कहाँ हरायो नयाँ शक्ति

risab gautamआफैँले अघिल्लो दिन सहीछाप गरेर भोलि पल्टैबाट नयाँ संविधानको विरोधमा उत्रिएका पूर्व एमाओवादी नेता डा. बाबुरामले यसवीच मिडिया मार्फत अनेक वाणी बक्तव्य जारी गरेका छन । चल्तीको एक अखवारमा लेख लेख्दै उनले भनेका छन्– ‘मैले जीवनमा आफ्नो निम्ती सबथोक प्राप्त गरिसकेको छु ।

बाँकी जीवन समाज, देश र मानवजातिलाई सकेजति दिनका लागि काम गर्नेछु ।’ त्यसो भन्नु बाबुरामले माओवादी जनयुद्ध लडेकै आधारमा जीवनमा सबथोक पाएछन् । तर, जनताले चाहिँ के पाए ? जनताले न उनको जस्तो पद पाए, न उनको जस्तो भत्ता र राज्य सुविधा पाए ? आखिर के पाए त ? नयाँ नेपाल बनाउछौँ भन्दै युद्ध लड्ने, जनताका अनपढ छोराछोरीहरूको दिमागमा भ्रम छरेर आफ्नो स्वार्थ सिद्ध गर्न सिमित भएको देखियो, उनको जनयुद्ध । यसरी बाबुरामले हिजोको आन्दोलन आफनो जीवनमा पाउनकै लागि गरेका रहेछन् त्यसकारण नयाँ शक्तिबाट पनि उनले केही पाउनकै लागि अभ्यास गरिरहेका छन ।

हिजो अनपढ र अशिक्षित युवाहरूलाई बरालेका बाबुरामले आज अव्यवहारिक शिक्षा लिएर बेरोजगार बनेका युवाहरूलाई बराल्ने लगभग पक्का देखिन्छ । १४ हजार भन्दा बढी नेपाली युवायुवतीको प्राण हरण गर्ने जनयुद्धको नेत्रीत्व गरेका र सो युद्धको डिजाइनर समेत रहेका बाबुरामले के पाउनकै लागि सवथोक गरेका थिए ? प्रश्न उठिसकेको छ । उनी आफैँले लेखेको आर्टिकलबाट प्रष्ट भएको छ । जनयुद्धको अवधिमा हजारौं युवायुवतीले पढ्न लेख्न पाएनन् ।

कारण जनयुद्धका यिनै नायक प्रचण्ड–बाबुरामले बुर्जुवा शिक्षा लिएर केही हुने छैन भन्ने प्रचारवाजी गरेकाले हो । तर, बाबुरामलगायत नेताहरूले भने आफ्ना छोराछोरीलाई उत्कृष्ठ विश्वविधालयमा पढाएको कहीँ कतै छिपेको छैन । जनयुद्धकालमा बुर्जुवा शिक्षा भनेकै कारण आज सभामुख जस्तो पदमा कम्तिमा १२ पास गरेको मानिस बिराजमान छैन । त्यत्रो सभासद जस्तो गरिमामय पदमा रहेर पनि भोट हाल्न समेत नजानेर दर्जन बढी भोट रद्ध भएका उदाहरण छन् । प्रश्न उठ्छ भोट समेत सही रूपमा हाल्न नजान्नेले यो देश र जनताको नेतृत्व कसरी गर्न सक्छन् ?

वास्तवमा नेपालमा अझैँ पनि अथाह अशिक्षा र गरिवी छ । त्यही गरिवी र अशिक्षाको भुमरीमा जकडिएका नेपाली जनताको अज्ञानताको फाइदा उठाउन पढैयाहरू लागि परेका देखिन्छन । चाहे त्यो तराईमा चालु आन्दोलनकै सन्र्दभको कुरा गरौँ चाहे जनयुद्धकै कुरा गरौँ जनताको सिधासोझा छोराछोरीहरू जो स्वदेशमा रोजगारी र अवसर नपाए दुबइ, कतार वा मलेशिया लगायतका देशहरूमा गएर भएपनि आफ्नो सान्दार जीवन जिउन सक्थे । तिनैको ढाडमा टेकेर ठूला–ठूला पदमा पुग्ने काम पढैयाहरूले गरे ।

जनताको लागि केही गरेनन् । त्यसैको फलस्वरूप प्रधानमन्त्री र राष्ट्रपति गरेर एक दशकमै दर्जन बढी पुगिसक्न लाग्नु र निरिह जनतामा शुन्यता हात लाग्नु बडो बिडम्बनापूर्ण छ । शेरबहादुर, प्रचण्ड, झलनाथ, माधव, बाबुराम, शुशिल र केपि प्रधानमन्त्री भएका छन् । तर, जनताले के पाए ? आज जनताको घरमा राम्ररी चुल्लो बल्न सकेको छैन । बेरोजगारीले युवाहरू प्रताडित छन् । विदेशमा भौतारिएका छन् । मुलुकमा आधारभूत आवश्यकताका वस्तुहरू उपलब्ध छैनन । भूकम्पपीडितहरू पालमा ६ महिना देखि बसिरहेका छन् । गरिवहरूको छानो र नानाको ग्यारेन्टी छैन । रोगीहरू सडकमा माग्न लम्पसार देखिन्छन ।

सुदुर कर्णालीको जनताले चामलको भात खान पाएका छैनन । के अर्थ छ जनताको मन मुटुमा अलिकति पनि बास बस्न नसक्ने गरी प्रधानमन्त्री वा मन्त्री हुनु को ? बरु एउटा हलि किसानले माटोमा पसिना रोपेर धेरैको भोको पेट भरेको हुन्छ । त्यसको महानता ज्यादा छ जती सार्थकताहीन प्रधानमन्त्री हुनुको हुन्छ । बाबुरामले फेरी अव सार्थकताहीन बहस गराएर धेरै पढैया युवाहरूको मानसपटल डिस्टर्भ गर्ने भएका छन् ।

तर किन चाहियो यतिवेला नयाँ शक्ति ? के भएकै पार्टीहरूले आवश्यक विकास बहस चलाएर, नयाँ नीति कार्यक्रम समेत अघाडी ल्याएर, कार्यकर्ता परिचालन गरेर यो देश बनाउन सक्दैनन् ? कसैको रहर पुरा गर्न अवपनि सार्थकताहीन बहसमा अल्झिनु युवाहरूको लागि हीतकर छैन । बाबुरामका चाहना होलान् छुट्टै एउटा दर्शन निर्माण माक्स वा माओको जस्तो विचार वा शक्ति निर्माण गर्ने त्यो असम्भव छ । किन कि संसारमा आज जे जति विचार वा दर्शन छन् ति दर्शन अझै शताब्दीयौँ काम लाग्ने छन् ।

मानवजातीका लागि पर्याप्त छन् । त्यसकारण बाबुरामहरूले दुःख नगर्नु नै बेश हुन्छ । मिडियामा आफ्नो पहुँच र अदृश्य लगानीको आडमा पुरा देशलाई उनी आफू केन्द्रित गराउन चाहन्छन । त्यो कसले बुझेको छैन र ? प्रधानमन्त्री हुँदा नेपालमा बनेको सस्तो गाडी मुस्ताङ म्याक्स चढेर आर्दश छाँटेका उनले त्यसलाई किन निरन्तरता दिन सकेनन् ? फेरी प्रचण्डले नेपालमै एसेम्बल गरिने साइकल चढेर राष्ट्रबादको जगेर्ना गर्ने कुरा गर्दा विरोध गर्ने पनि उनै हुन् । उनी आफूलाई सर्बश्रेष्ठ वुद्धिमान ठान्छन् । तर सतहमा उनी भन्दा धेरै व्यवहारिक बुद्धिजीवीहरू पनि त छन् । जसले आफ्नो ठाँउबाट धेरै गरेका उदाहरणहरू छन् ।

बाबुरामले अहिले नयाँशक्ति निर्माण गर्ने भन्दै कयौं छलफल बहस चलाएका देखिन्छन । राजधानीमा गरिने उनको छलफलमा प्राय भुतपूर्व प्रशासक, आउटडेटेड नेता र अवसरबाट बञ्चित उनकै पार्टीका नेताकार्यकर्ता रहँदै आएका देखिन्छन् । उनका पक्षमा रहेका नेताकार्यकर्ताले त नयाँ शक्तिका लागि डटेरै लाग्लान् । तर आउडेटेट नेता र पूर्व प्रशासक जसले महिनामा एउटा आर्टिकल लेखेर मात्रै पनि योगदान पु¥याए भने त्यसलाई धन्य भन्नैपर्ला । फेरी नयाँशक्तिको बहसमा आफूलाई सेलिबे्रटी ठान्ने केही पत्रकार, केही बैंकर र केहीपूर्व कर्मचारी समेत अवसरकै खोजीमा लागेका हुन् ।

सर्वविदितै छ अवसरवादीहरूले राजनीति जस्तो सामाजिक कार्य गर्नै सक्दैनन । अवसरवादीहरूले पहिले आफ्नो लागि गर्छन । त्यसपछी आफन्तका लागि गर्छन । अझै त्यसपछी आसेपासेका लागि गर्छन । अनि कसरी आउँछ जनताको पालो ? त्यसकारण नेता भनेका ठिकै पढे पनि जनताको सेवा गर्ने हुनुपर्छ । भारतका गान्धि, दक्षिण अफ्रिकाका नेनशन मण्डेला, नेपालकै विपि, गणेशमान, कृष्णप्रसाद भट्टराईजस्ता जनताको लागि काम गर्ने नेता हुनुपर्छ । नेपालमा समाचार लेख्न, अन्तर्वाता लिन जान्ने पत्रकार नेता भए भने के होला ? अथावा बैंकमा आर्थिक कृयाकलाप हेर्न जान्ने, व्यवस्थापन गर्न जान्ने नेता भए के होला ? त्यसकारण नयाँ शक्ति होइन । जुन पार्टी आफूले उर्जा खर्चेर निर्माण गरेको हो ।

त्यही पार्टीमा बाबुराम फर्कनु राम्रो होला । बाबुरामले अव संविधानको कार्यान्वयन गराउन, मधेसमा जारी आन्दोलन समाधान गराउन र आफ्नो विकास सम्बन्धि महत्वपूर्ण शिक्षालाई उपयोग गर्न लाग्नुपर्छ । ६२ बर्षको उमेर सम्महोस् नगुमाइ काम गरेका बाबुरामले जीवनको उत्तराद्र्धमा होस् गुमाउनु अवश्य हुँदैन । किनकी राजनीति र जीन्दगी सधैं सफलताको सिँढी जस्तै उकालो मात्रै लाग्ने हुँदैन । उनी जुन पदमा पुगे सायद त्यो भन्दा गरिमामय सफलता अव छैन । उनको लागि सफलताको सिँढी उक्लन अब बाँकी नै छैन । बरु देश र जनताको लागि राम्रो काम गर्न बाँकी छ ।

जनताको लागि आफ्नो छवी र ज्ञानको उपयोग गर्ने बेला आएको छ । सधैं पद नै पद, सधंै सत्ता नै सत्ता भन्दा पनि उनी जस्ता बुढा पुराना नेताले पुरानै पार्टीमा साधारण सदस्य वा सल्लाकार रहेर देशको लागि केही गर्न सक्नुपर्छ । अनि पो बुद्धिमानी ठर्हछ । अन्त्यमा उनले नै केहीदिन अघि अल्फाविटा कम्पेक्समा आयोजना गरेको नागरिक भेलामा काङग्रेस नेता एवं वुद्धिविजी प्रदीप गिरी साथभन्दै थिए ‘बाबुराम त यो मुलुकको प्रम भए, म त राज्यमन्त्री पनि भइन’ । त्यसो भनिरहँदा विद्वान गिरी कत्तिपनि बेखुश थिएनन् । कारण उनलाई थाहा छ पदमा रहेर केही राम्रो गर्न नसक्नु भन्दा पदमै नपुग्नु बेस ।

प्रतिक्रिया