जापान कोरिया सहमतिको स्वागत

सिंगापुर । दोस्रो विश्वयुद्धमा जापानी सेनाले दक्षिण कोरियाका महिलालाई यौनदासीका रूपमा शोषण गरेकोसम्बन्धी विवादको समाधानका लागि दक्षिण कोरिया र जापानले अघि सारेको प्रस्तावको सिंगापुरले स्वागत गरेको छ । दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदासी बनाई शोषण गरेको आरोप दक्षिण कोरियाले लगाउँदै आएको थियो ।

सो विषयलाई आपसमा समझदारीका आधारमा टुंग्याउने सहमति यी दुई देशले गरेका छन् । यस प्रस्तावको सिंगापुरले स्वागत गरेको समाचारमा उल्लेख छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले सो विषयमा दक्षिण कोरियासँग क्षमायचना गरेको जापानी विदेशमन्त्री फुमियो किसिदाले सोमबार जानकारी दिए ।

दक्षिण कोरियाको राजधानी सोलमा सोमबार जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीद्वारा गरिएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उक्त विवादलाई आपसी रूपमा समाधान गरिने जानकारी दिइएको थियो । यो विषय जापान र दक्षिण कोरियाबीचको विगत लामो समयदेखिको विवादास्पद विषयका रूपमा रहेको थियो र अब आपसी समझदारीका आधारमा सो विवाद टुंग्याइनेछ । सिंगापुरको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, यस विवादको समाधानले दुवै देशलाई आपसी विश्वासको निर्माणका साथै मेलमिलापका आधारमा अघि बढ्न सघाउने बताइएको छ ।

सो विवाद समाधान गरेपछि यसले आगामी दिनमा जापान र दक्षिण कोरियाका पक्षमा मात्र नभई एसियाली देशहरूका बीचमा नै असल सम्बन्धको विकास र क्षेत्रीय स्थिरतामा पनि सघाउ पु¥याउने कुरा सिंगापुरको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण कोरियाले जापानले गरेको यस गल्तीका लागि माफी माग्नुपर्ने माग विगतदेखि नै गर्दै आएको र सोही बमोजिम जापानी प्रधानमन्त्रीले पनि माफी मागेका हुन् । यस सहमति एवं सम्झौता बमोजिम जापानले दक्षिण कोरियाका ती पीडित महिला तथा परिवारका लागि एक अर्ब जापानी येन बराबरको क्षतिपूर्ति रकम उपलब्ध गराउनेछ । (एजेन्सी)

प्रतिक्रिया