आइडियल र डेनेबको विजयी सुरुआत

Ideal copyकाठमाडौं, २५ पुस । आइडियल इङलिस स्कुल ‘ए’ र डेनेब एकेडेमीले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन् ।

चावहिलको गणेशथानमा भएको उद्घाटन खेलमा आइडियलले पाथिभारालाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । डेनेबले पनि टाइब्रेकरमा जित हात पार्ने क्रममा बुद्ध एकेडेमीलाई २–१ ले हरायो । निर्धारित समय १–१ को बररबरी स्थितिमा टुंगिएको थियो ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा जुगल इङलिस स्कुल, बाल विकास स्कुल र पुशुपतिले सफलता आत्मासात् गरे । जुगलले आइडियल ‘बी’ लाई ८–० को भारी गोलअन्तरले पाखा लगायो । विजेताका अंकित प्रधानले ४, सन्दिप कोइरालाले २ तथा दिपेश प्रधान र रोशन मगरले १–१ गोल गरे ।

बाल विकासले हर्टल्यान्ड ‘बी’ लाई १–० गोलले पन्छायो । सुवास तामाङले निर्णायक गोल गरे । ओडिसी विरुद्धको खेलमा पशुपति ५–० ले विजयी भयो । पशुपतिका सागर श्रेष्ठले ह्याट्रिक गरे ।

प्रतियोगिताको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले उद्घाटन गरे । शनिबारसम्म चल्ने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया