सालकको खपटासहित दुई पक्राउ

salak khapataकाभ्रे, १८ पुस । लोपोन्मुख रहेको जंगली सालकको खपटा तस्करी गरेको आरोपमा काभ्रे प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काभ्रेको बनेपा नगरपलिका–६ चाँदनीचोकबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित प्रेम लामा र पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ३ केजी ५ सय ग्राम सालकको खपटा बरामद गरेको छ । उनीहरूमा मध्ये प्रेम लामा रामेछाप, लखनपुर–७ का हुन् भने । तामाङ काभ्रेपलाञ्चोक माझीफेदी–७ का स्थायी बासिन्दा हुन् ।

पक्राउ परेका उनीहरू र बरामद भएको सालकको खपटा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको पनि प्रहरीले जानकारी दिएको छ । सालकको खपटासहित पक्राउ परेका उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (२) अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । उक्त ऐनको अनुसूची १ अनुसार स्तनधारी संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रूपमा यसका अंगहरू खरिद बिक्री, ओसार पोसार, एवं तस्करी गर्नेलाई ४० हजारदेखि ७५ हजार रूपैयाँसम्म जरिवाना र १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनमा उल्लेख छ ।

प्रतिक्रिया