकेको जेलर आचार्यले गुनासो पोखे । कारागारको क्षमता वृद्धि गर्नका लागि भवन निर्माण गरिए पनि बजेट नभएकै कारण परर्ण रुपमा निर्माण गर्न नसकिएकोले कैदिबन्दी सार्न नसकिएको उनको भनाइ छ । ‘कारागार मर्मतकै लागि मात्र बजेट पाए पनि कैदीबन्दीलाई अलि फराकीलो ठाउँमा त राख्न सकिन्थ्यो’ आचार्यले भने ‘फराकीलो ठाउँमा राख्न सके उनीहरूको स्वास्थ्यमा कम समस्या आउने थियो ।’

आपूmहरू सानो ठाउँमा धेरैजना बस्न बाध्य भएकोले निर्माणाधिन भवनमा सर्न पाए सजिलो हुने हुँदा चाँडो निर्माणको लागि कारागार विभागसम्म जाने खर्च कैदीबन्दीले नै उठाएर जेलरलाई पठाउने निर्णय समेत गरेको चौकिदार सुशील राईले जानकारी दिए । ‘कारागार भवन चाँडै निर्माणको लागि बजेट माग्न जाने खर्च हामीले (कैदीहरू) नै जुटाउने निर्णय गरेका थियौँ तर सर आफ्नै खर्चले जानुभयो’ चौकीदार राईले भने । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारण अन्य प्रशासनिक काममा पनि समस्या रहेको जेलर आचार्यले जानकारी दिए । कारागारमा २५ जनाको क्षमता रहेकोमा हाल १ सय ९ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया