दूई प्रहरी प्रमुखबीच भेट

2 policeकाठमाडौं, १४ पुस । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईबीच भेटवार्ता भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक पुगेर अर्यालले राईसँग भेट गरेका हुन् । मंगलबार दिउँसो अचानक नेपाल प्रहरीका महानिरीक्षक अर्याल हलचोक पुग्दा सशस्त्र प्रहरी उच्च अधिकारी चकित परेका थिए ।

दुई प्रहरी संगठनका प्रमुखले भेटघाटका अवसरमा जनपद प्रहरी र सशस्त्र प्रहरी बलको स्थापना कालदेखि नै आपसी सहयोग आदानप्रदान हुँदै आएको बताएका छन् । प्रमुखद्वयले दुई संगठनबीच आगामी दिनमा व्यावसायिक र भ्रातृत्वको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

प्रहरी महानिरीक्षक अर्यालले कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक राईलाई बधाईका साथै शुभकामनासमेत दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले संगठन फरक भए पनि लक्ष्य एउटै भएकोले साझा लक्ष्य प्राप्तीका लागि नेपाल प्रहरीको तर्फबाट सधै सहयोग र सहकार्य हुने कुरामा प्रतिवद्धता जनाएका छन् ।

विस ०४३ सालमा प्रहरी निरीक्षकबाट दुवै जना प्रहरी सेवामा आएका उनीहरू दुवै एउटै ब्याचका प्रहरी हुन् । पछिल्लो समय दुई संगठनका नेतृत्वबीच सम्बन्ध राम्रो नभइरहेको अवस्थामा यो भेटले महत्वपुर्ण अर्थ राख्ने प्रहरीवृत्तमा चर्चा चलेको थियो । पछिल्लो समयमा सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार दिएपछि दुई संगठनबीच सम्बन्ध बिग्रिएको थियो राई आएपछि दुवै संगठनको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षहरू लगायतका अधिकृतहरूको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त भ्रष्टाचारको मुद्दामा निलम्बित भएपछि राईले कायम मुकायमको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया