भारतमा शक्तिशाली भूकम्प

ढाका, २० पुस । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार बिहानै शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पको धक्का भारतका छिमेकी देशहरूमा पनि महसुस गरिएको थियो । उक्त भूकम्पको धक्काले भारतलगायत म्यानमार, बंगलादेश र भुटानमा पनि हानेको थियो । नेपालका पनि कतिपय स्थानमा यसको धक्का महसुस गरिएको बताइएको छ ।

सो भूकम्पबाट भारतमा छ जना र बंगलादेशमा दुई जनाको ज्यान गएको बताइएको छ । त्यसमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । भूकम्प सोमबार बिहान ठीक ४.३० बजे गएको थियो । बिहानको समयामा आएकोले कतिपयले थाहा नै नपाएका र थाहा पाएर भाग्न खोज्नेहरू घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

भूकम्प ६.७ रिक्टर स्केलको रहेको थियो । मणिपुरमा केन्द्रबिन्दु रहेको सो भूकम्पले उक्त क्षेत्र निकै हल्लाएको थियो । भूकम्पले मणिपुरपछि बढी पश्चिम बङ्गाल र ओडिसामा हल्लाएको थियो । मणिपुरको राजधानी इम्फालमा धेरै क्षति पु¥याएको छ । मृत्युहुने छ जनामा इम्फालकै नागरिक परेका छन् ।

भूकम्पको केन्द्रबिन्दु ५७ किलोमीटर गहिराईमा परेको भूगर्भविद्हरू बताउँछन् । मणिपुरको तमेंलुङ भन्ने स्थानमा सो भूकम्पको केन्द्रबिन्दु परेको बताइएको छ ।

बिहान सुतिरहेका व्यक्तिहरूमा भूकम्पको धक्कापछि भागाभाग भएको थियो । सो भागाभागका कारण नै भारतमा एक सयजनाभन्दा बढी र बङ्गलादेशमा पनि त्यत्तिकै संख्याका नागरिक घाइते भएका बताइएको छ । भूकम्पको धक्काले बंगलादेशको राजधानी ढाका निकै हल्लाएको बताइएको छ । राजधानी ढाकामा भवनहरू हल्लाएको र केही भवनमा क्षति पुगेको जनाइएको छ । भारतका अरू राज्यमा भएको क्षतिको विवरण आइसकेको छैन । त्यस्तै सो छिमेकै अन्य देशहरूबाट पनि क्षतिको विवरण आएको छैन ।

उद्वारको काम दू्रत रूपमा जारी रहेको भारतीय अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कैयौं आवासीय भवन र केही अस्पताल भवनमा समेत क्षति पुगेको बताइएको छ । अधिकारीहरूले मणिपुरमा धेरै नै क्षति पुगेको अनुमानस्वरूप सो क्षेत्रमा उद्वार र राहातका कार्यक्रमहरूलाई केन्द्रित गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया