‘संकट समस्या होइन अवसर पनि हो’

काठमाडौं, १६ पुस । लामो समयदेखि समाजसेवामा सक्रिय काठमाडौं ताहाचल केशव तझ्याले मुलुकमा देखिएको संकट समस्या नभई यसलाई अवसरको रूपमा लिएर जनता र देशका लागि केही गर्न राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका छन् । तझ्याले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बिजुली र ग्यास नहुँदा पनि मौन बसेर धुँवा फुक्दै बसेको, मौन बसेर तेलको लागि लाइन बसेको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताएका छन् ।

उनले यस्तो अवस्थाबाट मुलुकलाई आत्मनिर्भरतर्फ लाने योजनासहित आगाडि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘यस्तो अवस्था देख्दा पनि नेताहरू किन लाज पचाएर बसेका छन् । देशको लागि केही गर्ने बेला हो यो । यो बेलामा केही नगरे मातृभूमिले नेताहरूलाई धिक्कार्छ ।’ तझ्याले मुलुकमा जताततै विकृति, विसंगति, बेथितिले मुलुक र जनता लामो समयदेखि प्रताडित भइरहेको तर्फ ध्यान दिन आग्रह गर्दै यो संकटको बेलामा सबैले आफ्नो वास्तविकता बुझिसकेकोले यसलाई अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

योभन्दा दर्दनाक अवस्था मुलुकले थेग्न नसक्ने भन्दै जनता आत्महत्या गर्ने स्थितिमा पुगिसकेको उनले बताए । उनले भने, ‘अहिले पनि नगरे कहिल्यै गर्न सकिँदैन । त्यसैले आज होइन अहिले गरौँ भन्ने मान्यताकासाथ उठ्न जरुरी छ ।’ उनले थपे तेस्रो पक्षीय विमाको नाममा राज्यले जनता मार्ने लाइसेन्स बाँडेको भन्दै यस्ता विकृतिजन्य नियम र व्यवस्था खारेज नगर्दासम्म मुलुक अगाडि बढ्न नसक्ने तर्क अगाडि सारेका छन् ।

अर्का वक्ता मणिराम शर्माले सुशासन, प्रशासन, शान्ति सुव्यवस्थासहित युवा लक्षित कार्यक्रममा राज्य उदासिन हुँदै आएकोले युवा बेरोजगार बढेको भन्दै तत्काल युवा लक्षित कार्यक्रम नल्याए ‘ब्रेन ड्रेन’ हुँदा मुलुक युवाविहीन बन्नेतर्फ सचेत गराए ।

प्रतिक्रिया