दोस्रो अभ्यास खेलमा नेपालको जित

crick nepalकाठमाडौं । बंगलादेशमा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली युवा टोली अभ्यास खेलमा विजयी भएको छ । मंगलबार भएको अभ्यास खेलमा नेपालले भारतको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन ११ लाई ३ विकेटले हरायो ।

यसअघिको अभ्यास खेलमा भने नेपाल पराजित भएको थियो । मंगलबारको खेलमा जितका लागि पाएको १७१ रनको लक्ष्य नेपालले ३८ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन राजु रिजालले ४५ तथा आरिफ शेखले नट आउट ३५ रन बनाए । योगेन्द्रसिंह कार्की २९ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको हिमाञ्चल प्रदेशले ३६ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १७० रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा आरिफ शेख र प्रेम तामाङले समान ३ विकेट लिए । जनवरी २२ देखि बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकपको तयारीका लागि नेपाली टिम भारत भ्रमणमा गएको हो ।

नेपालले भारतको धर्मशाला र नयाँ दिल्लीमा १५ दिन विशेष प्रशिक्षण तथा अभ्यास खेल खेल्नेछ । त्यसपश्चात् आउँदो जनवरी १६ मा टोली फर्कनेछ । नेपाल यू–१९ विश्वकपको कठिन समूहमा रहेको छ । नेपालले समूह चरणमै बलिया टेस्ट राष्ट्रहरू भारत, अस्ट्रेलिया र न्युजिल्यान्डको सामना गर्नेछ । (सौस)

प्रतिक्रिया