क्षतिग्रस्त पुरातात्विक क्षेत्रको निर्माणकार्य सुरु

mainकाठमाडौंं, १४ पुस । भूकम्पले क्षतिग्रस्त भएका पुरातात्विक सम्पदाको पुनर्निर्माणको जिम्मा पाएसँगै पुरातत्व विभागले केही पुरातात्विक सम्पदाको निर्माण तथा मर्मत कार्य समेत थालेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार विभागले यो वर्ष ८३ वटा स्थानको निर्माण कार्य अघि बढाउने जिम्मा पाएको छ । साथै यी निर्माण कार्य अघि बढाउनको लागि ७८ करोड रूपैयाँ नेपाल सरकारले प्रदान गर्ने उनले जानकारी दिएका छन् ।

यो निर्माण कार्य अघि बढाउनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगबाट विभागले रकम माग गरिसकेको छ । केही पुरातात्विक धरोहरको भने निर्माण कार्य सुरु भइसकेको दाहाल बताउँछन् । उनका अनुसार भक्तपुरको चाँगुनाराणको मन्दिर निर्माण कार्य सुरु भइसकेको छ। यसको जिम्मा भने एक आइएनजिओलाई लगाएको दाहालले बताए ।

त्यस्तै चीन सरकारले निर्माण गरिदिन लागेको हनुमानढोकाको नौतले दरबारको पनि काम अघि बढिसकेको छ । चिनियाँ टोलीले यसको अध्ययनको काम सकिसकेको छ । २०१६ को सुरुआतिदेखि नै यसको निर्माण कार्य अघि बढ्ने दाहालले जानकारी दिए ।

बसन्तपुरको नौ तले दरबार र नुवाकोटको सात तले दरबार निर्माणको जिम्मा चीनले लिएको छ । यसको निर्माणमा लाग्ने सम्पूर्ण खर्च चीनले बेहोर्ने भएको छ भने निर्माणको समयमा नियमन भने पुरातत्व विभागको रहनेछ ।

त्यस्तै ललितपुरको रातो मच्छिन्द्रनाथ र बुंङमतीको आनन्द कुटी बिहार भने श्रीलंका सरकारले बनाइदिने भएको छ । पुनर्निर्माण गर्दा विश्वसम्पदा सूचीमा परेकालाई प्राथमिकतामा राखेको दाहालले जानकारी दिए । विश्व सम्पदामा परेका र क्षति भएका धरोहरको निर्माण कार्य यसै वर्ष अघि बढाउने उनले बताए ।

विभागका अनुसार भूकम्पको कारण क्षतिग्रस्त भएका सम्पदामा स्वयम्भु, हनुमानढोका दरबार, पशुपतिनाथ मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ हुन् । यी सबैको डिजाइन तयार भइसकेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएका छन् ।

तर यी सम्पदाको निर्माण के कसरी गर्ने भन्ने बारेमा भने कार्यविधि अहिलेसम्म बनेको छैन । ‘अब भूकम्प आउँदा ती सम्पदा क्षतिग्रस्त नहुनेगरी कसरी निर्माण गर्ने भन्ने बिषयमा कार्यविधि तयार हुँदै छ’ कुँवरले भने । उनका अनुसार भूकम्पको समयमा क्षतिग्रस्त भएका धरोहर मध्ये ४० प्रतिशतको पुुरातत्व विभागले डिजाइन तयार गरिसकेको छ ।

विभागका अनुसार भूकम्पको कारण काठमाडौं उपत्यकामा सबैभन्दा बढी सम्पदाहरूको क्षति भएको छ । भूकम्पको कारण राजधानीका ४ सय ४४ सम्पदामा असर पुगेको छ । ८३ वटा जगैदेखि ढलेका छन् भने ३९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । हनुमानढोका दरबार क्षेत्रमा मात्रै ११ वटा सम्पदा ध्वस्त भएका छन् ।

हनुमानढोका दरबारमा रहेको काष्ठमण्डप पुरै ध्वस्त भएको छ । यो धरोहर १२औँ शताब्दीमा निर्माण गरिएको थियो । एकै रुखले बनेको सम्पदाको रूपमा यसलाई चिनिने गर्दथ्यो । त्यस्तै लिच्छविकालीन समयमा निर्माण भएको भक्तपुर दरबार स्क्वायर पनि क्षतिग्रस्त भएको छ । भक्तपुर दरबार स्क्वायरमा ५ वटा सम्पदा ध्वस्त भएका छन् भने १४ वटा आंशिक रूपमा क्षति भएका छन् ।

ललितपुरको पाटन दरबार स्क्वायर साताँै शताब्दीमा निर्माण भएको थियो । लिच्छविकालमा कला संस्कृतिको रूपमा विकास भएको यो दरबारको हातामा रहेका ६ वटा संरचना ध्वस्त भएका छन् भने २० वटामा आंशिक क्षति पुगेको छ ।

स्वयम्भू २ हजार वर्षअघि निर्माण भएको थियो । वैशाख १२ को भूकम्पको कारण ४ वटा संरचना पूर्णरूपमा ध्वस्त भएका छन् भने ९ वटा सम्पदामा आंशिक क्षति भएको छ । त्यस्तै हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहर पशुपतिनाथ किराँतहरूले राज्यसञ्चालन गर्ने क्रममा निर्माण भएको थियो । यसमा ६ वटा संरचना पूर्ण रूपमा ध्वस्त भएको र २१ वटामा आंशिक क्षति पुगेको पुरातत्व विभागले जनाएको छ ।

विश्व सम्पदा सूचीमा परेका स्वयम्भू, हनुमानढोका, पशुपति, पाटन दरबार, भक्तपुर दरबार चाँगुनारायण र बौद्धनाथको निर्माण तथा मर्मतको लागि डिजाइन तयार भइसकेको छ । साथै यी क्षेत्रलाई सबैभन्दा पहिले निर्माण गर्ने गरी प्राथमिकतामा राखेको प्रवक्ता कुँवर बताउँछन् ।

प्रतिक्रिया